विशेष महाधिवेशनलाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका झन्डै चार दर्जन केन्द्रीय नेता सानेपा फर्किएर मेलमिलापको सन्देश दिएका छन् । देउवाको साथ छाड्दै ४५ भन्दा बढी नेता सानेपा बैठकमा सहभागी भएका हुन् ।
देउवाको विश्वासपात्रका रूपमा चिनिएका डिना उपाध्याय, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, मीन विश्वकर्मा, देवेन्द्र कँडेल, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, भीम पराजुलीलगायत नेता बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । विगतमा देउवा पक्षमा रहेका ४५ भन्दा बढी नेता बैठकमा सहभागी रहेको नेता विश्वकर्माले बताए । अधिवेशन सुरु हुँदासम्म देउवा पक्षका ९० प्रतिशत नेता–कार्यकर्ता संस्थापनतिर फर्किने दाबी उनको छ । ‘आजको बैठकमा ४५ जनाभन्दा बढी सहभागी हुनुभएको छ । कति नेता आउन सक्नुभएन । अधिवेशन सुरु हुँदासम्म ९० प्रतिशत कार्यकर्ता आउनुहुन्छ । हामी शेरबहादुर दाइ पनि ल्याउने प्रयासमा छौँ,’ उनले भने ।
बैठकमा सहभागी नभए पनि केही नेताले फोन गरेर आफूहरू संस्थापनतिरै भएको बताएको प्रवक्ता देवराज चालिसेले बताए । मीनेन्द्र रिजाल, जीवनबहादुर शाहीलगायत केही नेताले आफू जिल्लामा रहेको भन्दै संस्थापनतिरै रहेको खबर पठाएका थिए । १४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रिया सहभागी भइसकेको उनले दाबी गरे । ‘मीनेन्द्र रिजालले मोरङ र जीवनबहादुर शाहीले हुम्लाबाट फोन गर्नुभएको थियो । उहाँहरूले महाधिवेशनमा सहभागी हुन जिल्ला पुगिसकेको बताउनुभएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य आइसक्नुभएको छ । बाँकी नेताहरू अझै आउने क्रम जारी छ । महाधिवेशनसम्म सबै आउनुहुन्छ भन्ने विश्वास छ,’ चालिसेले भने ।
बैठकले सबैलाई स्वागत गरेको चालिसेले बताए । ‘कोही छुट्दैन, कसैको आवाज दबाइँदैन, केही अन्यथा हुँदैन । कांग्रेस सबैको साझा घर हो, साझा प्रयासले नै हामी उचाइमा पुग्न सक्छौँ भन्ने मान्यता बैठकले स्थापित गरेको छ । सबै साथीहरूलाई स्वागत गरेका छौँ,’ उनले भने ।
निवर्तमान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतलाई महाधिवेशनमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने निष्कर्ष कांग्रेसको छ । देउवा पक्ष छाडेर संस्थापनतिर लागेका केन्द्रीय सदस्यहरूसहित पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सबैलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताए । आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि आफू लचिलो बन्न तयार रहेको उनले बताए ।
१५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन अन्तिम समयसम्म प्रयास गर्ने पनि उनले बताए । ‘यसअघिका तिक्तता र मतभिन्नतालाई बिर्सौँ । अबको महाधिवेशनमा सबै साथीहरूलाई समेटेर अघि बढ्नुको विकल्प छैन । यसका लागि सबैले केही न केही लचकता अपनाउनै पर्छ,’ थापाले भने, ‘कांग्रेस सबैको साझा घर हो । यो पार्टीलाई बलियो र एकताबद्ध बनाउनु हाम्रो दायित्व हो । नेतृत्वले पनि सबै साथीहरूलाई समेट्ने गरी उचित व्यवस्थापन गर्नुपर्छ ।’
थापाले निवर्तमान सभापति देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर वडा उद्घाटन गर्न पनि आह्वान गरे । ‘अहिलेको समय आरोप–प्रत्यारोप गर्ने होइन, अब हामीले एकढिक्का भएर महाधिवेशनको तयारीमा जुट्नुपर्छ । कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस् । म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामीसँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने ।
डिनाले गरिन् गगनको प्रशंसा
देउवा समूह छाडेर बिहीबार सानेपा पुगेकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सभापति थापाको प्रशंसा गर्दै थापाकै नेतृत्वमा कांग्रेसले उचाइ लिने बताएकी छिन् । उनले विनासर्त आफूहरू एकता प्रक्रियामा सहभागी हुनुपर्छ भन्ने पक्षमा पहिलेदेखि नै रहेको र अन्य सबैलाई सहभागी गराउन निरन्तर पहल गरेको दाबी गरिन् । उनले पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले खेलेको भूमिका अत्यन्त सकारात्मक रहेको बताइन् ।
‘पार्टीलाई एकताबद्ध बनाउन सभापतिले खेल्नुभएको भूमिका अन्यन्त सकारात्मक छ । अधिकांश कार्यकर्ता फर्किएको अवस्थामा १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्दै छ । पूर्वसभापति देउवालाई पनि १५औँ महाधिवेशनमा उपस्थित हुने वातावरण बनाऔँ,’ उपाध्यायले भनेकी छिन् । एकताबद्ध भएरै देशको समस्या समाधान गर्न कांग्रेस लाग्नुपर्नेमा उनले जोड दिइन् ।
देउवा पक्ष समानान्तर महाधिवेशनको अडानमा
देउवा पक्ष भने कानुनी र राजनीतिक विषय थाती राखेर समस्याको समाधान नहुने भन्दै छुट्टै महाधिवेशन गर्ने अडानमा छ । व्यक्ति को कता गयो भन्नेभन्दा मुद्दा के हो भन्ने विषय मुख्य भएको देउवा पक्ष नेताहरू बताउँछन् । ‘अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेको र एक पक्षले महाधिवेशन अघि बढाएको अवस्थामा अर्को पक्ष चुप बस्ने कुरा आउँदैन । हामी १५औँ महाधिवेशन गर्दै छौँ,’ देउवा पक्षकाका नेता दीपक कुइँकेलल भने, ‘को कता गयोभन्दा पनि मूल मुद्दा के हो भन्ने कुरा हेर्नुपर्छ ।’
सानेपा–चुनदेवी मिलाउने प्रयासमा खड्का र कोइराला
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समय सारेर बृहत् एकताको पहल गर्न आग्रह गरेका हुन् । उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको पनि बताएका छन् । ‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस् । तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शीर्ष नेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता र संवाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ,’ खड्काले भनेका छन् ।
दुई महाधिवेशन भए पार्टी विभाजनमा जाने उनको चिन्ता छ । उनले अहिलेको निर्णय गत वैशाखमा गरेको भए सबैमा ठुलो उत्साह, हौसला र पार्टी निर्माणका लागि ठुलो ऊर्जा सिर्जना हुने दाबी पनि गरेका छन् । ‘तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ का हामीबिच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नुभएको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो, देशभरि मात्र होइन, संसारभरि रहनुभएका कांग्रेसका नेता, सदस्य, शुभचिन्तक सबैमा कति ठुलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठुलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?’ खड्काले भनेका छन्, ‘गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस् । समय बलवान् हुन्छ, पुनः कठोर संकल्प गर्नुस् ।’ उनले महाधिवेशन कार्यतालिका सार्न कानुन, अदालतको निर्णय र पार्टी विधानले कुनै समस्या नपार्ने पनि बताएका छन् ।
कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पार्ने भन्दै आसन्न दुवै महाधिवेशन रोकेर मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् । ‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ । मेरो प्रयत्न विगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ,’ उनले बिहीबार अपिल जारी गर्दै भनेका छन्, ‘हामी जो आफूलाई कांग्रेस भन्छौँ र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौँ किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह नहुनुपर्ने हो, जति आज छौँ । हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो । दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ । हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैँ भएका छौँ ।’
कोइरालाले पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ पार्टी एकता अभियानमा जुट्न अनुरोध गरेका छन् । ‘कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरक रूपमा बुझ्न सक्दिनँ । यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहनेछु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहनेछु,’ कोइरालाले भनेका छन्, ‘म कसैप्रति आरोप–प्रत्यारोप गर्न चाहन्नँ । हामी सफल हुन्छौँ भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो सम्भव छ । हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ । हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ । यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ ।’