संविधान संशोधनको नाममा पुनर्लेखन गरे मुलुक द्वन्द्वमा फस्छ : वर्षमान पुन

‘रास्वपाको नियत संविधानको फाउन्डेसनमै प्रहार गर्ने देखियो’

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

१२औँ संविधान दिवसका अवसरमा नेसनल लेजिस्लेटिभ एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेता पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता संविधानका आधारभूत पिलर कमजोर पार्ने गरी संशोधन गर्न खोजिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिएका हुन्।

पुनले संविधानप्रतिको प्रतिबद्धता स्पष्ट गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरे। आममानिसले रास्वपाबाट संविधानप्रतिको स्पष्ट प्रतिबद्धता खोजेको उनको भनाइ थियो। पुनले संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष भूमिका नखेलेका नयाँ राजनीतिक शक्तिहरू राज्य सञ्चालनको केन्द्रमा पुगेपछि उनीहरूको संविधानप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताए।

संशोधनको नाममा पुनर्लेखन गर्न खोजिएको शंका भएपछि संविधान संशोधन बहस कार्यदलमा रास्वपाबाहेक दल सहभागी नभएको नेता पुनले स्पष्ट पारे। उनले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार अशिम शाह नेतृत्वको कार्यदल रास्वपा एक्लैको भएको बताए। कार्यदलले संविधानका अधिकांश धारामा संशोधन गर्ने गरी प्रतिवेदन दिएको र त्यसो गरिए संशोधन नभई पुनर्लेखन हुने तर्क पुनको छ।

नेता पुनले संविधान लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको उल्लेख गर्दै त्यसको मूल संरचना नै अस्वीकार गर्ने प्रयासले अर्को द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए।

संविधानले विभिन्न शक्ति र संस्थाबिच कायम गरेको सन्तुलनलाई समयअनुसार परिमार्जन गर्दै लैजान भने सकिने पुनले स्पष्ट गरे। नयाँ शक्तिलाई पनि त्यही संरचनाभित्र समेट्दै शक्ति सन्तुलन कायम गर्नु संविधानलाई टिकाउ बनाउने बाटो भएको उनको भनाइ छ। संविधानको निर्माण र त्यसका लागि भएका संघर्ष तथा बलिदानको पृष्ठभूमि बुझेर र त्यसलाई स्वीकार गरेर अघि बढ्न उनले रास्वपालाई सचेत गराए।

सुझावित समाचार