नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीनवटा ट्यांकरबाट डिजेल निकालिएको घटनामा संलग्नमाथि कारबाही गरेको छ। निगमका अनुसार ट्यांकरमा जडान गरिएको यान्त्रिक सुरक्षा ताल्चा प्रणाली (मेकानिकल सेक्युरिटी लकिङ सिस्टम)लाई सवारी उठाउने ज्याक प्रयोग गरी लकिङ स्टिम बिगारेर डिजेल निकालिएको पाइएको हो।
निगमको लुम्बिनी प्रादेशिक कार्यालयका अनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट प्रत्येक ट्यांकरमा २० हजार लिटर डिजेल लिएर आएका लु.१ख ६५०४, लु.२ख १५४४ र लु.१ख ६६१९ नम्बरका ट्यांकरमाथि शंका लागेपछि जाँच गरिएको थियो। भदौ ३० गते सिद्धार्थनगरमा रहेको सराफ आयल स्टोर्सको परिसरमा अनलोडिङका लागि पुगेका ट्यांकरमध्ये दुईवटामा जडान गरिएको सुरक्षा लक प्रणालीलाई सवारी ज्याक प्रयोग गरी हटाएर म्यानहोल खोली डिजेल झिक्दै गरेको अवस्थामा भेटिएको निगमले जनाएको छ।
जाँचका क्रममा प्रत्येक ट्यांकरबाट निकालिएको करिब ३० लिटर डिजेल निलो ड्रममा राखिएको अवस्थामा फेला परेको थियो। लुम्बिनी प्रदेश प्रहरीको टोलीले दुई ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको थियो भने अर्को ट्यांकरलाई पनि आयल स्टोर्समा डिजेल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको निगमले जनाएको छ।
घटनापछि प्रहरी र निगमका कर्मचारीको संयुक्त रोहवरमा मुचुल्का तयार गरी सराफ आयल स्टोर्सलाई सिलबन्दी गरिएको थियो। थप अनुसन्धानका लागि तीनवटै ट्यांकरलाई जिल्ला प्रहरी कार्यालय, भैरहवा पठाइएको थियो । निगमले ट्यांकरका चालक, सहचालक तथा पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।
निगमले भदौ ३१ गते सराफ आयल स्टोर्सलाई नेपाल आयल निगम लिमिटेड बिक्रेता विनियमावली, २०७५ संशोधनसहितको विनियम २९ र ३३ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरेको छ। साथै, उक्त पम्पलाई ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने निर्णय गरिएको निगमको प्रेस विज्ञप्तिमा उल्लेख छ।त्यसैगरी, लु.२ख १५४४, लु.१ख ६५०४ र लु.१ख ६६१९ नम्बरका तीनवटै ट्यांकरलाई नेपाल आयल निगम ढुवानी विनियमावली, २०७३ संशोधनसहितको विनियम १७ र १७ घ बमोजिम तीन महिनाका लागि निलम्बन गरिएको छ।
निगमले घटनामा संलग्न ट्यांकरका चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गर्नुका साथै निगमसँगको करार सम्झौताअनुसार ती चालक तथा सहचालकबाट ट्यांकर सञ्चालन गर्न नपाउने गरी कारबाही गरेको जनाएको छ।