सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जलनीति तथा सुशासनविज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् (जियोलोजिस्ट) डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपत् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् ।
समितिले बाढीको उदगम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो ।
प्रवक्ता शाक्यका अनुसार रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘शंखलाबद्ध विपत्’का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णयमा पुगेको हो ।
यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपत् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन । त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव केन्द्रले दिएको थियो ।
अब समष्टिगत रूपमा भूगर्भ, तापक्रम र पानीको समग्र अध्ययन हुन लागेको हो । भोटेकोशीमा आएको बाढीले त्रिशूली करिडोर प्रभावित भएजस्तै यस्तो विपत् अरू नदी प्रणालीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अध्ययनका लागि मन्त्रालयले यो अग्रसरता लिएको प्रवक्ता शाक्यले बताए । उनका अनुसार रसुवा बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्वतयारी गर्ने, जलविद्युत् उत्थनशीलता (जलवायु परिवर्तन, बाढी, खडेरी वा अन्य प्राकृतिक प्रकोपहरूसँग जुध्न र संकटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत् क्षमता) कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ ।
मन्त्रालयका अनुसार तीन चरणमा अध्ययन हुनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी/ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाब र बाढीबिचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ ।
दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो तथा महत्त्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमहरूको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक रूपमा मूल्यांकन गरिनेछ ।
यसअघि सन् २०२४ सेप्टेम्बर २६–२८ मा नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’को अध्ययनले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्यांकन गरेको थियो । रसुवा–भोटेकोशीको घटना भने त्योभन्दा फरक प्रकृतिको हुन सक्ने भएकाले प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्षभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने निष्कर्षमा ऊर्जा मन्त्रालय पुगेको हो ।
प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिन, विपत् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन कारक विश्लेषणलगायतका विषयका विशेषज्ञहरूलाई सहभागी गराउने तयारी छ।
भोटेकोशी/ल्हेन्दे नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेट्ने र आवश्यक वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदान संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका अनुसार प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिले विपतकाे सम्भावित उदगमस्थलको स्थलगत भ्रमण गर्नेछ । स्थल निरीक्षणका क्रममा विस्तृत तस्बिर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन तथा सेटलाइट अवलोकनसमेत प्रयोग गरिनेछ ।
मन्त्रालयले विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिएको छ ।
समितिको अध्ययनपछि घटनाको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे स्पष्ट प्रमाणका आधारमा ऊर्जा मन्त्रालयले बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिने योजनासमेत गरेको छ ।
अध्ययन किन ?
रसुवा–भोटेकोशी घटनाको प्रकृति सामान्य अतिवृष्टि वा तापक्रमजन्य विपतभन्दा फरक हुन सक्ने भएकाले जलवायु, हिममण्डल, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबिचको अन्तरसम्बन्ध अध्ययन गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता शाक्यका अनुसार अध्ययनले विशेषगरी घटनाको मूल कारण के थियो, कुन–कुन प्राकृतिक प्रक्रिया क्रमशः सक्रिय भए, ती प्रक्रियामा जलवायु परिवर्तनको भूमिका कति थियो र गैरजलवायुगत कारणको योगदान कति थियो भन्ने प्रश्नको उत्तर खोज्नेछ ।
यसका लागि विगतमा सोही नदी प्रणाली तथा आसपासका हिमाली क्षेत्रमा भएका समान प्रकृतिका घटनाको अभिलेखसमेत अध्ययन गरिनेछ। नदीको जोखिम तथा संवेदनशीलता, नदीकिनारका बस्ती र पूर्वाधार, भौगोलिक बनावट तथा विगतका बाढी, पहिरो र हिमनदीसम्बन्धी घटनासँग तुलना गरिनेछ ।
अध्ययनमा के–के विषय समेटिने ?
प्रस्तावित अध्ययनमा मौसम तथा जलवायु तथ्यांक, जलप्रवाह तथा हाइड्रोलोजिकल तथ्यांक, हिमनदी तथा हिममण्डलसम्बन्धी तथ्यांक, भूगर्भीय तथा भूरूपात्मक सूचना, रिमोट सेन्सिङ तथा जिआइएस तथ्यांक प्रयोग गरिनेछ ।
त्यसैगरी घटनास्थलको स्थलगत अनुसन्धानमार्फत चट्टानको अवस्था, चिरा तथा कमजोर भूभाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति, उपलब्ध अवसाद तथा त्यसको बहाबमा भएको परिचालनलगायत विषयको अध्ययन गरिनेछ ।
विशेषगरी घटनाको स्रोत क्षेत्रमा रहेको चट्टानको आकार, क्षेत्रफल, सम्भावित आयतन तथा तौल, कति भाग खसेको थियो र चट्टान खस्नुको सम्भावित कारण के थियो भन्ने विषयमा विस्तृत अध्ययन आवश्यक हुनेछ ।
जलवायु परिवर्तनको भूमिका कसरी मूल्यांकन गरिने ?
अध्ययनमा घटनाअघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था तथा उच्च हिमाली क्षेत्रमा विद्यमान जलवायुगत अवस्थाको विश्लेषण गरिनेछ । साथै दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति, चरम वर्षाका घटना, नदीको बहाब र पुनरावृत्ति अवधिसमेत मूल्यांकन गरिनेछ ।
हिमनदीको आकार तथा परिवर्तन, हिमनदीको मास ब्यालेन्स, हिमताल तथा हिमनदीय जलविज्ञान, जम्ने–पग्लिने प्रक्रिया र स्थायी तुषारभूमिको अवस्था पनि अध्ययनको महत्त्वपूर्ण हिस्सा हुनेछ ।
यसबाट जलवायु परिवर्तनले घटनाका लागि आवश्यक पूर्व–अवस्था सिर्जना गरेको थियो कि थिएन, र यदि गरेको भए त्यसको योगदान कति थियो भन्ने वैज्ञानिक रूपमा परीक्षण गर्न सकिनेछ ।
बहुजोखिमको शृंखला पनि अध्ययन गरिने
रसुवा–भोटेकोशी घटना एउटै कारणबाट उत्पन्न भएको नभई हिममण्डलीय, भूगर्भीय, भूरूपात्मक तथा जलविज्ञानसम्बन्धी प्रक्रियाको क्रमिक अन्तरक्रियाबाट विकसित भएको हुन सक्ने भएकाले घटनाको सम्पूर्ण कार्य-कारण शृंखला अध्ययन गरिने प्रस्ताव छ ।
सम्भावित शृंखलामा उच्च हिमाली क्षेत्रमा भएको परिवर्तन, चट्टान वा हिम–चट्टानको अस्थिरता, मास मुभमेन्ट, नदीमा अवसादको प्रवेश तथा परिचालन, पानी र अवसादको मिश्रित बहाब र त्यसको अनुप्रवाह प्रसारणलगायतका प्रक्रियालाई एकीकृत रूपमा हेरिनेछ ।
अध्ययनबाट प्राप्त निष्कर्षले घटनाको वास्तविक प्रकृति र जलवायु परिवर्तनसँगको सम्बन्धबारे वैज्ञानिक आधार प्रदान गर्नुका साथै आगामी दिनमा हिमाली क्षेत्रमा उत्थानशील विकास, पूर्वाधार योजना र विपत् जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने मन्त्रालयको अपेक्षा छ ।