सल्यान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु ,चार घाइते

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

सल्यान त्रिवेणी गाउँपालिका ५ सिम्कमा भएको बोलेरो जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका ५ सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा न ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको उनको भनाइ छ । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका ५ सिम्कका २४ वर्षीय गाडी चालक भुपाल पुन, २९ वर्षीय पारस बोहरा, ४० वर्षीय डिल्ली बहादुर वली, ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन् ।  घाइते चार जनाको त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको  छ । गाडी अनियन्त्रित भई सडकबाट ९० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार