नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारणलाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका– २, श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारणलाइनको तार छुँदा गम्भीर घाइते भएकी आठ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारणलाइनको तारनजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी आठ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त विद्युत्को तार छुन पुगी सख्त घाइते भएकी थिइन् । दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचार गराउँदा तीन लाख ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो ।
प्राधिकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेस्की उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणको विनियमावलीअनुसार बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी दिने निर्णय सञ्चालक समितिले गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार यसअघि उपचारका लागि लिइएको तीन लाख पेस्की कट्टा गरी रश्मी जैसीलाई क्षतिपूर्ति र राहतबापत बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार बनेको समिति, इलाका प्रहरी कार्यालय बबियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस र प्राधिकरणको मेडिकल बोर्ड (०८३/०४/२१) को निर्णयअनुसार घाइतेको उपचार बिल, प्रेस्क्रिप्सन तथा पूर्ण अंगभंग भएको पुष्टि गर्दै उक्त क्षतिपूर्ति तथा राहत रकम सञ्चालक समितिले स्वीकृत गरेको हो ।
घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति
यसैगरी विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका– १०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारणलाइनको डिस्क पिन बदली गर्ने क्रममा ०८२ चैत ११ गते करेन्ट लागेर विद्युत् दुर्घटनामा परी घाइते भएका थिए । उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा नाै लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको नाै लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । मगरले १० लाख रुपैयाँ पेस्की लगिसकेका छन् । अब बाँकी नाै लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइतेलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय सञ्चालक समितिले गरेको सदस्य शाहीले बताए ।