राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई सामान्य प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले उक्त विपत्तिमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित भएको दाबी गरे। उनले विपत्तिमा परेकाहरूको उद्धार कार्य अझै जारी रहेको भन्दै सुखद समाचारको आशा आफूहरूले नमारिसकेको बताए।
‘भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौँ, मान्नु हुँदैन,’ लामिछानेले भने, ‘उनीहरू जलवायु अन्यायका पीडित हुन्।’
जलवायु परिवर्तनमा उनीहरूको कुनै योगदान नरहेको उल्लेख गर्दै लामिछानेले आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न उनीहरू बाध्य भएको बताए। ‘पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन,’ उनले भने।
जलवायु संकटको असमान भारका कारण स्थानीय नागरिकले ठूलो मूल्य चुकाउनुपरेको उनले बताए । ‘जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले, यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए,’ उनले भने।
लामिछानेले जलवायु संकटका कारण ज्यान गुमाएका र भविष्यमा पनि जोखिममा पर्न सक्ने मानिसको जीवनमाथि केवल शोक मनाएर पुग्ने अवस्था नरहेको बताए। हजारौँ मानिसको बलिदानलाई सामान्य श्रद्धाञ्जलीमा मात्र सीमित गर्न नहुने उनको भनाइ छ।
‘हामीले संकल्प गर्नैपर्छ—यो सहादतलाई न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढक्याउनेछौँ। त्यही नै वास्तविक श्रद्धाञ्जली हुनेछ,’ लामिछानेले भने।