‘आर्मी–प्रहरीले राहत लिएको छैन, वितरण नगरेको आरोप तथ्यहीन’

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

राहत सामग्री पीडितलाई वितरण नगरी आर्मी र प्रहरीले लिएको तथा सडीगली गएको भन्ने आरोपको नेपाल प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ। सुरक्षा निकायले राहत सामग्री वितरण नगरी आफैँले लिएको भन्ने आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो।

आफ्नो ज्यानको पर्वाह नगरी विपतमा परेका नागरिकको खोज, उद्धार, घाइतेको उपचार, शव व्यवस्थापन तथा राहत वितरणलगायतका मानवीय कार्यमा खटिएका सुरक्षा निकायबारेको अफवाहप्रति प्रहरीले दु:ख व्यक्त गरेको छ।

‘नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेकोसमेत जानकारी गराउँदै विपतको समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबलमा प्रतिकूल असर पर्ने, आमनागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने तथा विपत् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्यलाई समेत प्रभावित पार्ने गरी कपोलकल्पित आरोप तथा अफवाह प्रसार गर्नु अत्यन्त दुःखद र गैरजिम्मेवार विषय हो,’ विज्ञप्तिमा भनिएको छ।

संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल कमजोर पार्ने तथा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार