अलैँचीको उत्पादन ५० प्रतिशत बढ्ने आकलन

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण
अलैँचीको उत्पादन ५० प्रतिशत बढ्ने आकलन

इलामको सन्दकपुर गाउँपालिका– ३ को मन्जिल कृषि तथा पशुपालन फार्ममा उत्पादन गरेको अलैँची बिरुवा । तस्बिर : नयाँ पत्रिका ।

  • साउनमै साढे ६७ करोडको अलैँची निर्यात, एक महिनामा प्रतिमन १५ हजार रुपैयाँ मूल्य घट्यो

‘कालो सुन’को उपमा पाएको अलैँचीको उत्पादन यस वर्ष ५० प्रतिशत वृद्धि हुने आकलन गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईका अनुसार यस वर्ष करिब आठ हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने आकलन गरिएको छ । गत वर्ष पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन भएको थियो । ‘गत वर्षको भन्दा यो वर्ष अलैँचीका लागि अनुकूल मौसम भयो । समयमा पानी पर्यो,’ भट्टराईले भने, ‘केही वर्षयता अलैँचीको मूल्य राम्रो पाउन थालेपछि किसानले नयाँ बिरुवा लगाउन थाले । तसर्थ, अलैँचीको उत्पादन बढेको हो ।’ 

नेपालमा २० हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । देशभर ४३ जिल्लामा व्यावसायिक अलैँचीखेती हुन्छ भने ५३ जिल्लामा अलैँचीखेती विस्तार भइसकेको छ । ५३ जिल्लामा अलैँचीखेती भए पनि झापाको बिर्तामोडमा अलैँचीको करोबार हुने गरेको छ । अलैँची निर्यात पनि पूर्वी नाकाबाट हुँदै आएको उनले बताए । वीरगन्ज, नेपालगन्जलगायत नाकाबाट फाट्टफुट्ट निर्यात हुने उनको भनाइ छ । नेपालको भौगोलिक बनावटअनुसार ४५ हजार हेक्टरमा अलैँचीखेती गर्न सकिने भट्टराई बताउँछन् । अलैँचीको उत्पादन साउनदेखि कात्तिकसम्म हुने गरेको छ । तल्लो क्षेत्रको उत्पादन बजारमा आउन थालेको छ भने माथिल्लो क्षेत्रको अलैँची कात्तिकसम्ममा बजारमा आइपुग्छ । यसपटक साउनदेखि १७ भदौसम्म एक हजार मेट्रिकटन अलैँची बजारमा आइसकेको निवर्तमान अध्यक्ष भट्टराईले बताए ।

यसपटक उत्पादन मात्रै होइन, अलैँचीको निर्यातसमेत बढेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८२/८३ साउन महिनाको तुलनामा चालू आर्थिक साउन महिनामा अलैँचीको निर्यात ५२ दशमलव ३५ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार मूल्यबराबरको दुई लाख १६ हजार १५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्षको साउन महिनामा ६७ करोड ५२ लाख आठ हजार मूल्यबराबरको तीन लाख ८७ हजार ८५० केजी अलैँची भारततर्फ निर्यात भएको भन्सारको तथ्यांक छ । साउन महिनामा मूल्यवृद्धि भएका कारण अलैँची निर्यात गत वर्षको तुलनामा वृद्धि भएको महासंघका निवर्तमान अध्यक्ष भट्टराई बताउँछन् ।

यसपटक उत्पादन वृद्धि भए पनि मूल्य भने साउन पहिलो साताको तुलनामा अहिले करिब प्रतिमन करिब १५ हजार मूल्य घटेको छ । साउन पहिलो सातासम्म सबैभन्दा राम्रो गुणस्तर भएको अलैँचीको मूल्य प्रतिमन एक लाखसम्म रहेको निवर्तमान अध्यक्ष भट्टराई बताउँछन् । पछिल्लो समय क्रमशः घट्दै चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ८५ हजार, मध्यम गुणस्तर (एचडी)को अलैँचीको मूल्य प्रतिमन ८७ हजार र उच्च गुणस्तरीय (जेजे) अलैँचीको मूल्य ८९ हजार प्रतिमनसम्म कारोबार भइरहेको उनी बताउँछन् । यद्यपि, यो वर्ष अलैँचीको मूल्य प्रतिमन ८० हजारभन्दा नघट्ने अनुमान गरिएको उनले बताए । ‘अघिल्लो वर्ष मूल्य राम्रै भएका कारण बजारमा अलैँची सर्टेज थियो । नयाँ उत्पादन आइसकेको थिएन । तसर्थ, साउनमा मूल्य बढेको थियो,’ उनले भने, ‘गत वर्ष पनि सिजनको सुरुवातमा मूल्य अहिलेको जस्तै थियो । बिर्तामोडका गोदाम र भारतीय बजारमा पनि गत वर्षको स्टक नभएका कारण यसपटक प्रतिमन ८० हजारभन्दा मूल्य घट्दैन भन्ने अनुमान गरेका छौँ ।’

See More On

सुझावित समाचार