नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।
मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्न तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगको घोषणा गरेका हुन्।
लामिछानेले क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिने बताएका छन्। उनले विपतका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका वेला आफूहरू मैदानमा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन्।
उनले प्रतियोगितामा आफ्नो टोलीले मैदानमा सक्दो उत्कृष्ट प्रदर्शन गर्ने र त्यसले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्।
‘यस्तो कठिन परिस्थितिका बाबजुद पनि हामी चुनौतीका लागि तयार छौँ र मैदानमा आफ्नो सबै क्षमता लगाउनेछौँ। नतिजाभन्दा पनि हाम्रो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उनीहरूलाई उत्साहित हुने एउटा कारण दिन सकोस् भन्ने हाम्रो चाहना हो,’ लामिछानेले लेखेका छन्।
यसैगरी उनले एसिसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेटबापत एक हजार पाँच सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत पनि उनले समान एक हजार पाँच सय रुपैयाँ सहयोग गर्ने बताएका छन्।
उनका अनुसार उक्त रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। बालबालिकाको शिक्षा र भविष्यमा विपतकाे असर नपरोस् भन्ने उद्देश्यले यस्तो सहयोग गर्न लागेको उनले बताएका छन्। ‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।