संक्रमणको जोखिम बढेपछि रसुवा बाढीका २२९ अज्ञात शव चितवनको देवघाटमा व्यवस्थापन गरिने

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि चितवन जिल्लामा संकलन गरिएका पहिचान नभएका २२९ शवलाई डीएनए नमूना संकलन गरेर आजैदेखि देवघाटमा जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समिति चितवनले संक्रमण र महामारी फैलिन सक्ने जोखिम बढेपछि शव व्यवस्थापनसम्बन्धी यस्तो निर्णय गरेको हो ।  

जिल्ला प्रशासन कार्यालय चितवनले हालसम्म जिल्लाभरबाट संकलन गरिएका दुई सय ३३ शवमध्ये चारवटाको मात्रै पहिचान भएको जनाएको छ। बाँकी दुई सय २९ शव तथा शवका अवशेष होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी किनारबाट संकलन गरी राखिएको भए पनि अत्यधिक सडेगलेका कारण अब पहिचान गर्न कठिन अवस्थामा पुगेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार लामो समयदेखि अस्थायी रूपमा राखिएका शवबाट तीव्र दुर्गन्ध फैलिन थालेको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिम औँल्याएपछि शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गते बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।निर्णयअनुसार सबै शवको डीएनए नमूना संकलन गरिनेछ । प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत नम्बर प्रदान गरी त्यसको अभिलेख सुरक्षित राखिनेछ, ताकि भविष्यमा आफन्तले खोजी गर्दा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सकियोस्। त्यसपछि शवहरूलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

रसुवाबाट आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै बगेर आएका शवहरू चितवनका विभिन्न नदी तटबाट संकलन भइरहेका छन्। खोज तथा उद्धार अभियान जारी रहेसँगै शवको संख्या बढ्दै गएको छ। पहिचान भएका शव सम्बन्धित परिवारलाई जिम्मा लगाइँदै आएको छ भने पहिचान हुन नसकेका शव सुरक्षित रूपमा व्यवस्थापन गर्न प्रशासनलाई चुनौती थपिएको छ।

 

सुझावित समाचार