रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तीव्रता दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले ठुलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय विपत् घोषणा गरी पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित हुन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । यसैगरी, जलवायु परिवर्तनको बढ्दो जोखिमबिच विपत् पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्न पनि सुझाव दिएका छन् ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले यस विपत्को घडीमा सरकार सबै काम छाडेर युद्धस्तरमा उद्धार र राहतमा लाग्नुपर्ने बताए । उनले राहत र पुनर्स्थापनाको प्याकेज ल्याउन पनि माग गरे । रसुवाबाट निर्वाचित कांग्रेस सांसद मोहन आचार्यले सरकारलाई राष्ट्रिय विपत् घोषणा गरी उद्धार र राहतमा लाग्न माग गरे । उनले सडक सञ्जाल विच्छेद हुँदा हेलिकोप्टरबाहेक उद्धारको अन्य विकल्प नभएकाले उपलब्ध भएका हेलिकोप्टर तत्काल पठाउन माग गरे ।
एमाले प्रमुख सचेतक ऐन महरले बाढीपीडितका लागि सरकारसँग पाँचवटा माग गरे । नेकपाका प्रमुख सचेतक युवराज दुलालले शीघ्र उद्धार र खोजीका लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताए । उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ थियो । यो राष्ट्रिय विपत् भन्दै दुलालले उद्धारको पर्खाइमा रहेका नागरिकलाई खोजतलास गरेर सुरक्षित ठाउँमा ल्याउने, निःशुल्क उपचार गर्ने प्रबन्ध मिलाउनुपर्ने बताए ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवा बाढी प्रभावितको सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए । ‘सबै दल मिलेर विपत्मा परेकाहरूलाई राहत दिने, उद्धार गर्ने र पुनर्स्थापना गर्ने काम गर्नुपर्छ,’ उनले भने । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले नेपालका हिमाल उच्च जोखिममा रहेको भन्दै राहत र उद्धारको कुराले नपुग्ने बताइन् ।
रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले उद्धार र राहतमा जुट्न आह्वान गर्दै आवश्यक छ भने राष्ट्रिय विपत् घोषणा गरेर जानुपर्ने बताए । रास्वपाकी सहकोषाध्यक्ष एवं सांसद बसुमाया तामाङले सरकारले तत्काल चार कदम चाल्नुपर्ने बताइन् ।
प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएका थिए । तर, पछि संसद् सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । संसद् सचिवालयका अनुसार हालै आएको बाढी तथा पहिरोबाट उत्पन्न विपत्को परिस्थितिमा सरकारसँगै सभाका सदस्यहरू पनि राहत, उद्धार तथा व्यवस्थापनका कार्यमा संलग्न हुनुपर्ने भएकाले निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएको हो । यसैकारण प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।