भोटेकोशी बाढीले बन्द भए ४३१ मेगावाटका १२ विद्युत् आयोजना

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले  ४३१.१ मेगावाटका १२ परियोजना प्रभावित भएका छन् । हाल त्यस्ता आयोजनाबाट विद्युत् उत्पादन रोकिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणको तथ्यांकअनुसार सात परियोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । अर्थात्, ती परियोजनाहरू बाढीमै परेका छन्। 

१११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट प्रभावित भएका छन्। यसैगरी नुवाकोटस्थित प्राधिकरणको २५ मेगावाटको सोलार परियोजना पनि बाढीबाट प्रभावित भएको छ । यी आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। 

प्राधिकरणका अनुसार ७८ मेगावाटको  सालासुङ, १४.८ मेगावाटको अप्पर साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र  ५ मेगावाटको मैलुङ जलविद्युत् आयोजना पनि बाढीबाट अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । हाल ती परियोजना पनि प्राधिरकणको प्रसारण सिस्टमभन्दा बाहिर छन् । बाढीले त्रिशुली थ्री बी सबस्टेसन पनि क्षतिग्रस्त गराएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी नै छ ।

 

सुझावित समाचार