नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राज्यशक्तिको प्रयोगमार्फत जनतामा भय र असुरक्षाको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। शनिबार नगरकोटमा आयोजित एमालेको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले आफूलाई सरकार गठन भएकै दिन पक्राउ गरिएको प्रसंग उठाउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।
नयाँ सरकारको पहिलो प्राथमिकतामध्ये आफूलाई नियन्त्रणमा लिनु रहेको उनले दाबी गरे । आफूलाई पक्राउ गरेर सरकारले आम नागरिकमा समेत मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजेको बताए । ‘मलाई गिरफ्तार गरेर उनीहरूले अरूलाई पनि थर्कमान पार्न खोजेका हुन्,’ ओलीले भने।
उनले आफू विगतमा विभिन्न राजनीतिक दबाब र चुनौती सामना गर्दै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिबाट नडराउने बताए। सरकारलाई व्यंग्यात्मक रूपमा ‘बारुला’को संज्ञा दिँदै ओलीले आफूले यस्ता चुनौती धेरै पटक सामना गरिसकेको जिकिर गरे।
‘म यस्ता बारुलासँग डराउने मान्छे होइन,’ ओलीले भने, ‘कति अरिंगाल र कति बच्छ्यूँ खाइसकेको छु, त्यसको हिसाब छैन।’ ओलीको अभिव्यक्तिले सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचको राजनीतिक टकराव अझै चर्किन सक्ने संकेत गरेको छ। उनले सरकारको कदमलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै आफू र आफ्नो पार्टी त्यसबाट पछि नहट्ने सन्देशसमेत दिएका छन्।