तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या : हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या : हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त

बालिका बलात्कार घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै बुधबार जितपुरसिमरामा भएको प्रदर्शन ।

जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुईजना पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

प्रहरी र स्थानीय तीन दिनदेखि हराइरहेकी बालिकाको खोजीमा मंगलबार हिँडेका वेला अभियुक्त जीतपुर–सिमरा–२ का १६ वर्षीय किशोर पनि सँगै थिए । तर, तालिम प्राप्त कुकुरले ती किशोरतर्फ संकेत गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो । उनको प्रारम्भिक बयानका आधारमा प्रहरीले जितपुरसिमरा–१ का २४ वर्षीय प्रोगेस चौधरीलाई पनि पक्राउ गरेको छ । बालिका ३१ साउन बिहान करिब साढे ८ बजे घरबाट हराएकी थिइन् । बालिका जितपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा हालै प्ले ग्रुपमा भर्ना भएकी थिइन् ।

ती किशोरले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान घरमा लगेको खुलेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताए । जबर्जस्ती करणीपछि बालिका बेहोस भएको र त्यसपछि आफू घटनास्थलबाट भागेको बयान उनले दिएको प्रहरीले जनाएको छ ।

यो घटनामा चौधरीको भूमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार किशोर वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सहचालक हुन् । उक्त म्याजिकका चालक तथा धनी चौधरी हुन् ।

बालिकाको शव मंगलबार साँझ घरबाट करिब २०० मिटरको दूरीमा रहेको जितपुरसिमरा–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको खाली घरभित्र फेला परेको थियो । खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले शंका गरी घरभित्र खोजी गर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्नुका साथै तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त प्रमाण र अन्य प्राविधिक पक्षको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम र फरेन्सिक रिपोर्टको प्रतीक्षा
प्रहरीले बालिकाको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाएको छ । पोस्टमार्टम तथा फरेन्सिक परीक्षणको रिपोर्टपछि घटनाको प्रकृति र अन्य तथ्य थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।

एसपी कुँवरले अनुसन्धानमा कुनै पनि पक्षलाई नछाडिने र घटनामा संलग्न व्यक्तिको भूमिका प्रमाणका आधारमा स्थापित गरिने बताए । पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

दोषीमाथि कारबाही गर्न सांसदहरूको माग
बालिकाको बलात्कारपछि हत्या भएको विषयले बुधबार प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ । सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् । कांग्रेस सांसद डा. साहजान खातुनले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिकै कलंक भएको बताइन् । ‘हाम्रा छोरी कहाँ सुरक्षित छन्,’ भन्दै सरकारसँग उनले प्रश्न गरेकी छिन् । सांसद खातुनले बालिका तथा महिलामाथि हुने यौन हिंसाका घटनामा शून्य सहनशीलताको नीति लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै अपराधीलाई उमेर, लिंग वा शक्तिको आधारमा उम्कन दिन नहुने बताइन् ।

रास्वपा सांसद रहवर अन्सारीले भने तीन वर्षीया बालिकाको हत्या हुनुमा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाए । संवेदनशील घटनामा सुरक्षा निकाय पहिले नै चनाखो हुनुपर्ने र घटनाको समयमै जानकारी तथा अपडेट लिन सक्ने गरी प्रहरी संयन्त्र सक्रिय हुनुपर्ने बताए । सांसद अन्सारीले स्थानीयले शव फेला पारेपछि मात्रै प्रहरी तथा तालिम प्राप्त कुकुर घटनास्थलमा पुग्नुले प्रहरीको अनुसन्धान प्रणालीमाथि प्रश्न उठेको बताए । 

रास्वपा सांसद अरविन्द साहले बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे । 

सुझावित समाचार