साढे पाँच महिनापछि आज स्वदेश फर्किंदै देउवा

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण
  • स्वागतका लागि शशांकको नेतृत्वमा नेता तथा कार्यकर्ता विमानस्थल जाने, इतर पक्षको राष्ट्रिय भेलामा देउवा प्रमुख अतिथि

प्रमुख प्रतिपक्षी दल कांग्रेसमा किचलो उत्कर्षमा पुगेका वेला पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किंदै छन् । साढे पाँच महिनाअघि उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर उडेका देउवा एक्लै स्वदेश फर्किन लागेका हुन् । देउवा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

देउवाको स्वागतका लागि पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेता तथा कार्यकर्ता विमानस्थल जाने तयारी छ । नेता तथा कार्यकर्तालाई बिहान साढे ११ बजे विमानस्थलमा पुग्न भनिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि देउवाको स्वागतका लागि विमानस्थल पुग्ने भएका छन् ।

१४औँ महाधिवेशन पक्षधरको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । २९–३१ साउनमा भेला आयोजक समितिका संयोजक शशांक कोइरालाको सभापतित्वमा भेला हुँदै छ । भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाले गर्ने इतर पक्षका नेताहरूले बताएका छन् । भेलालाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइरालालगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

राष्ट्रिय भेला प्रचार समितिका प्रमुख मीन विश्वकर्माका अनुसार करिब पाँच हजारको आसपासमा भेलामा सहभागिता रहने अपेक्षा गरिएको छ । पहिलो दिन शुक्रबार उद्घाटन सत्र चल्नेछ । शनिबार र आइतबार बन्दसत्र चल्नेछ । मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती थपिएको भन्दै इतर पक्षले कांग्रेसभित्रको आन्तरिक विवादलाई मध्यनजर गर्दै सबल, सक्षम र सुदृढ कांग्रेसले मात्रै चुनौती सामना गर्न सक्ने दाबी गरेको छ । ‘पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्ने’ भन्दै भेलामा उपस्थित हुन पत्राचार गरिएको छ ।

आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टी निकायका नेतृत्व र यसअघि नेतृत्व गरेका सबैलाई सहभागी गराउन पत्रमार्फत आग्रह गरिएको छ । भेलामा क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर, नगर, गाउँपालिका सभापति उपस्थित हुने विश्वकर्माले जानकारी दिए ।

कांग्रेसको आधिकारितासम्बन्धी फैसलामा अदालतले निस्सा दिएपछि १४औँ महाधिवेशनकै कार्यसमितिले १५औँ महाधिवेशन गर्ने गरी सहमति हुनुपर्ने इतर पक्षको माग छ । नयाँ पार्टी गठनसम्मको गृहकार्य भए पनि अदालतले पुनरवलोकन निवेदनमा निस्सा दिएपछि ‘पर्ख र हेर’को रणनीतिमा इतर पक्ष रहेको छ ।

अदालतले आधिकारिक विवाद निरूपण नगरेसम्म दूरगामी असर पर्ने, नेतृत्व चयनका प्रक्रिया, महाधिवेशनका प्रक्रिया स्वतः रोकिनुपर्ने विषय राष्ट्रिय भेलाले उठाउने भएको छ । ‘१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको कार्यसमितिमा सबै छौँ । विशेष महाधिवेशनमा आधा मात्रै साथीहरू हुनुभयो । १४औँ महाधिवेशनले मात्रै सबैलाई समेट्न सक्छ । विशेष महाधिवेशनले सबैलाई समेट्न सक्दैन । उहाँहरू गम्भीर हुनुहुन्छ भने १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन गर्ने गरी सहमतिमा आउनुपर्छ,’ विश्वकर्माले भने ।

सर्वोच्चको निस्साप्रति संस्थापन असन्तुष्ट
कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारितासम्बन्धी फैसलामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ । गत आइतबारदेखि पार्टी कार्यालय सानेपामा जारी जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगले सुनुवाइको मौका नदिएको आधारमा सर्वोच्चले निस्सा दिनु तथ्यसँग मेल नखाने जिकिर गरे ।

आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेर विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिको विवरण अद्यावधिक गरेको र सोही आधारमा सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको उनको विश्लेषण छ । ‘स्नुवाइको मौका नपाएको आधारमा निस्सा दिनु तथ्यसँग मेल खाँदैन । निर्वाचन आयोगमा लगातार छलफल भएका प्रमाण सुरक्षित छन्,’ उनले भने, ‘विधि–विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको हो । तथ्य र प्रमाणसहित सर्वोच्चमा पुनः बहस गर्ने नै छौँ ।’

अन्य नेताहरूले पनि निस्साले भ्रम सिर्जना गरेको भन्दै त्यसलाई चिर्नुपर्नेमा जोड दिएको एक नेताले बताए । बुधबारको बैठकमा महामन्त्री घिमिरेसहित केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा. गोपाल दहित, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, सुशीला मिश्र भट्ट, धना खतिवडा, कृष्णबहादुर केसी, उज्ज्वलप्रसाद बराल, जनकराज गिरी, नगेन्द्र कुमाल, मधु शाही, सपना राजभण्डारी, नवोदिता चौधरी, प्रदीप शर्मा, राजेन्द्रगोपाल सिंह, भीम श्रीस, प्रमोदहरि गुरागाईं, विष्णुदेवी पाण्डे, रामानन्दप्रसाद यादव, रामपल्टन साह, विश्वनाथ रिजाल, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, डा. अमिता प्रधान, अञ्जु झा, सन्तोषी साउद ऐरी र केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आ–आफ्नो धारणा राखेका छन् ।

निजी क्षेत्रलाई निरुत्साहित नपार्न माग

कांग्रेस बैठकले निजी क्षेत्रलाई निरुत्साहित नपार्न सरकारसँग माग गरेको छ । निजी क्षेत्रलाई नियन्त्रण र शंकाको नजरले हेर्ने गलत दृष्टिकोण छाडी संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्नेमा कांग्रेसले जोड दिएको छ । ‘निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएर मुलुकको समृद्धि सम्भव छैन । त्यसैले वर्तमान सरकारले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको नजरले हेर्ने गलत दृष्टिकोण छाडी संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्छ । लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन, पुँजी पलायन रोक्न र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले अविलम्ब स्पष्ट राष्ट्रिय आर्थिक दृष्टिकोणसहितको दीर्घकालीन र स्थिर नीति निर्माण गरोस् भनी नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा छ ।

बैठकले रुग्ण बनेको निर्माण क्षेत्रलाई राहत दिन मूल्यवृद्धिको न्यायोचित समायोजन गर्न र नियतवश रद्द गरिएका पूर्वाधार ठेक्काहरूको पुनरवलोकन गरी निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्था र लघुवित्त क्षेत्रको खराब कर्जा नियन्त्रणका लागि ठोस आर्थिक कार्ययोजना ल्याउन र नीतिगत स्थिरताको ग्यारेन्टी गर्न पनि माग गरेको छ ।

कांग्रेस बैठक केही दिन लम्बिने भएको छ । इतर समूहले २९ देखि ३१ साउनसम्म आयोजना गरेको राष्ट्रिय भेलालाई मध्यनजर गरेर बैठक लम्बिने भएको हो । सो भेला नसकिँदासम्म सानेपाको बैठक जारी राख्ने संस्थापन पक्षको तयारी रहेको एक नेताले बताए ।

हाल जारी बैठकमा १५३ सदस्यीय केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्ये ६२ जनाले धारणा राखिसकेका छन् । अझै धारणा राख्ने केन्द्रीय सदस्यहरू ८० भन्दा बढी रहेकाले बैठक केही दिन लम्बिने प्रवक्ता देवराज चालिसेले बताए । अहिले बैठकमा प्रति सदस्य सात मिनेटको समय छुट्याइएको हुँदा बैठकलाई ३१ साउनसम्म लैजान संस्थापन पक्षलाई सहज देखिन्छ । इतर समूहले छुट्टै राष्ट्रिय भेला गरेर शक्ति प्रदर्शन गर्न खोजेपछि संस्थापनले केन्द्रीय समितिको समय लम्ब्याउन खोजेको हो ।
 

See More On

सुझावित समाचार