हसिनासँगको घनिष्टताले पूर्वराष्ट्रपतिपछि दबाबमा सेना प्रमुख

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण
  • पूर्वराष्ट्रपति मोहम्मद साहबुद्दिन चुप्पु निर्धारित समयभन्दा दुई वर्षअगाडि नै राजीनामा दिन बाध्य भएपछि सेना प्रमुखले पनि उस्तै नियति भोग्ने हुन् कि भन्ने शंका सुरु भएको छ

आज बंगलादेशमा पूर्वप्रधानमन्त्री सेख हसिनासँग नाम जोडिनु ठुलो कानुनी, राजनीतिक र सामाजिक जोखिम मानिन्छ । हसिनासँग कुनै खालको घनिष्ठताको हल्लाले मात्रै पनि तपाईंलाई राजनीतिक रूपमा अछुतो बनाउन सक्छ वा तपाईंलाई जेल पनि पुर्याउन सक्छ । यसैकारण, देशका राष्ट्रपति मोहम्मद साहबुद्दिन चुप्पुले खराब स्वास्थ्यको कारण देखाउँदै निर्धारित समयभन्दा दुई वर्ष अगाडि राजीनामा दिनुपरेको छ । हसिनाले बंगलादेश फर्कने सार्वजनिक रूपमा घोषणा गरेदेखि राजनीतिक दबाबका कारण राष्ट्रपति राजीनामा दिन बाध्य भएका थिए । राजीनामाअघि मे महिनामा उपचारका लागि लन्डनमा हुँदा साहबुद्दिनले हसिनासँग गोप्य फोन कुराकानी गरेको पनि आरोप लगाइएको थियो ।

साहबुद्दिनको बहिर्गमनसँगै अहिले ध्यान अर्का उच्च पदस्थ अधिकारी सेना प्रमुख जनरल वाकर–उज–जमानतर्फ केन्द्रित भएको छ । प्रश्न यो छ कि दुई वर्षपछि मिडियामा आएको सेख हसिनाको पहिलो पत्रकार सम्मेलनपछि प्रधानमन्त्री तारिक रहमानमाथि जनरल वाकरलाई हटाउन दबाब बढ्ला त ? वा के उनी यो कठिन समय पार गर्न सक्षम हुनेछन् ?

हसिनासँग टेलिफोन वार्ता
अगस्ट ५, २०२४ मा हसिना सरकार पतन भएपछि तत्कालीन राष्ट्रपतिका रूपमा साहबुद्दिन चुप्पुलाई हसिनासँगको विगतको निकटताले कठिनाइ थपिदियो । यद्यपि, उनी मोहम्मद युनुसको कार्यकालभरि पदमा रहे । तथापि, नयाँ सरकार गठन भएको करिब चार महिनापछि जुलाई २४ मा उनले पद त्याग्नुपर्यो । त्यो समय उनको कार्यकाल समाप्त हुन दुई वर्ष बाँकी नै थियो । अहिले नै आएर उनले पद त्याग्नुको कारण उनी र हसिनाबिच भएको भनिएको फोन कल थियो ।

लन्डन भ्रमणबाट फर्किएपछि बंगलादेशको सबैभन्दा धेरै पढिने अंग्रेजी अखबार ‘द डेली स्टार’का एक पत्रकारले उनलाई हसिनासँग फोनमा कुरा गरे–नगरेबारे प्रश्न गरेका थिए । ‘यो अत्यन्त लाजमर्दो प्रश्न हो । दिमाग खराब भएका व्यक्तिले मात्र यस्ता कथा बनाउँछन् । यो पूर्णतया निराधार कुरा हो । मैले जीवनभर इमानदारीपूर्वक काम गरेको छु । मलाई यस्ता बनिबनाउ झुटा समाचार मन पर्दैन,’ साहबुद्दिनले त्यतिवेला भनेका थिए । ‘साहबुद्दिन उत्कृष्ट राष्ट्रपति थिएनन् होला, तर उनले प्रतिकूल समयमा समेत युनुसको विरोध गर्ने साहस देखाए । उनले स्पष्ट रूपमा हसिनाले कहिल्यै राजीनामा नदिएकीले अझै कानुनी रूपमा प्रधानमन्त्री रहेको बताएका थिए । यही भनाइको सन्दर्भमा हसिनाको देशफिर्तीको चर्चाबिच तारिक रहमानले उनलाई पद त्याग्न बाध्य बताए,’ बंगलादेश मामिलाका जानकार तथा युएनआईका सम्पादक जयन्त राय चौधरीले भने । 

गत बुधबार दक्षिण एसिया विदेशी संवाददाता क्लबमा हसिनाको अडियो पत्रकार सम्मेलनमा उनले कुनै पनि मूल्यमा बंगलादेश फर्कने बताएकी थिइन् । 

विभाजित जनमत
सेख हसिनाका समर्थकको नजरमा बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमान सबैभन्दा ठुला विश्वासघाती हुन् । उनका आलोचक भने विगतमा वाकर हसिनाको धेरै नजिक रहेको आरोप लगाउँछन् । वाकर हसिनाका टाढाका नातेदारसमेत हुन् । त्यस्तै, सेना प्रमुख बन्नुअघि हसिनाको प्रधानमन्त्री कार्यालयको सशस्त्र बल डिभिजनमा प्रिन्सिपल स्टाफ अफिसर पनि थिए । हसिनाले नै उनलाई सेना प्रमुख नियुक्त गरेकी थिइन् । यद्यपि, सन् २०२४ को जुलाई विद्रोहको समयमा उनको भूमिकाबारे प्रश्न उठ्यो ।

हसिनाको सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान कमलले सन् २०२५ मा आएको मेरो पुस्तक ‘इन्साल्लाह बंगलादेश : द स्टोरी अफ एन अनफिनिस्ड रिभोलुसन’का लागि दिइएको अन्तर्वार्तामा सेना प्रमुख वाकरले हसिनासँग भिडलाई उनको सरकारी निवासमा पुग्न नदिने वाचा गरेका भए पनि पछि आफ्नो वाचाबाट पन्छिएका थिए । त्यही गल्तीका कारण हसिना भारत भाग्नुपरेको कमलले बताएका थिए । यसमा तत्कालीन गृहमन्त्रीको आरोप सत्य थियो कि थिएन फरक कुरा हो, तर हसिना सरकारको पतनपछि वाकर शंकाको घेरामा परे । जुलाईको विद्रोहपछि विद्यार्थी नेताद्वारा गठित ‘राष्ट्रिय नागरिक पार्टी (एनसिपी)’ वा जातीय नागरिक पार्टीले गत वर्ष मार्च २२ मा ढाका विश्वविद्यालयमा विरोध प्रदर्शन गरेको थियो । त्यतिवेला सो पार्टीले अबामी लिगलाई राजनीतिमा फिर्ता ल्याउन र हसिनाको पुनरागमन सुनिश्चित गर्न ‘सैन्य–समर्थित षड्यन्त्र’ भइरहेको आरोप लगाएको थियो । सेनाले यी आरोपलाई ‘हास्यास्पद र बचपना कथा’ भनेर खारेज गरेको थियो ।

वाकरले धार्मिक झुकाव देखाएर यी आरोपको प्रतिवाद गर्ने प्रयास गरिरहेको एकथरी विज्ञ बताउँछन् । वाकरको नेतृत्वमा बंगलादेश सेनाभित्र इस्लामी झुकाव बढ्दै गएको देखिन्छ । चाहे त्यो वाकरको विगतको सफाचट अनुहार त्यागेर इस्लामले राम्रो मान्ने दाह्री पाल्ने निर्णय होस्, वा इस्लामका पहिलो चार खलिफाहरूको नाममा चार नयाँ कम्पनी बटालियनको सिर्जना होस् या सेनाको युद्धघोषलाई ‘जय बंगला’बाट बदलेर ‘अल्लाहु अकबर’ गर्ने निर्णय नै किन नहोस्, सबले सेनाभित्र बढ्दो इस्लामिक रुझानलाई देखाउँछ ।

विश्लेषकहरू वाकरले हसिनालाई सत्ताबाट हटाउन शंकास्पद भूमिका खेलेको र विगतको हसिनासँगको घनिष्ठता छोपेर आफ्नो पद बचाउन इस्लामी शक्तिसँग घनिष्ठ सम्बन्ध विकास गर्न खोजेका छन् । पछिल्लो परिवर्तन मोहम्मद युनुससँगको सेना प्रमुखको मतभेद रहेका वेला र अहिले बिएनपी सरकारसँग त्यति सुमधुर सम्बन्ध नभएका वेला आएको छ । तर, के सेनाको धार्मिक रुझान मात्र उनको पद बचाउन पर्याप्त होला त ?

वरिष्ठ पत्रकार प्रतिमा रञ्जन बोस नयाँदिल्लीमा हसिनाको पत्रकार सम्मेलनपछि बंगलादेशको राजनीतिमा एक खालको तरंग आउने विश्वास गर्छिन् । ‘हसिनाले आफ्नो देशफिर्तीको घोषणा गरेकी छिन् । भारतले उनलाई पत्रकार सम्मेलन गर्न अनुमति पनि दिएको छ । यसले धेरै नयाँ सम्भावना खोलेको छ । 

अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त संकेतका आधारमा सेना प्रमुखले पनि आफ्नो भूमिका निभाउन सक्छन्,’ बोसले भनिन् । वाकरको आगामी भूमिकाले उनी बंगलादेशका पूर्वराष्ट्रपतिजस्तै आफ्नो पद गुमाउँछन् वा कायम राख्न सक्छन् भन्ने कुरा निर्धारण गर्नेछ । 

हल्दर भारतीय राजनीति, दक्षिण एसियाली गठजोड र सामाजिक अवस्थाबारे कलम चलाउँछन् । 
द प्रिन्टबाट

See More On

सुझावित समाचार