लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव बुधबार बिहान फेलापरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका– २, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब १:५० बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १० वर्षीय मोहम्मद रमतुल्लाह र सवनम खातुनको शव फेला परेको हो।
मंगलबार बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका– २, लक्ष्मीनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुर्सेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेको प्रहरीले जनाएको छ । डुबेर बेपत्ता भएकी रौशन खातुनकाे खाेजी कार्य जारी छ ।
मंगलबार रातिसम्म खोजी गर्दा पनि उनीहरू फेला परेका थिएनन्। बुधबार बिहान पुनः खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका– २, जिंगडवा क्षेत्रमा लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई बालबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी वसन्त गौतमले जानकारी दिए। फेला परेका दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएको छ।