स्पेनले कब्जा गरिरहेका कारण उपनिवेशकालीन अवशेषका रूपमा दुई अफ्रिकी भूमि युरोपेली संघ (इयू)को बाह्य सीमा बनेका छन्
छिमेकी मोरोक्कोबाट करिब ७२ हजार मानिस स्पेनिस ‘एन्क्लेभ’ सेउटामा पसेको दृश्यले केहीअघि विश्वको ध्यान तान्यो । तर, यस घटनाको कमै ख्याल गरिएको पाटो हो, सो सहर अफ्रिकामा पर्छ । उपनिवेशकालीन अवशेष मानिने सेउटा र अर्को बस्ती मेलिला वर्षौंदेखि मोरोक्को र स्पेनबिचको राजनीतिक विवादका कारण रहँदै आएका छन् । मोरोक्कोले यी सहरमाथि आफ्नो सार्वभौमिकता दाबी गर्छ, जबकि स्पेनले ती भूमि आफ्ना लागि म्याड्रिड (राजधानी) बराबर रहेको दाबी गर्दै आएको छ ।
शताब्दीयौँसम्म पश्चिमी मगरेब र अल–एन्डालस क्षेत्रमा शासन गर्ने मुस्लिम राजवंशले सेउटामा पनि शासन गर्थे । पछि सन् १४१५ मा पोर्चुगलका राजा जोन प्रथमले यस भेगलाई कब्जामा लिए । सन् १५८० पोर्चुगलको राजतन्त्र स्पेनिस ह्याब्सबर्ग वंशको छत्रछायामा आएपछि सेउटा पनि स्पेनिस शासनअन्तर्गत आयो । सन् १६४० मा पोर्चुगल त स्पेनिस शासनबाट स्वतन्त्र भयो, तर यी अफ्रिकी सहर भने स्पेनमै रहे ।
सेउटामाथिको आफ्नो सार्वभौमिकताको दाबीमाथि बल पुर्याउन मोरोक्कोले उपनिवेशकालअघिको इतिहास र पश्चिमी मगरेबमाथि मोरक्कन सुल्तानको अधिकारको निरन्तरतालाई जोड दिने गर्छ । मोरक्कन इतिहासकार, विशेषगरी अब्दुल्लाह लारोईले पनि समकालीन राष्ट्र–राज्यले दिने भौगोलिक तथा क्षेत्रीय वर्गीकरणलाई पूर्वऔपनिवेशिक समाजमा लागू गर्न नहुने बताउँछन् ।
सीमाको आधुनिक युरोपेली अवधारणाले ठोस सीमा भएको र कानुनी रूपमा मान्यता प्राप्त रेखालाई मात्र मान्यता दिन्छ । तथापि, औपनिवेशीकरणअघि मगरेबमा प्रचलित सार्वभौमिकता भने भिन्न थियो । त्यो समय सुल्तानप्रति सम्मान गर्ने, कर तिर्ने, एउटै धर्म मान्ने र राजनीतिक सम्बद्धताजस्ता फरक–फरक कुराले धेरै क्षेत्र सुल्तानको शासनमा पर्थे । अर्थात्, त्यो समय एउटै प्रशासनिक विस्तार नरहेको क्षेत्र पनि एउटै राज्यभित्र पर्न सक्थ्यो । यस सन्दर्भका आधारमा उत्तर अफ्रिकी तटमा रहेका सेउटा, मेलिलालगायत अन्य स्पेनी क्षेत्रमाथि मोरोक्कोको दाबीको जाँच गरिनुपर्छ ।
सन् १९५६ मा मोरोक्कोको स्वतन्त्रतापछि त्यहाँ औपनिवेशिक कालको सिमानासम्बन्धी प्रश्न राष्ट्रिय बहसको विषय बन्यो । मोरोक्कोका राष्ट्रवादीहरू, विशेषगरी सुल्तान मोहम्मद पाँचौँले औपनिवेशिक कालमा मोरोक्कोबाट अलग गरिएका क्षेत्र पुनः देशले प्राप्त गर्नुपर्ने वकालत गरे । व्यापक पहलको परिणामस्वरूप स्पेनले सन् १९५८ मा टार्फया र सन् १९६९ मा सिदी इफ्नी मोरोक्कोलाई फिर्ता गर्यो । तर, सेउटा र मेलिला भने अझै पनि स्पेनी नियन्त्रणमै छन् । स्पेनले कब्जा गरिरहेका कारण उपनिवेशकालीन अवशेषका रूपमा यी दुई अफ्रिकी भूमि अन्ततः युरोपेली संघ (इयू)को बाह्य सीमाको हिस्सा बने । हालैका वर्षमा इयूले आप्रवासन नियन्त्रण गर्ने प्रयासलाई तीव्रता दिएपछि यी सहरले विगतको ऐतिहासिक तथा सैन्य महत्वको तुलनामा रणनीतिक महत्व हासिल गरेका छन् । यस परिवर्तनले मोरोक्को–स्पेन सम्बन्धको विरोधाभाषी प्रकृतिलाई व्याख्या गर्न मद्दत गर्छ । स्पेन र मोरोक्कोबिच बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध भए पनि र सुरक्षा तथा आप्रवासनमा घनिष्ठ सहयोगका बाबजुद, यस सीमा विवाद समय–समयमा दुई देशबिचको द्वन्द्वको कारण बन्ने गरेको छ ।
अफ्रिकामा रहेका स्पेनी भूमिमाथि मोरोक्कोको दाबीसम्बन्धी अध्ययनमा क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यपक जेमी ट्रिनिडाडले ‘प्रत्येक क्षेत्रसम्बन्धी कानुनी तर्क फरक हुने’ भएकाले सेउटा, मेलिला, चाफरिनास टापु तथा पेरेजिल टापुलाई एउटै आँखाले हेर्न नहुने बताउँछन् । हालैको विवादको अर्थ समाधान सम्भव छैन भन्ने होइन । जिब्राल्टरलाई ख्याल गर्नुस् त, जसको चर्चा मोरक्कन राजनीतिक बहसमा भइरहन्छ । बेलायत इयूबाट बाहिरिएपछि स्पेनसँग जोडिएको तर बेलायती नियन्त्रणमा रहेको जिब्राल्टरको स्थिति निर्धारण गर्ने प्रक्रियामा स्पेन, बेलायत र युरोपेली संघबिच लामो छलफल भएको थियो । छलफलबाट तिनले यस क्षेत्रलाई लागू हुने संयुक्त संयन्त्र कायम गरेका छन्, भलै भूमिको सार्वभौमिकतामाथिको आधारभूत स्थिति भने फरक छ ।
जिब्राल्टरको स्थितिमाथिको लामो छलफलले मोरोक्को र स्पेनलाई पाठ प्रदान गर्छ, लामो समयदेखि चलिरहेको भौगोलिक विवाद पनि सहयोगमा रूपान्तरित हुन सक्छ । क्रमिक वार्ता, विश्वास निर्माण र अन्य संयन्त्र निर्माणमार्फत अस्थायी रूपमै सही, जटिल क्षेत्रका बासिन्दाको दैनिक जीवनको व्यावहारिक आवश्यकतालाई सार्वभौमिकताका प्रश्नबाट अलग गर्न सकिन्छ । सेउटा र मेलिलामा पनि यस्तो दृष्टिकोण अपनाउन पहिले त युरोपले सीमाको सैन्यीकरण मात्र आप्रवासीको बसाइँसराइको समाधान होइन भनेर स्वीकार गर्नुपर्छ ।
मोरोक्को र स्पेनबिचको बसाइँसराइसम्बन्धी विगतको सहयोगलाई आर्थिक विकास, कानुनी गतिशीलता, आपराधिक सञ्जालविरुद्धको लडाइँ र मौलिक अधिकारको संरक्षणमा केन्द्रित फराकिलो रणनीतिको हिस्सा बनाउनुपर्छ । सेउटा र मेलिलाको भविष्यलाई युरो–भूमध्यसागरीय सम्बन्धको दृष्टिकोणबाट हेर्नुपर्छ । अर्थात्, यसलाई अफ्रिका र युरोपबिच निरन्तर संवाद, लेनदेन र सहयोग क्षेत्रको रूपमा विस्तार गर्न सकिन्छ, केवल सुदृढ सिमानाका रूपमा मात्र होइन ।
मोरोक्को र स्पेन सहअस्तित्वमा रहन सक्छन् । तिनको भौगोलिक निकटता, आर्थिक र मानवीय सम्बन्ध तथा साझा सुरक्षा हितहरूलाई विश्वास र पारस्परिक सम्मानमा आधारित गर्नुपर्छ । दुवै देशको सेउटा र मेमिलामाथि लामो समयदेखि दाबी रहेकाले यो क्षेत्रीय विवाद समाधान गर्न सजिलो हुनेछैन । तर, टकराव नभई वार्तामा आधारित नयाँ बाटो खोज्ने समय आएको छ । यसले द्विपक्षीय सम्बन्धमा मात्र नभई व्यापक भूमध्यसागरीय क्षेत्रलाई पनि फाइदा पुर्याउँछ ।
(एन्नाजी मोरोक्कोको फेस विश्वविद्यालयका भाषा विज्ञान र लैंगिक अध्ययनका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट