- कांग्रेसको आन्तरिक विवादमा प्राविधिक रूपमा जुन पक्षले जिते पनि पराजय भने सबै लोकतन्त्रवादीको हुने निश्चित छ
महान् नीतिकार चाणक्यले एक सन्दर्भमा भनेका छन्– सँगै बसेर जसले छल गर्छ, त्योभन्दा ठुलो शत्रु अरू कोही हुन सक्दैन र मुखमै जसले कमजोरीबारे जानकारी गराइदिन्छ, त्योभन्दा ठुलो मित्र अरू कोही हुन सक्दैन ।
चाणक्यको भनाइले आमव्यक्तिको चरित्र र व्यवहारको विश्लेषण गर्ने प्रयत्न गरेको छ भन्दा गलत ठहर्दैन । यति मात्र होइन, वर्तमान सन्दर्भमा चाणक्यको यो भनाइ राजनीतिक दृष्टिकोणले पनि अत्यन्त सान्दर्भिक हुन पुगेको छ । यो अलग कुरा हो, व्यक्तिले यस भनाइलाई कसरी ग्रहण गर्छ । कुनै व्यक्ति वा संस्थाले साँच्चै आफैँमा सुधारको यत्न गर्ने हो भने यस भनाइलाई आत्मसात् गर्नैपर्छ । पछिल्लो सन्दर्भमा चाणक्यको यो भनाइ नेपालका सबैजसो राजनीतिक दलका हकमा समेत लागू हुन्छ, तर सबैभन्दा बढी नेपाली कांग्रेसका सन्दर्भमा दुरुस्त मिल्छ । कुनै द्विविधा छैन, यस भनाइलाई आत्मसात् गरी कांग्रेसले आफूभित्र सुधारको प्रारम्भ गर्नु आवश्यक छ ।
नेपाली कांग्रेस इतिहासको चौरस्तामा किंकर्तव्यविमूढ अवस्थामा उभिएको छ । स्थापनाकालपछि सम्भवतः यो पार्टी अहिले सर्वाधिक कठिन मोडमा पुगेको छ । हेर्नु छ, यसले यो मोड कसरी पार गर्छ ? मोड काटेर अगाडि बढ्न सक्छ कि कतै ठोक्किएर दुर्घटना पो हुन्छ । जानकारले दुर्घटनाको सम्भावनालाई अस्वीकार गरेका छैनन् ।
नेपालको राजनीतिमा नेपाली कांग्रेसको योगदान र उपस्थितिबारे धेरै चर्चा गरिरहनु आवश्यक छैन । जजसलाई नेपालको इतिहासबारे थोरै पनि जानकारी छ र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास राख्छन्, तिनले नेपाली कांग्रेसलाई चिन्छन् । अर्कातिर नेपालको इतिहास, भूगोल र समाजबारे जसले रुचि राख्दैनन् र यहाँको लोकतान्त्रिक आन्दोलनबारे जानकारी राख्दैनन् वा राख्न चाहँदैनन्, तिनले नेपाली कांग्रेसलाई चिन्दैनन् र चिन्न पनि खोज्दैनन् । अहिले नेपाली कांग्रेसलाई नचिन्ने जमातको आकार बढ्दो छ । प्रश्न उठ्छ, किन ? के कांग्रेस अप्रासंगिक हुन थालेको हो ? तर, एउटा कुरा सत्य हो, त्यो के भने नेपाली कांग्रेस लोकतन्त्रको ‘च्याम्पियन’ हो र यो पार्टी बलियो भएर रहुन्जेल नेपालमा लोकतन्त्रको दियो निभ्दैन । हो, सत्तामा रहँदा कांग्रेसबाट अनेक कमजोरी भएका छन्, त्यसलाई कसैले पनि ढाकछोप गर्नु जरुरी छैन, तर जेसुकै भए पनि कांग्रेसले लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल अवधारणाविरुद्ध कुनै सम्झौता गरेको छैन । हो, आफ्नो सिद्धान्तअनुसारका कार्यक्रम कति कार्यान्वयन गर्न सक्यो, त्यस सम्बन्धमा भने दिल खोलेरै बहस गर्न सकिन्छ ।
लोकतन्त्रप्रतिको निःसर्त त्याग र समर्पणकै कारण होला, इतिहासको प्रत्येक कालखण्डमा यो पार्टीमाथि घोषित–अघोषित आक्रमण हुँदै आएका छन् । त्यस्तो आक्रमण पार्टीभित्र र बाहिर दुवैतर्फबाट हुने गरेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । कांग्रेस सधैँ नै षड्यन्त्रको सिकार भइरह्यो । ध्येय एउटै हो– नेपाली कांग्रेसलाई कसैगरी कमजोर बनाउने । कांग्रेस कमजोर नहुन्जेल लोकतान्त्रिक आन्दोलन पनि कमजोर हुन सक्दैन, यो सत्य हो । इतिहास साक्षी छ, नेपालमा सधैँ नै सर्वसत्तावादी सत्ताका उपासक लोकतन्त्रका विरोधमा रहे र उनीहरू विभिन्न बहाना र नाममा लोकतन्त्रलाई कमजोर बनाई सर्वसत्तावादलाई मजबुत बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न तल्लीन रहँदै आए ।
मिहिन ढंगले अवस्था विश्लेषण गर्ने हो भने नेपाली कांग्रेसको अहिलेको अवस्था कुनै षड्यन्त्रबाट पो गुज्रिरहेको हो कि जस्तो देखिएको छ । अवस्था स्वाभाविक हो या कृत्रिम अथवा मौलिक हो वा प्रायोजित ? यसको निर्क्योलको जिम्मा त भविष्यमा कोरिने इतिहासमाथि नै छोड्नु युक्तिसंगत हुन्छ । कांग्रेस यतिखेर समस्याग्रस्त छ, यसमा दुईमत छैन, तर प्रश्न उठ्छ, किन ? यसका अनेक कारण हुन सक्छन् । एउटा आशंका के व्यक्त गर्न सकिन्छ भने कांग्रेसलाई कमजोर बनाउन नियोजित प्रयास त भइरहेको छैन ?
विशेषतः जेन–जी आन्दोलनपछि कांग्रेसमा एक किसिमको विग्रहको जस्तो अवस्था अनुभूत गरिँदै आएको छ । पार्टीको बहुमत महाधिवेशन प्रतिनिधिको मागका आधारमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्यो । अदालत र निर्वाचन आयोगसमेतले त्यही नेतृत्वलाई मान्यता प्रदान गर्यो तर असन्तुष्ट भनिएको समूहले आफूहरूलाई नै नेतृत्वका रूपमा प्रस्तुत गरिरह्यो/गरिरहेको छ । यद्यपि, सर्वोच्च अदालतले बिहीबार मात्र कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनको निस्सा दिएको छ । एउटा खास गुटका नाममा संस्थापनविरुद्ध क्रियाशील रहँदै आएकाहरूले पछिल्लो समयमा पार्टीका संस्थापक बिपी कोइरालाका कान्छा पुत्र शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाएका छन् । यो समितिले यसै महिनाको अन्त्यतिर भेलाको आयोजना गर्ने जनाइएको छ । अचम्म त के छ भने हिजोसम्म यो समूहको नेतृत्व गर्नेहरूले अबको नेतृत्व ‘कोइराला’को जिम्मा लगाएका छन् । यसले केही कुरातर्फ स्पष्ट संकेत गर्न खोजेको अर्थ्याउन सकिन्छ । पहिलो, एउटा खास नाममा सञ्चालित हुँदै आएको गुटको अन्त्य भएको छ । दोस्रो, विगतमा गुटको नेतृत्व गर्दै आएकाले औपचारिक रूपमा नेतृत्वको भारी बिसाउँदै अन्यत्र सारेका छन् । तेस्रो, विगतमा खास व्यक्ति र समूहका नाममा सञ्चालन हुँदै आएको गुटको नेतृत्वका लागि एकपटक पुनः ‘कोइराला’ कार्ड प्रयोग गर्न खोजिएको छ । । चौथो, पार्टीको विभाजनको सम्भावना बढेको छ । पाँचौँ, तर कोइरालालाई अगाडि बढाएर पार्टी विभाजनको सम्भावना न्यून गर्ने रणनीति पनि अपनाइएको हुन सक्छ । छैटौँ, कोइरालाको कब्जाबाट नेतृत्व खोसेको भन्नेहरूले विगतमा आफूहरूले गरेको कार्य सच्याउँदै पुनः कोइरालामा नै नेतृत्व सार्न खोजेको देखिएको छ । सातौँ, पार्टी विभाजनको अवस्थामा पार्टीका संस्थापक नेताहरूको पारिवारिक उत्तराधिकारीको आकर्षणको सम्भावित ‘जादु’का आधारमा कांग्रेसको विरासत प्राप्तिको प्रयास भएको छ । आठौँ, पार्टी विभाजन भइहालेछ भने त्यसको सम्पूर्ण अपजस कोइरालामाथि नै थोपर्ने र नवौँ, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि एकताका लागि नैतिक दबाब सिर्जना गर्न खोजिएको हुन सक्छ ।
माथिको विश्लेषणका आधारमा गर्न सकिने प्रश्न अर्को पनि छ– के पार्टी विभाजनको अवस्थामा त्यसको सम्पूर्ण अपजसको भारी बोक्न शशांक तयार भएका हुन् ? आफ्ना पिताले कांग्रेसको पर्याय बनाएको चारतारे झन्डा र रुख चुनाव चिह्नलाई तिलाञ्जलि दिन सहमति जनाएका हुन् ? वा पार्टीलाई विभाजनबाट जोगाउन राष्ट्रिय भेला आयोजनाको नेतृत्व स्विकारेका हुन् ? यी सबै प्रश्नको उत्तर त भविष्यको गर्भमै निहित छ । यो परिस्थितिमा ‘बल’ हालको संस्थापनको ‘कोर्ट’मा सरेको पनि मान्न सकिने अवस्थाको विकास भएको छ । विद्यमान सबै विवादको समाधान गरेर पार्टी एकताका सन्दर्भमा अर्थपूर्ण पहल गर्ने दायित्व संस्थापन पक्षको हो । संस्थापनइतर समूहबाट आह्वान गरिएको भेलाका सन्दर्भमा संस्थापनले स्पष्ट दृष्टिकोण तय गर्नु अपरिहार्य छ । कथंकदाचित् पार्टी विभाजन भइहालेछ भने संस्थान पक्षचाहिँ ओभानो भएर रहन सक्ने अवस्था छैन । अरूमाथि दोष पन्छाउँदैमा आफ्नो दोषबाट उन्मुक्ति पाउन सकिँदैन ।
यस परिस्थितिमा कसले जित्छ ? त्यो प्राविधिक विषय हो । स्विकार्नुपर्छ, पराजय भने सबै लोकतन्त्रवादीको हुनेछ । निश्चय पनि विवादको यो भुमरीले निर्मित संकटको प्रभावबाट कुनै पनि कांग्रेसी मुक्त रहन सक्नेछैनन् । कांग्रेस कमजोर हुन्छ र अन्ततः यसको प्रभाव लोकतन्त्रको भविष्यमाथि पर्छ । लोकतन्त्र कमजोर भई मुलुकमा एकपटक पुनः सर्वसत्तावाद हाबी हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
यस अवस्थामा समीक्षाको इमानदार प्रयत्न गर्ने हो भने माथि चाणक्यले भनेजस्तो मनोदशाको विकास गर्ने कि नगर्ने ? सोचनीय छ । कांग्रेस अहिले विभिन्न गुट–उपगुटमा विभक्त रहेका वेलामा सम्बन्धित नेताहरू आआफ्नो गुटको स्वार्थअनुकूल व्यवहार गरिरहेका छन् र आफ्नो पक्षको पृष्ठपोषणका आधारमा काम गरिरहेका छन्, यसमा विमति हुन सक्दैन । यस्तो हो भने यहाँनेर चाणक्यको भनाइले काम गर्न सक्दैन । होइन, साँच्चै कांग्रेस सुधारको नियत हो भने चाणक्यको यो नीतिको अनुसरण गर्नैपर्छ । नेतृत्वले चिन्न सक्नुपर्छ, चाणक्यले भनेजस्तै को शत्रु हो र को मित्र हो ? कसले नेतालाई मात्र खुसी पार्ने काम गरिरहेको छ र कसले सिंगो पार्टीको पक्षमा कुरा गरिरहेको छ ? के कांग्रेस साँच्चै नै षड्यन्त्रको सिकार त हुन गइरहेको छैन ? यी सबै प्रश्नबारे नेतृत्व गम्भीर हुनैपर्छ । कांग्रेस निश्चय पनि लोकतन्त्रको ‘च्याम्पियन’ हो । यसो हो भने लोकतन्त्रलाई सम्पूर्ण लोकतन्त्रमा परिवर्तन गर्ने अभियानको नेतृत्व कांग्रेसले नै लिनु अपरिहार्य छ । सम्भवतः कांग्रेस सुधारको सर्वाधिक उपयुक्त मार्ग पनि यही नै हो ।