भारत–जापान सम्बन्धमा मोदी–ताकाइची युगको सुरुवात

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण
  • मोदी–ताकाइची युगको सुरुवातसँगै भारत र जापान आर्थिक विकास, सुरक्षा हित र सांस्कृतिक सम्बन्धमा आधारित विश्वसनीय साझेदार बनेका छन्

यसै महिनाको सुरुमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भारतको पहिलो औपचारिक भ्रमण गरिन् । गत अक्टोबरमा पदभार सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण थियो । भ्रमणका नतिजालाई दुई मुख्य शब्दावलीमार्फत बुझ्न सकिन्छ : ‘रणनीतिक अभिसरण’ र ‘कान्छी बहिनी’ । दुवै प्रधानमन्त्रीले दुई राष्ट्रबिचको सम्बन्धलाई ‘विश्वासमा आधारित साझेदारी’का रूपमा परिभाषित गरेका छन् । ‘विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारी’अन्तर्गत दशकौँदेखि हासिल भएको प्रगतिको जगमा उभिएर दुवै पक्षले आआफ्नो रणनीतिक रूपमा अभिसरित साझेदारीलाई अघि बढाउन दुवै नेताले सहमति जनाए । रणनीतिक अभिसरणको अर्थ हो– दुई देशबिचको सम्बन्ध रणनीतिक स्वार्थको आदान–प्रदानभन्दा माथि उठेर विकसित भएको छ ।

अर्को मुख्य शब्द हो ‘कान्छी बहिनी’ । ताकाइचीको भ्रमणका क्रममा दुई नेताले एक–अर्कालाई ‘दाइ’ र ‘कान्छी बहिनी’ भनेर हार्दिकतापूवर्क सम्बोधन गरे । संयुक्त पत्रकार सम्मेलनको सुरुवातमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ताकाइचीलाई आत्मीयतासाथ ‘छोटी बहन’ (कान्छी बहिनी) भनी सम्बोधन गरे । यो एक अविस्मरणीय क्षण थियो, जसमा जापानी समकक्षीले पनि सोही प्रकारको आत्मीय प्रतिक्रिया जनाइन् । दुई नेताबिच यस्तो घनिष्ठ सम्बन्ध विकास हुनु यस भ्रमणको सबैभन्दा ठुलो उपलब्धिमध्ये एक हो ।

‘विकसित भारत’का लागि जापानको महत्व तीनवटा आधार स्तम्भमा टिकेको छ : आर्थिक विकासका लागि भरपर्दो साझेदार, सुरक्षा हितका लागि रणनीतिक साझेदार र सांस्कृतिक सम्बन्धमा आधारित विश्वसनीय साझेदार । ताकाइची–मोदी युगको सुरुवातसँगै म केही मुख्य क्षेत्रलाई प्राथमिकता दिन चाहन्छु । पहिलो, इन्डो–प्यासिफिक क्षेत्रमा नीतिगत समन्वय अघि बढाउने । मोदी र ताकाइचीले भारतको ‘महासागर’ पहल र जापानको अद्यावधिक ‘स्वतन्त्र तथा खुला इन्डो–प्यासिफिक’ अवधारणाबिचको तालमेललाई पुनः पुष्टि गरे । प्रधानमन्त्री ताकाइचीले प्रत्येक मुलुकसँग आफ्ना निर्णय आफैँ लिने स्वतन्त्रताका साथै अझ बलियो र समृद्ध बन्नका लागि आवश्यक लचिलोपन र क्षमता रहेको बताइन् । सबै तहमा दृष्टिकोण र बुझाइमा एकरूपता कायम गर्नु तथा तेस्रो मुलुकसँगको सहकार्यलाई अघि बढाउनु अत्यन्त महत्वपूर्ण छ । जापान र भारतले इन्डो–प्यासिफिक क्षेत्रका अन्य तेस्रो मुलुकसँग थप त्रिपक्षीय संवादको सम्भावना खोजी गर्न सक्छन् । दुवै नेताले ‘क्वाड’ सहकार्यको महत्वमा जोड दिए र आगामी क्वाड नेताहरूको शिखर सम्मेलन छिट्टै आयोजना गर्नका लागि सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरे ।

दोस्रो, सुरक्षा तथा रक्षा सहयोगलाई अझ सुदृढ बनाउने, विशेषगरी सामुद्रिक सुरक्षाको क्षेत्रमा । दुवै मुलुकले ‘मेक इन इन्डिया’ पहलअन्तर्गत रक्षा उपकरण तथा प्रविधिसम्बन्धी सहयोगलाई अघि बढाउने तथा नौसैनिक मर्मतसम्भार र पुनर्निर्माणलगायत क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘युनिफाइड कम्प्लेक्स रेडियो एन्टेना’सम्बन्धी प्राविधिक सहकार्यका विषयमा पनि सैद्धान्तिक सहमति जुटेको छ । जापान र भारतले यस वर्षको अन्त्यसम्ममा हुने ‘दुई +दुई’ (परराष्ट्र तथा रक्षामन्त्रीस्तरीय) बैठकका माध्यमबाट यी क्षेत्रमा सहयोगलाई निरन्तर अघि बढाउनेछन् ।

तेस्रो, आर्थिक सुरक्षासम्बन्धी व्यावहारिक सहयोगको विस्तार । दुवै नेताले आर्थिक सुरक्षा सहयोगसम्बन्धी संयुक्त घोषणापत्र जारी गरे । कुनै पनि मुलुकसँग भारतको यस्तो प्रकारको यो पहिलो घोषणापत्र भएकाले यसले हाम्रो गहिरो द्विपक्षीय सहकार्यलाई दर्साउँछ । निजी क्षेत्रको बलियो चासोका कारण सेमिकन्डक्टर, महत्वपूर्ण खनिज, सूचना तथा सञ्चार प्रविधि, स्वच्छ ऊर्जा र औषधिजन्य उत्पादन गरी पाँच प्रमुख क्षेत्रमा ठोस सहकार्य अघि बढिरहेको छ । हामी सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा ठोस परियोजनालाई निरन्तर अघि बढाउनेछौँ । सरकार–सरकार र व्यवसाय–व्यवसायबिच संवादका अतिरिक्त, ‘ट्र्याक १.५ संवाद’को सुरुवातले हाम्रो आर्थिक सुरक्षासम्बन्धी सहयोगलाई अझ संस्थागत गर्नेछ ।

चौथो, ठोस औद्योगिक तथा नवप्रवर्तनसम्बन्धी पहललाई प्रवर्द्धन गर्ने । भारतमा १० ट्रिलियन जापानी येन लगानी पुर्याउने लक्ष्यतर्फ हामी निरन्तर अघि बढिरहेका छौँ र सन् २०२५ यता मात्रै दुई ट्रिलियन येनको लगानी घोषणा भइसकेको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आयोजित ‘जापान–भारत संयुक्त आर्थिक मञ्च’मा जापानका करिब २०० र भारतका ८० कम्पनीका ७०० व्यावसायिक नेतृत्वकर्ताको सहभागिता रह्यो, जसले दुवै पक्षको बलियो व्यावसायिक चासोलाई उजागर गर्यो ।

पाँचौँ, सन् २०२७ मा जापान–भारत कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवको अवसरमा विश्वासमा आधारित साझेदारीलाई ठोस कार्यमा परिणत गर्ने । आगामी वर्षको यस महत्वपूर्ण वार्षिकोत्सवको उपलक्ष्यमा हामी अप्रिलको अन्त्यतिर आयोजना हुने ‘जापान–भारत सप्ताह’लगायत मुख्य पहल सुरु गर्नेछौँ । यी पाँच क्षेत्रमा केन्द्रित हुँदै हामी ‘ताकाइची–मोदी’ युगमा जापान र भारतबिचको रणनीतिक सहकार्यलाई अझ सुदृढ बनाउनेछौँ । आगामी वर्ष प्रधानमन्त्री मोदीको जापान भ्रमणलाई दृष्टिगत गर्दै हामी जापान–भारत साझेदारीलाई अझ गहिरो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छौँ ।

(केइची भारतका लागि जापानका राजदूत हुन्)
हिन्दुस्तान टाइम्सबाट

सुझावित समाचार