- सबैभन्दा ठुलो र पुरानो लोकतान्त्रिक दल कांग्रेसको नेतृत्वकर्ता बनेका गगनले यसअनुरूपको चरित्र र व्यवहार पनि प्रदर्शन गर्न सक्नुपर्छ
नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको करिब सात महिनापछि विशेष महाधिवेशनबाटै पार्टीको सभापतिमा निर्वाचित गगन थापाको सभापतित्वमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न भएको छ । यससँगै सभापति थापासामु चुनौतीको चाङ लागेको छ । यति मात्र होइन, समस्याको त्यही चाङभित्रबाट प्राप्त ‘काँडाको मुकुट’ पहिरिएका गगनका लागि आगामी यात्रा निश्चय पनि सहज छैन ।
गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको कांग्रेसले थापाकै नेतृत्वमा संसदीय निर्वाचनमा सहभागिता जनाएको थियो । त्यसपछि काठमाडौंमा आयोजित नियमित १५औँ महाधिवेशनले थापालाई नै पुनः सभापतिमा निर्वाचित गरेको छ । महाधिवेशन त सम्पन्न भयो, तर त्यसले एकताको स्वरूप भने ग्रहण गर्न सकेन । १४औँ महाधिवेशनबाट सभापति निर्वाचित शेरबहादुर देउवाको नेतृत्वको समूहले कांग्रेसको अर्को (१५औँ नै) महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी त्यसअनुसारका गतिविधि सञ्चालन गरिरहेको छ । लोकतन्त्रमा संगठित हुने र आफ्ना धारणा तथा विचार जनतासमक्ष प्रस्तुत गर्ने अधिकार जोकोहीलाई रहन्छ, तर कांग्रेसको अवस्थालाई त्यतिमा मात्र सीमित गर्न सकिँदैन ।
मिहिन ढंगले विश्लेषण गर्ने हो भने यो सन्दर्भ शक्ति हस्तान्तरण र पुस्तान्तरणसँग पनि सम्बन्धित रहेको मान्न सकिन्छ । गत भदौको जेन–जी आन्दोलनपछि देशमा विकसित राजनीतिक परिस्थितिको आलोकमा कांग्रेसका पुराना शक्तिले पुनर्विचार गर्नु भने आवश्यक छ । पछिल्लो अवस्थालाई विश्लेषण गर्ने हो भने कांग्रेसभित्र देखिएका दुई धारको औपचारिक परीक्षण (टेस्ट)को अवस्था पनि हो यो र शक्तिका लागि मोलमोलाइ (बार्गेनिङ) को अवस्था पनि हो । यसका साथै पार्टीको विचार र सिद्धान्तको परिमार्जन पनि प्रासंगिक हुन पुगेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।
विगतमा तात्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै सम्पन्न कांग्रेसको तेह्रौँ महाधिवेशनबाट पार्टीको सभापतिमा निर्वाचित शेरबहादुर देउवा त्यसपछिको १४औँ महाधिवेशनबाट पनि सभापति निर्वाचित भएका थिए । यसको अर्थ हो, देउवाले करिब एक दशकसम्म लगातार पार्टीको नेतृत्व गरे । पार्टीमा पुस्तान्तरणका पक्षधरको मतानुसार देउवा स्वाभाविक रूपमा पार्टी नेतृत्व हस्तान्तरणका पक्षमा थिएनन् । एउटा ‘गुट’ हाबी हुन सक्ने सम्भावनाका आधारमा नेतृत्व परिवर्तनका पक्षधरले एक प्रकारले ‘विद्रोह’को शैलीमा विशेष महाधिवेशन आयोजना गरे । १५औँ महाधिवेशन त्यही विद्रोहको निरन्तरता हो भनियो भने त्यो अनुचित हुनेछैन । यसै पृष्ठभूमिसँग जोडिएका छन्, गगन थापाका चुनौती ।
वैचारिक र सैद्धान्तिक आधारका लागि भन्दा पनि आक्रामक व्यक्तित्व, वाक् चातुर्य, सांगठनिक चुस्तता तथा कार्यकर्ता संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने गगन सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेस मात्र होइन, देशको समग्र राजनीतिले नयाँ धारमा प्रवेश गरेको विश्वास गर्न सकिन्छ । माथि उल्लेख गरिएजस्तै गगनको कार्यकाल बढी कष्टकर, जटिल र कठिन हुने कुरामा शंका छैन । तर, सुन्दर कमल हिलोमै फुल्छ । उनीसँग सुदूर भविष्यको इतिहासमा आफूलाई सम्झिन योग्य बनाउने सुन्दर अवसर उपलब्ध छ । उनले यस अवसरको उपयोग गर्न सक्छन् । यससँगै अर्को पक्ष विचारणीय छ– दुई चिरामा विभाजित भएजस्तो देखिएको कांग्रेसलाई पुनः एक ढिक्का कसरी बनाउने ?
त्यसो त राजनीतिमा केही पनि असम्भव हुँदैन र कुनै पनि कुरा निषेधित हुँदैन भनिन्छ, यो सत्य हो । तर, विगतका तिता उदाहरण बिर्सन सहज हुँदैन, यो पनि सत्य हो । राजनीतिक उचाइ प्राप्त गर्न निरन्तर प्रयत्नरत गगनले आगामी दिनमा पार्टी कसरी सञ्चालन गर्छन् र आफ्नो औचित्य प्रमाणित गर्छन्, हेर्न बाँकी छ । उनको भावी र्कायदिशाले नै ‘विद्रोह’को पनि औचित्य साबित गर्नेछ, तर यो सबैको मूल्यांकन गर्न केही समय भने प्रतीक्षा गर्नु आवश्यक छ । अहिलेको अवस्थामा स्वयं कांग्रेसकै राजनीतिक उचाइलाई कायम राख्नु गगनका लागि चुनौतीको विषय हुनेछ । गत फागुनको संसदीय निर्वाचनबाट करिब दुईतिहाइ आकार लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)जस्तो नयाँ शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको कांग्रेसका लागि आगामी यात्रा निश्चय पनि चुनौतीपूर्ण छ ।
गगन पार्टीका सभापति हुन् । यस अर्थमा उनी सबैभन्दा ठुलो लोकतान्त्रिक दलको नेतृत्वकर्ता बन्न पुगेका छन् । सम्पूर्ण लोकतन्त्रवादीका लागि भरोसाको केन्द्र बनेका छन् गगन । तर, उनले यसअनुरूपको चरित्र र व्यवहार प्रदर्शन गर्न सक्छन् कि सक्दैनन् ? हेर्न बाँकी छ । गगनमाथि पनि पार्टीमा गुट सञ्चालन गरेको आरोप लाग्ने गर्छ । आफ्ना पक्षधरलाई संरक्षण गर्ने गरेको आरोपबाट उनी पनि मुक्त छैनन् । अब पार्टीको सिंगो नेतृत्वमा आइसकेका गगनले आफूलाई यी आरोपबाट मुक्त बनाउन सक्लान् कि नसक्लान् ? त्यसको उत्तर निश्चय पनि भविष्यले दिनेछ । प्रतिस्पर्धाकालीन तुसको उचित व्यवस्थापनका माध्यमबाट सबैलाई समायोजन गरी जनतालाई सुशासनको समान सहभागिताको अनुभव गराउने दायित्व अब गगनको काँधमाथि छ । हिजोको दिनमा गगनले एक गुटको नेतृत्व गरेको आरोप लागेको हो । तर, अब सर्वोच्च नेतृत्व प्राप्तिपछि पनि स्वयं गगन र हिजोका दिनमा उनलाई सघाउनेबाट पुरानै मनोविज्ञान प्रदर्शित हुने हो भने सिंगो कांग्रेसको भविष्य संकटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
सांगठनिक चातुर्यका दृष्टिले गगनको छवि कांग्रेसभित्र चामत्कारिक नेताका रूपमा स्थापित छ । उनको यो छवि भोलिका दिनमा पार्टीभित्र, बाहिर र सम्भावित सरकारको नेतृत्वका सन्दर्भमा कसरी प्रयुक्त हुनेछ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको छ । पछिल्लो समयमा विपक्षीद्वारा कांग्रेसबारे विकसित दृष्टिकोणको उपस्थितिमा कांग्रेसको नयाँ दृष्टिकोणले निकै अर्थ राख्ने कुरालाई अस्वीकार गर्न मिल्दैन ।
सभापतिका रूपमा गगनसामु केही मुद्दा महत्वपूर्ण रूपमा उपस्थित छन् । वास्तवमा गगन कार्यकालका यी यस्ता चुनौती हुन्, जसको अवस्थितिले देशको सफलता र असफलता मापन गर्नेछ । आगामी स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेसको सम्मानजनक प्रदर्शनको चुनौती गगनसामु छ । यस्तै अर्को महत्वपूर्ण चुनौती संविधान कार्यान्वयनको हो । यस्तै, मधेश मुद्दाको सम्बोधन गगनका लागि अर्को चुनौतीको विषय बन्नेछ । सर्लाहीबाट चुनाव लडेर पराजित भएका गगनले मधेशलाई हेर्ने र मधेशले उनलाई हेर्ने दुवैथरी दृष्टिकोणबारे पनि स्पष्ट हुनु जरुरी छ । यस्तोमा सबैलाई स्वीकार्य हुने गरी समस्याको समाधान पहिल्याउनु र हिजोजस्तै मधेशमा कांग्रेसको संगठन विस्तार गर्ने विषय नेतृत्वका लागि कम चुनौतीपूर्ण हुनेछैन । यसैसँग जोडिएको छ, संविधान संशोधनको विषय । अहिलेको सरकारले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा संविधान संशोधनको विषयले राष्ट्रिय राजनीतिमा निकै महत्वपूर्ण तरंग ल्याएको छ । मधेशका जनताको अधिकारसँग जोडिएको संविधान संशोधनको विषय आगामी निर्वाचन र संविधान कार्यान्वयनसँग पनि सम्बद्ध छ भन्दा अतिशयोक्ति हुँदैन । यी विषयमा पनि गगनले नेतृत्वका हैसियतले कांग्रेसको दृष्टिकोण विकसित गर्नुपर्नेछ ।
कांग्रेसको नेतृत्वमा आएपछि संविधान संशोधनको अन्तर्वस्तु तय गर्नु र त्यसको कार्यान्वयनको जिम्मेवारी अब पार्टी सभापतिका दृष्टिले गगनको काँधमा थपिएको छ । हिजो पार्टी नेतृत्वको आलोचना मात्र गरे पनि सायद पुग्थ्यो, तर अब गगनले आलोचनाको सम्बोधन गर्नुपर्नेछ । संविधानप्रति मधेशलगायत विभिन्न पक्षका असन्तुष्टि छन् । संविधान सर्वस्वीकार्य हुन नसकेको आरोप छ । यस्तोमा संविधानलाई सबैको दृष्टिमा स्वीकारयोग्य बनाई कार्यान्वयनमा लैजानु निश्चय पनि सहज छैन, तर आँट गर्नु अपरिहार्य छ । आँट गरे नयाँ इतिहास रच्न सफल हुनेछन् गगन ।
गिरिजाप्रसाद कोइरालाले देशमा शान्ति स्थापनाका सन्दर्भमा इतिहास रचे । सुशील कोइरालाले संविधान निर्माण सम्भव बनाएर इतिहास रचे । शेरबहादुर देउवाले संविधान कार्यान्वयनको अवसर प्राप्त गरे । गगनले पार्टी र देशलाई नयाँ दिशा दिने अवसर प्राप्त गरेका छन् । उनी यस सन्दर्भमा इतिहास रच्न सक्छन्, तर यो कार्य उनी एक्लै र उनको हिजोको गुटबाट मात्र सम्भव हुनेछैन भन्ने जानकारी उनलाई हुनुपर्छ । यसका लागि उनले सबै कांग्रेसजनलाई विश्वासमा लिई वास्तविक अर्थमा पार्टीलाई एक ढिक्का बनाउन सक्नुपर्छ, अनि मात्र उनको नेतृत्व सफल हुने विश्वास गर्न सकिन्छ ।