प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ । जनताको विश्वास लगातार गुमाउँदै गएको सरकार राजनीतिक ‘स्टन्ट’ र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिए इतिहासले वर्तमान सरकारलाई ‘समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकार’का रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताले अब नारा र आश्वासन नभई नतिजा खोजिरहेको बताए । ‘जनताले नारा होइन, परिणाम खोजेका छन् । आश्वासन होइन, कार्यान्वयन खोजेका छन् । सरकारले राजनीतिक स्टन्टबाट आफ्नो बचाउ गर्ने होइन, पूर्ण पारदर्शिता र जवाफदेहिताबाट जनविश्वास पुनर्स्थापित गर्नुपर्छ । अन्यथा, इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा लेख्नेछ,’ चालिसेले भने ।
उनले जनताका समस्या बेवास्ता गर्ने, आन्दोलन चर्किएपछि हतारमा सम्झौता गर्ने तर त्यसको कार्यान्वयनमा उदासीन रहने सरकारको प्रवृत्ति लोकतान्त्रिक शासनका लागि गम्भीर चिन्ताको विषय भएको बताए । ‘पहिले जनताका समस्या बेवास्ता गर्ने, त्यसपछि आवाज दबाउन खोज्ने र आन्दोलन बढेपछि तत्कालका लागि सम्झौता गर्ने, तर कार्यान्वयनमा उदासीन रहने र जवाफदेही नहुने प्रवृत्ति देखिएको छ । यो खतरनाक र आपत्तिजनक छ,’ उनले भने ।
कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्ज घटनापछि उत्पन्न तनावलाई सरकारको असंयम, सुरक्षा संयन्त्रको कमजोरी र जवाफदेहिताको अभावको परिणाम भएको निष्कर्ष निकालेको छ । घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न उसले माग गरेको छ । सरकारी सुरक्षा प्रणालीको कमजोरी र सूचनाको अभावले नागरिकको सुरक्षा थप असुरक्षित बनेको कांग्रेसको आरोप छ ।
यसैबिच, पार्टीभित्र संस्थापन र इतर पक्षबिच दूरी बढिरहेका वेला ‘तेस्रो धार’ले कांग्रेसको एकताका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ । राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीलगायतको अगुवाइमा सुरु भएको अभियान टोल तहसम्म विस्तार गरिने जनाइएको छ ।
अभियानमा ३५ पूर्वकेन्द्रीय सदस्य सहभागी छन् । महरका अनुसार राष्ट्रिय भेलाको घोषणा भएपछि पार्टी विभाजनको जोखिम बढेको महसुस गर्दै दुवै पक्षसँग निरन्तर संवाद भइरहेको छ । ‘सबै पक्षले फुटेर होइन, मिलेर अघि बढ्नुपर्ने आवश्यकता महसुस गरिरहेका छन् । त्यसैले पार्टी एकताका पक्षमा दबाब सिर्जना गर्न टोल तहसम्म हस्ताक्षर अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘एकताको दबाब दिन टोल तहसम्म हस्ताक्षर गर्ने गरी अभियान सुरु भएको छ ।’