राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्तासमीकरणमा सहभागी नहुने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश सरकार गठनसम्बन्धी कुनै पनि निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको छ।
बैठकले पार्टीको निर्देशनविना सत्ताकेन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल तथा प्रदेश सभा सदस्यलाई निर्देशन दिएको छ। राप्रपाले प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाको सहकार्यमा निर्माण हुनुपर्ने धारणा पनि बैठकमार्फत दोहोर्याएको छ।
यसैबिच, आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ भने उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ।
त्यस्तै, महामन्त्री भुवन पाठकको नेतृत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको नेतृत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति गठन गरिएको छ।
बैठकले कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दीपक रन्जितको संयोजकत्वमा शान्तिसुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य इन्जिनियर सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति तथा केन्द्रीय सदस्य ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति पनि गठन गरेको छ। साथै, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बैठकका निर्णय सार्वजनिक गरिएको हो।