स्पेनी भूमिमा अवैध आप्रवासीको प्रवेशले तरंगित विश्व

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

माेरक्को र अफ्रिकामा रहेको सानो स्पेनी भूमि सेउटाको सीमा नियन्त्रणमा पछिल्ला केही दिन उथलपुथल आएको छ  । यसले गर्दा अनुमानित पचास हजारभन्दा बढी मानिस स्पेनी भूमि प्रवेश गरे । समुद्री भागबाट गरिएको यस खतरनाक प्रवेशका कारण दर्जनौँको डुबेर मुत्यु भयो । पछिल्लो केही दिनभित्र सेउटा प्रवेश गरेका आप्रवासीको संख्या त्यस भूमिको असी हजार जनसंख्याको करिब दुईतिहाइभन्दा बढी हो । पछिल्लो घटनाक्रमका कारण शुक्रबारदेखि त्यस भूमिमा मानवीय संकटको स्थिति बनेको छ । स्पेनिस सुरक्षाकर्मीले शुक्रबार साँझसम्म झन्डै ३७ हजार ५०० भन्दा बढी आप्रवासीलाई मोरक्कोतर्फ फर्काएको थियो ।

उत्तर अफ्रिकाको भूमध्यसागर तटमा अवस्थिति दुई स्पेनिस सहर सेउटा र मेलिला अफ्रिकी महादेशमा रहेका युरोपेली आयोगका भूमि हुन् । करिब २५० माइलको अन्तरमा रहेका यी दुई बस्ती र बाँकी अफ्रिका भूमिमा बाक्लो तारबारयुक्त सिमाना लगाइएको छ । सन् १५८० देखि स्पेनी कब्जामा रहेको सेउटामा क्रिस्चियन र मुस्लिमको मिश्रित जनसंख्या छ, जुन समुदायबिच सापेक्षिक सद्भाव देखिन्छ । मोरक्कोले भने हालसम्म आधिकारिक रूपमा सेउटा र मेलिलालाई स्पेनी भूमिको मान्यता दिँदैन । यिनलाई उसले प्रायः स्पेनिस नियन्त्रित भूमिको रूपमा उल्लेख गर्छ ।

सेउटा किन बन्यो आप्रवासनको केन्द्र ?
आफ्रिकाका धेरै देशबाट राम्रो आर्थिक अवसरको खोजीमा रहेका वा आफ्नो गृहदेशको हिंसाबाट उम्केकाहरूका लागि युरोप आगमनको मुख्य बिन्दु हो, स्पेन । तथापि, अफ्रिकी आप्रवासीको प्रवेश रोक्नका लागि सेउटा र मेलिलालाई बाँकी मोरक्को वा अफ्रिकाबाट छुट्याउन बलियोसँग तारबार गरिएको छ । त्यसबाहेक कसैगरी सेउटा वा मेलिला पुग्ने आप्रवासीलाई सुरक्षाबलले तुरुन्तै मोरक्को भूमितर्फ फिर्ता पठाउँछ । तथापि, ठुलो संख्यामा आप्रवासी भने स्पेनमा शरणका लागि योग्य भए–नभएको जाँच गर्न आप्रवासी आश्रयमा राखिन्छ । सेउटा प्रवेश गर्ने प्रयास गर्ने मानिस प्रायः नजिकैको मोरक्कन सहर फ्निडकबाट पौडी खेल्दै अघि बढ्छन्, जहाँबाट पाँच किलोमिटर लामो दूरी पार गरेर अफ्रिकी महादेशको युरोपेली सहरमा पुगिन्छ । अरू भने अलि नजिकैको बेल्युनेच सहरबाट पनि प्रवेश गर्ने प्रयास गर्छन् ।

सन् २०२२ भर मोरक्कोबाट मेलिलामा प्रवेश गर्ने प्रयास गर्नेमध्ये झन्डै दुई हजारको मृत्यु भएको थियो । मर्नेमध्ये धेरै प्रायः सहारा मरुभूमिभन्दा तल रहेको अफ्रिकी देश (सबसहारा अफ्रिका)का नागरिक धेरै थिए । सन् २०१४ मा २०० जनाले सिमानाका रूपमा लगाइएको बार चढेर वा सहरलाई मोरक्को क्षेत्रबाट अलग गर्ने ब्रेकवाटरलाई पौडी खेलेर घुमेर पनि त्यहाँ प्रवेश गर्ने प्रयास गरेका थिए । त्यस वेला कम्तीमा १४ जनाको मृत्यु भएको थियो । तथापि, स्थल रूपमा जोडिएका सेउटा र मेलिलामा आप्रवासी आगमन सामान्यतया ‘क्यानरी’ र ‘बेलेरिक’ समुद्री टापु प्रवेश गरेर स्पेन पुग्नेको तुलनामा धेरै कम छ ।

स्पेनमा पछिल्लो दशक आप्रवासी जनसंख्या उल्लेखनीय रूपमा बढेको छ । पाँच करोड जनसंख्या भएको यस देशमा लगभग एक करोड मानिस देशबाहिर जन्मिएको तथ्यांकले देखाउँछ । स्पेनका प्रमुख आप्रवासीमा कोलम्बिया, भेनेजुएला र मोरक्कोमा जन्मिएका मानिसको उल्लेख्य संख्या रहने गरेको छ । आप्रवासीहरू कृषि, पर्यटन र सेवा क्षेत्रसहित स्पेनी अर्थतन्त्रका प्रमुख क्षेत्रमा काम गर्छन् । 

सन् १९९० को दशकको मध्यदेखि उत्तर अफ्रिकी देश र टर्कीबाट प्रत्येक वर्ष हजारौँ मानिस शरणको खोजीमा भूमध्यसागर पार गर्छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको तथ्यांकअनुसार सन् २०१४ देखि असुरक्षित रूपमा भूमध्यसागर पार गर्ने प्रयास गर्दा ३५ हजार १५३ आप्रवासीको मृत्यु र बेपत्ता भएका तथ्यांक उल्लेख छ । यही वर्ष सन् २०२६ को पहिलो सात महिनामा मात्र एक हजार ४९३ जनाको मृत्यु वा बेपत्ता भएको तथ्यांक छ ।
हजारौँ मानिसले कसरी सीमा पार गरे ?

यति ठुलो संख्यामा आप्रवासीले कसरी सीमाक्षेत्र प्रवेश गर्न सके अझै स्पष्ट भइसकेको छैन । मोरक्कोका अधिकारीले अहिलेसम्म कुनै विज्ञप्ति जारी गरेका छैनन् । उनीहरूले सीमा पार गर्नबाट रोक्न कुनै प्रयास गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन । तथापि, यो घटनालाई केहीले मोरक्को र अल्जेरियाबिचको प्रतिद्वन्द्विताको परिणामका रूपमा पनि हेरेका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हालै मोरक्कोले प्रतिद्वन्द्वीका रूपमा हेर्ने अल्जियर्सको यात्रा गरेका थिए । त्यसबाट रुष्ट भएर मोरक्कोले सीमा खुकुलो बनाएको हुन सक्ने केहीले औँल्याएका छन् । 

यसअघि मोरक्कोतर्फबाट स्पेनिस भूभागमा यति ठुलो संख्यामा सीमा पार मे २०२१ मा भएको थियो । त्यति वेला मोरक्कोको कब्जामा रहेको वेस्टर्न सहारा क्षेत्रमा अलग राष्ट्रका लाडिरहेको पोलिसारियो फ्रन्टका नेतालाई स्पेनमा कोभिड–१९ को उपचार गर्न अनुमति दिने स्पेनले निर्णय लिएको थियो । लगत्तै स्पेनसँगको कूटनीतिक विवादका क्रममा मोरक्कोले सीमा नियन्त्रण खुकुलो पारिदियो । सन् १९७५ सम्म स्पेनको शासन रहेको वेस्टर्न सहारामाथि मोरक्को र पोलिसारियो फ्रन्ट दुवैले दाबी गर्दै आएका छन् । 

त्यति वेलाको कूटनीतिक संकट सन् २०२२ मा गएर बल्ल अन्त्य भएको थियो, जब म्याड्रिडले आफ्नो लामो समयदेखिको तटस्थताको नीतिलाई उल्ट्याउँदै वेस्टर्न सहारामाथि मोरक्कोको दाबीलाई समर्थन गर्यो । तथापि, स्पेनको यस कदमले अर्को कूटनीतिक कठिनाइ निम्त्यायो । लगत्तै म्याड्रिड र पोलिसारियो समूहलाई समर्थन गर्ने छिमेकी अल्जिरियाबिच कूटनीतिक दरार निम्तियो । त्यही चिसिएको सम्बन्ध सुधार गर्ने हिसाबले सान्चेजले जुलाई २० मा अल्जेरियाको भ्रमण गरेका थिए । यो कुनै स्पेनिस सरकार प्रमुखको चार वर्षपछिको पहिलो भ्रमण थियो । भ्रमणपछि स्पेन र अल्जेरियाबिचको सम्बन्ध केही सुधार हुने संकेत देखिएको छ ।

तथापि, घटनापछि सेउटा पुगेका प्रधानमन्त्री सान्चेजले भने यस घटनाका लागि गलत सूचना पनि जिम्मेवार भएको बताए । समुद्री बाटोबाट आउने आप्रवासीलाई तुरुन्तै फिर्ता गर्न नसकिने स्पेनी सर्वोच्च अदालतको हालैको फैसलाबारे अफवाह फैलाउने मानव तस्करका कारण संकट आएको उनले बताए ।

‘इटालीयन इन्स्टिच्युट फर इन्टरनेसनल पोलिटिकल स्टडिज’का आप्रवासन अनुसन्धानकर्ता माटेओ भिल्लाले यस घटनामा अन्तर्राष्ट्रिय राजनीति जोडिएको बताए । ‘गत साताको घटना सन् २०२१ को घटनाको बृहत्तर संस्करण हो । सामान्य अवस्थामा एक महिनामा सयौँ आप्रवासी प्रवेश गर्ने स्थानबाट रातारात ५० हजार मानिस प्रवेश गर्न सीमा खुकुलो नभई सम्भव हुँदैन । सान्चेजको अल्जेरिया भ्रमणले मोरक्को खुसी थिएन । उसले त्यो असन्तुष्टि यसरी देखायो,’ भिल्लाले भने । 

स्पेनले ठुलो संख्याको आप्रवासीको प्रवेश लगत्तै सशस्त्र सेना र थप प्रहरी तैनाथ गर्यो । प्रधानमन्त्री सान्चेजले यस घटनालाई ‘स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन’का रूपमा व्याख्या गरे । समुद्रबाट हजारौँ आप्रवासीको सेउटा प्रवेशको घटनाले स्पेनी सरकार र युरोपेली संघबिच केही मतभेद पनि देखियो । उता स्पेनिस दक्षिणपन्थी राजनीतिज्ञले भने यस घटना यसै वर्ष सान्चेजको सरकारले देशभित्र वर्षौंदेखि बसिरहेका लाखौँ आप्रवासीलाई वैधानिक बनाउने नीतिको परिणाम भन्दै विरोध गरे । 

(लेखिका आप्रवासनबारे कलम चलाउँछिन्)
द गार्जियनबाट

सुझावित समाचार