उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन्। उपराष्ट्रपतिको स्वकीय सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार सुनसरीलगायत विभिन्न जिल्लामा देखिएका पछिल्ला घटनाले सामाजिक एकता र सदभावमा असर पर्न सक्ने भन्दै उपराष्ट्रपतिले संयम अपनाउन आग्रह गरेका हुन्।
उनले कुनै पनि समस्या वा असहमतिलाई संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, समाजमा आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।
उपराष्ट्रपतिले शान्ति, स्थिरता र सामाजिक सदभाव नेपालको साझा आवश्यकता भएको उल्लेख गर्दै नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला सबैलाई यस दिशामा योगदान गर्न आह्वान गरेका छन्। उपराष्ट्रपतिको कार्यालयका प्रेस संयोजक दिनेश यादवद्वारा जारी विज्ञप्तिमा उक्त अपिल सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको उल्लेख छ।