बागमतीमा नयाँ सरकार निर्माणमा सकस : एमालेभित्र मुख्यमन्त्रीका तीन दाबेदार

नेतृत्वको भागबन्डाले वाम गठबन्धनभित्रै बढायो असन्तुष्टि

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै सत्तासाझेदार दलभित्रै असन्तुष्टि देखिन थालेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको सत्तासहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने टुंगो लागे पनि मुख्यमन्त्रीको उम्मेदवार चयन र सरकार गठनको अंकगणितले प्रक्रिया पेचिलो बनेको छ ।

एकातिर एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी धेरै देखिएका छन् भने अर्कोतिर नेकपाभित्र प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि देखिएको छ । बागमतीमा नयाँ सत्तासमीकरण निर्माणका लागि नेकपाले वार्ता टोली गठन गरेर संवाद अघि बढाए पनि मुख्यमन्त्रीको नाम र सत्तासाझेदार दलहरूको टुंगो लाग्न सकेको छैन ।

केन्द्रमा भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने समझदारी भएको छ । सोहीअनुसार बागमतीको नेतृत्व एमालेको भागमा परेको हो । तर, ९ साउनमा एमाले र नेकपाबिच सत्तासहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म सरकार बनाउने विषय टुंगिन सकेको छैन ।

नेकपाभित्र नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि
यता एमालेसँग भएको सत्तासहमतिअनुसार बागमतीको नेतृत्व एमालेलाई दिने निर्णय भएपछि नेकपाभित्र पनि असन्तुष्टि देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीका आकांक्षी तथा नेकपा केन्द्रीय कार्यसमन्वय समिति सदस्य गंगानारायण श्रेष्ठले नेतृत्व बाँडफाँटको आधारमाथि प्रश्न उठाएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वसँग प्रदेश सरकारको नेतृत्व कुन आधारमा बाँडफाँट गरिएको हो भन्ने विषयमा जवाफ मागेका छन् । ‘प्रदेश सरकारको नेतृत्व बाँडफाँट कुन–कुन आधारमा गरियो ? त्यसको जवाफ नेतृत्वले जनतालाई दिनैपर्छ,’ उनले लेखेका छन् । उनी मंगलबार बसेको नेकपाको बागमती प्रदेश सभा संसदीय दलको बैठकमा समेत उपस्थित भएनन् ।

यस्तै, बैठकमा पार्टीका सहसंयोजक माधव नेपाल पक्षधर सांसदहरू पनि उपस्थित भएनन् । गत शनिबार नेकपाका संयोजक प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच सत्तासहकार्यसम्बन्धी तीनबुँदे सहमति भएको विषयलाई लिएर नेता नेपालले असन्तुष्टि जनाएका थिए । 

त्यसको परिणामस्वरूप नेपाल पक्षधर नेताहरू बैठकमा सहभागी नभएको अनुमान गरिएको छ । बैठकमा साबिक नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू अनुपस्थित रहेका हुन् । बैठकमा कृष्ण खनाल, डा. राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, रमा आले र ओमकुमारी श्रेष्ठ अनुपस्थित रहे । 

सरकार गठनका लागि नेकपाले बनायो वार्ताटोली
यद्यपि, नयाँ सरकार गठनका लागि वातावरण बनाउन नेकपाले वार्ताटोली गठन गरेको छ । मंगलबार हेटौँडामा बसेको नेकपा संसदीय दलको बैठकले एमालेसँग भएको सत्तासहमति कार्यान्वयन गर्दै सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । 

बैठकले संसदीय दलका नेता शालिकराम जम्कट्टेलको संयोजकत्वमा पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ । टोलीमा कृष्ण खनाल, रत्न ढकाल, सरल सहयात्री र कुमारी मोक्तान सदस्य छन् । बैठकमा कृष्ण खनाल भने अनुपस्थित रहे । बैठकपछि नेता जम्कट्टेलले प्रदेशमा सरकार गठनका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए । उनले एमाले र नेकपाबिच भएको सहमतिअनुसार प्रक्रिया अघि बढेको र राप्रपासँग पनि संवाद भइरहेको जानकारी दिए । ‘अहिलेको प्रदेश सभा संरचनाले कुनै दललाई स्पष्ट बहुमत दिएको छैन । सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने ।

राप्रपाको निर्णय कुर्दै सत्तागठबन्धन
बागमती प्रदेश सभामा हाल ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २५ र नेकपाका २६ सांसद छन् । दुई दलको मत जोड्दा ५१ मात्रै पुग्छ । बहुमतका लागि थप दुई सांसद आवश्यक पर्छ । यही कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भूमिका निर्णायक बनेको छ ।

राप्रपाले समर्थन गरे एमाले नेतृत्वमा सरकार गठन सहज हुनेछ । तर, राप्रपा बाहिर रहे बहुमत जुटाउन थप राजनीतिक समीकरण खोज्नुपर्ने हुन्छ । नेकपा संसदीय दलका सचेतक रत्न ढकालका अनुसार वार्ताटोलीले एमालेसँगै राप्रपा, हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलसँग संवाद गर्नेछ । ‘राप्रपासँग प्रारम्भिक छलफल सकारात्मक छ । तर, पार्टीको औपचारिक निर्णयपछि मात्रै प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

एमालेभित्र मुख्यमन्त्रीका तीन दाबेदार
बागमतीको नेतृत्व एमालेले गर्ने सहमति भए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र सहमति जुट्न सकेको छैन । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वस्वास्थ्यमन्त्री किरण थापा र केशव पोखरेल मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफू स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै आएका छन् । थपलिया यसअघि दुईपटक प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन् ।एमालेबाट मुख्यमन्त्रीका अर्का दाबेदार किरण थापा एमालेभित्र प्रभावशाली नेताका रूपमा हेरिएका छन् ।

भक्तपुरका थापा पूर्ववडाध्यक्ष हुन् भने बागमती प्रदेशमा दुईपटक स्वास्थ्यमन्त्री भइसकेका छन् । उनी एमाले सचिव महेश बस्नेतनिकट नेताका रूपमा चिनिन्छन् । अध्यक्ष केपी ओलीसँगको निकटताका कारण पनि उनलाई बलियो दाबेदार मानिएको छ ।

यस्तै, एमालेका नेता केशव पोखरेल पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । उनले यसअघि करिब आठ महिना सरकारमा रहेर काम गरेका थिए । गत मंसिरको एमाले महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए । वैचारिक र राजनीतिक हिसाबले आफू प्रदेश सरकारको नेतृत्व गर्न सक्षम रहेको पोखरेलले बताउँदै आएका छन् ।

एमालेभित्र तीन नेताबिच प्रतिस्पर्धा देखिएपछि मुख्यमन्त्री चयनमा केन्द्रको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । केन्द्र नेतृत्वले सहमति गराउन नसके प्रदेशमै संसदीय दलको नेता चयनका लागि निर्वाचन हुन सक्ने सम्भावना रहेको एमालेका एक सांसद बताउँछन् ।

अबको निर्णायक चरण : राप्रपाको साथ र एमालेको निर्णय
बागमती प्रदेशको नयाँ सरकार गठनका लागि अहिले दुई विषय सबैभन्दा निर्णायक बनेका छन् । राप्रपाले सत्तासमीकरणमा साथ दिन्छ वा दिँदैन भन्ने विषय र एमालेले आफ्ना तीन दाबेदारमध्ये कसलाई मुख्यमन्त्रीका रूपमा अघि सार्छ भन्ने विषयले सरकार निर्माणमा निर्णायक भूमिका खेल्ने देखिएको छ । एमाले–नेकपा गठबन्धनले बहुमत पुर्याउन सके बागमतीमा सत्ता परिवर्तन निश्चित हुनेछ । तर, मुख्यमन्त्रीको नाम र साझेदार दलको टुंगो नलागेसम्म नयाँ सरकार गठन प्रक्रिया सहज बन्ने अवस्था भने छैन ।

सुझावित समाचार