नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आबद्ध हुनेले राष्ट्रिय परिचयपत्रका आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् । नेपालमै पहिलोपटक सुरु गरिएको यस सेवाले आमनागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको दाबी गरिएको छ । 

बैंकका अनुसार १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् । यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताका लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ । यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बताइएको छ । 

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाइसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ । यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ । 

नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

सुझावित समाचार