कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६, बिमिहा चोकमा शनिबार मध्यराति भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको हाे।
विपरीत दिशाबाट आएकाे बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाले उपचारकै क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे.१ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे ।
दुर्घटनामा परेर यशोधरा गाउँपालिका– २, पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाई र २८ वर्षीय सर्जु चाई गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।