नबिल बैंक तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

नबिल बैंक प्रतिष्ठित तीनवटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर इएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमइजको उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनर्स्थापित गरेको बताइएको छ ।

यी प्रतिष्ठित अवार्डले बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्न पुर्याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको बताए । ‘युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ,’ उनले भने, ‘यो परिणाम ग्राहक, कर्मचारी, सेयरधनी तथा साझेदारले नबिल बैंकमाथि गरेको विश्वासको हो । यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएको छ  ।’

युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ, जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादनमार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थालाई सम्मान गर्ने गर्छ । विगतमा बैंकले डिजिटल बैंकिङ, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै, दिगो बैंकिङ अभ्यास तथा वित्तीय समावेशीकरणका क्षेत्रमा निरन्तर लगानी गर्दै बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गरेको दाबी गरिएको छ । 

सुझावित समाचार