राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाललाई ३ प्रश्न

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

कांग्रेसको वर्तमान संस्थापन र असन्तुष्ट दुवै पक्ष पार्टी फुटाउनै चाहन्छन् कि के हो ?
कम्तीमा मलाई चाहिँ त्यस्तो लाग्दैन । पार्टीको महाधिवेशन नजिकिँदै गरेको समयमा कुनै पनि पार्टीहरूमा यत्तिको तनाव जहिल्यै हुन्छ । कांग्रेसमा पनि यस्तै हुँदै आएको छ । अहिले भएको पनि यही हो । यतिखेर हरेक समूह आआफ्नो पोजिसन सुदृढ पार्न चाहन्छन् । त्यसैको बार्गेनिङ हो यो । खासगरी कुनै पनि विरासत नबोकीकनै पार्टी नेतृत्वमा पुगेका गगन थापालाई सभापतिका रूपमा कतिपय पुराना नेताले स्विकार्न सकिरहेका छैनन् । गगनलाई स्विकार्दा आफ्नो अस्तित्व समाप्त हुने, फेरि आफूहरूमा नेतृत्व फर्किन नसक्ने डरले गर्दा उनीहरू यतिखेर मोलमोलाइ गरिरहेका छन् । नयाँ नेतृत्वसित कुरा नमिले आफ्नो छुट्टै अस्तित्व लिएर उभिन सक्ने हैसियत असन्तुष्ट समूहका कुनै पनि नेतामा बाँकी छ जस्तो लाग्दैन । नेताका हरेक कुरामा ताली बजाउने दास प्रवृत्तिका कार्यकर्ताको बलमा नयाँ पार्टी बनिहाले पनि त्यो बलियो र टिकाउ हुनेवाला छैन । 

एकढिक्का भएर अघि बढ्न दुवै पक्षलाई केले रोकिरहेको छ ?
यो व्यक्तिको असुरक्षाको चिन्ता मात्र हो । यो सब विरासतका आधारमा कांग्रेस राजनीतिमा आफ्नो स्थान खोजिरहेका नेताले पारिवारिक या कुनै पनि अन्य विरासतविनै कांग्रेसको नेतृत्वमा पुगेका गगन–विश्वलाई स्विकारेर अघि बढ्न नसक्नुको परिणाम हो । लेनदेनमा कुरा मिल्नासाथ यो असन्तुष्टि आफैँ मत्थर हुन्छ । 

सम्भावित फुट रोक्न सक्ने कुनै आधार छैन ? 
राजनीति राजनीतिक सिद्धान्तका आधारमा सीधा बाटो अघि बढ्दैन । लेनदेन र स्वार्थका आधारमा यो चल्छ । त्यसैले, लेनदेनमा कुरा मिल्यो भने पार्टी फुट्दैन । आफ्नो स्थान सुरक्षित देखियो भने कोही कतै जाँदैनन् । अन्यथा, यसै भन्न सकिन्न ।

सुझावित समाचार