- प्रत्येकप्रति हरेक जिम्मेवार बन्नु, असल काम आफूबाट सुरु गर्नु र उच्च ओहोदाले झन् उच्च नैतिक व्यवहार प्रदर्शन गर्नु सदाचार संस्कृति हो
सामाजिक जीवन शुद्ध र स्वच्छ राख्न सकारात्मक सोच र सदाचारी व्यवहार चाहिन्छ । असल सोच, असल बुझाइ र असल गराइ भएपछि मात्र असल संस्कृति बन्ने हो । सार्वजनिक संस्थाका लागि त बाँच्ने र औचित्य सिद्ध गर्ने आधार नै सदाचार हो । यो गुण नभए न सामाजिक अनुष्ठान मर्यादित हुन्छ, न सार्वजनिक संस्था हुनुको कुनै अर्थ रहन्छ । संस्थाका पात्र जति सदाचारी भए, त्यसैको सापेक्षमा संस्थाहरू बलिया हुन्छन् र सुशासनको जग बस्छ । नेपाली समाज सदाचार र सकारात्मक सोचबाट विषयान्तर बन्दै गएको छ । सार्वजनिक जीवनको शक्तिउन्मादी, लालसी र गैरव्यावसायिक प्रवृत्तिको लहरे असर नागरिकस्तरसम्म पुगेको छ । त्यसैले, अहिलेको प्रमुख चुनौती राज्यलाई कसरी नैतिक संस्था बनाउने र त्यहाँका पत्रामा कसरी व्यावसायिक सदाचारिता विकास गर्ने भन्ने देखिएको छ ।
सुशासन राज्यप्रणालीको साध्य हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार, व्यावसायिक मूल्य आचरण देखिनुपर्छ । यी आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श बनाउन मद्दत गर्छन् । त्यसैले, संस्थाका मूल्य घोषणा र ती मूल्यअनुरूप पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, विधि र आचार संहिता लागू गर्ने, जिम्मेवारी वरण गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्य गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्ष कमजोर हुँदै गएको छ । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आचरण स्खलित भएका छन् । कोही अर्काको अस्तित्व स्विकार्न र स्वार्थ त्याग्न तयार छैन । विनय, मर्यादा र इमानदारीलाई स्वार्थ, अहं र ओहोदाले विस्थापन गरेको छ । संस्थाहरूमा विश्वासले होइन, बाध्यताले जानुपर्ने स्थिति रहँदै आएको छ ।
व्यक्ति आचारच्युत हुँदै जानुका पछि खास कारण छन् । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य–संस्कृतिजस्ता पक्षले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सदाचारी बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । विपरीतमा जब मानिस सुखवादी सोच (प्लिजर इनर्सिया) ग्रसित हुँदै जान्छ, प्रयासभन्दा बढी उपलब्धिको खोजी गर्छ, पसिनाविनाको आर्जन र उपलब्धिको प्राप्ति गर्छ, कर्मविनाको पहिचान–प्रतिष्ठा चाहन्छ, व्यक्ति खराब आचरणतर्फ डोरिन्छ । लोभ (पैसा, पद, पावर, प्लेजर, प्रतिष्ठा, प्रेम आदि), तृष्णा र आसक्ति नै खराब आचरणका स्रोत हुन् । जब व्यक्ति लोभ र आसक्तिमा पर्छ, विधि विधान र मूल्य–मान्यता देखावटी बन्छन्, गर्भित आशयले काम गर्न थाल्छ ।
समाजमा असल कुराको माग त हुन्छ, तर खराब कुराको प्रवेग गतिवान् हुन्छ । एकपटक खराब चित्तवृत्ति भएको व्यक्ति फेरिफेरि खराबतिरै लाग्छ । उसको सोच–संगत सबै खराबबाटै प्रेरित हुन्छन्, असलहरू पनि खराब हुन थाल्छन् । खराब व्यक्तिका नेतृत्वमा संस्थाहरू बिटुलिन्छन् र नीति निष्ठाजस्ता सदाचारका आधारशिला मक्किँदै जान्छन् । गैरसदाचारीले दिने नीतिनिर्देशनले सदाचारलाई उपेक्षा गर्छ र आचार व्यवस्था पाखा लाग्छ । अहिलेको अवस्था यही हो । तर, अहिले पनि व्यक्ति नराम्रो काम लुकेर गर्छ, नराम्रो गरेर पनि राम्रो गरेँ भन्छ । यस अवस्थामा सदाचार कायम गर्न सकिने सम्भावनाचाहिँ बाँकी छ ।
समाजमा सदाचार कायम गर्न पूर्वाधार चाहिन्छ, नेपालजस्ता मुलुकमा ती पूर्वाधार दह्रो चाहिन्छ । सर्वप्रथम त कठोर राजनीतिक इच्छाशक्ति चाहिन्छ । यसैको अभावमा राष्ट्रिय सदाचार नीति औपचारिक प्रक्रियामा गएपछि पनि पारित हुन दशक कुर्नुपर्यो । दोस्रो– कार्यान्वयनयोग्य आचारसंहिता चाहिन्छ, तेस्रो– पेसागत संरचना भए भने तिनले सदाचारिताका लागि दबाब दिन्छन् । चौथो– आचरण समन्वय संयन्त्र चाहिन्छ । अर्को पूर्वाधार भनेको सहयोगी कार्यावस्था हो । यी सबै पूर्वाधार एउटा समष्टिगत नीति खाकामा रहनुपर्छ । सदाचारिता कार्यान्वयनको स्वचालित मूल्यांकन हुने जवाफदेही संयन्त्र चाहिन्छ र यी कुराको राज्य संयन्त्रबाहिरबाट निष्पक्ष पहरेदारी गर्ने नागरिक समाज चाहिन्छ । सदाचार सिद्धान्त लागू गर्ने विभिन्न ढाँचा छन् । बेलायतमा संस्थालाई सदाचारयुक्त बनाउन सार्वजनिक सेवाका मूल्य घोषाणा गरी त्यसलाई लागू गर्ने कार्यात्मक सिद्धान्त अवलम्बन गरिएको छ । सेवा मूल्यका पाँच स्तम्भ छन्, पहिलो मूल्य जवाफदेहिता, दोस्रो निष्पक्षता, तेस्रो न्याय र स्वच्छता, चौथो स्वार्थको समर्पण र पाँचौँ राम्रो गर्ने प्रण ।
बहस हुन थालेको निकै पछि मस्यौदा भएकै झन्डै दशकपछि राष्ट्रिय सदाचार नीति जारी भएको छ । नीति संरचना र सदाचारको अभीष्टका दृष्टिमा नीति आवश्यकताअनुरूप नै देखिन्छ । नीतिको सोच सदाचारयुक्त समाजमार्फत सुशासन र समृद्धि छ, सदचारितालाई जीवन पद्धति बनाउने लक्ष्य छ । सुशासन प्रवर्द्धन गर्नु, सुसांस्कृतिक समाज निर्माण गर्नु, स्वनियमन पद्धति व्यवस्थित गर्नु यसका उद्देश्य छन् । मूलभूत मान्यता भनेर सदाचार नीतिको मूल्य घोषणा गरिएका छन्, जसमा स्वतन्त्रता, सक्रियता, व्यावसायिकता, रचनात्मकता, मानव मर्यादा, सहभागिता, राष्ट्रभक्ति, निष्ठा र सकारात्मकतामा समेटिएको छ । नीति कार्यान्वयनको क्षेत्रमा नागरिक, जनप्रतिनिधि र सार्वजनिक जिम्मेवारी पाएकाहरू, राजनीतिक दल, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, कूटनीतिक क्षेत्र, शैक्षिक/प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, सामाजिक सञ्जाल र आमसञ्चार, वित्तीय क्षेत्र, धार्मिक सामाजिक संघसंस्था, विदेशी नागरिक सबैको भूमिका उल्लेख छ । भूमिका उल्लेख गरिनु भनेको सदाचारको दायराभित्र समेटिनु हो । तर, न्यायिक क्षेत्र, राज्यका विशिष्ट संस्था र संवैधानिक अंगहरूको भूमिका उल्लेख छैन । नीतिको उद्देश्यमा समाजका सबै क्षेत्रमा इमानदारी र सदाचारिता कायम गर्दै निष्ठा एवम् सुशासन प्रवर्द्धन गर्नु रहेको छ । यस अर्थमा राज्यका विशिष्ट संरचना भूमिकामा समेटिनुनपर्ने विषय होइन ।
राष्ट्रिय सदाचार पद्धतिको दायराभित्र राज्यका सबै अंग समेटिनुपर्छ नै । स्वतन्त्रता, निष्पक्षता र सदाचारिता राज्यका उच्च र न्यायिक निकायका आधार मूल्य हुन् । संवैधानिक मर्म र न्याय सिद्धान्तका आधारमा यस्ता संस्थालाई समेट्दा ती संस्थाको गरिमा झन् उच्च हुन्छ । राज्यका विशिष्ट संरचना र पदाधिकारीका आचरणले राज्यका अन्य पदाधिकारी र नागरिक तहसम्म लहरे असर पार्ने हैसियत राख्छन् । सदाचार पद्धतिले माग्ने सबैभन्दा ठुलो विषय भनेको स्वार्थको समर्पण हो । जिम्मेवारीमा रहेकाहरूले गर्ने निर्णय, बनाउने नीति र गरिने नियुक्तिमा राष्ट्रिय स्वार्थबाहेक कत्ति पनि अर्को स्वार्थ रहनुहुन्न । नेपालमा जहिल्यै पनि आफ्ना व्यक्तिलाई जिम्मेवारी दिने र त्यो योग्यताका आधारमा हो भन्ने दलिलले सदाचारलाई स्खलित बनाएको छ । आफ्नाहरू योग्य नै छन् भने पनि उनीहरूलाई जिम्मेवारीबाट पर राख्ने सामर्थ्य निर्णयकर्तामा कहिल्यै देखिएन । केही नियुक्तिमा त ‘रविन्सन सिद्धान्त’ पनि देखन्छ । यसले राज्यलाई नैतिक संस्था बन्न र विश्वासिलो हुन अवरोध पुर्याएको छ । सदाचार भनेको घोषणाभन्दा व्यवहारमा देखिने कुरा हो । परिपक्व लोकतन्त्रको राष्ट्रिय सदाचार पद्धतिबाट हामीले शिक्षा लिन सक्छौँ ।
राष्ट्रिय सदाचार पद्धति संस्थागत गर्न क्षेत्रगत आचार पद्धति चाहिन्छ, जसले सदाचार नीतिको कार्यढाँचा क्रियाशील बनाउँछन् । कार्यकारी सदाचार पद्धति, न्यायिक सदाचार पद्धति, संसदीय सदाचार पद्धति, संवैधानिक निकाय सदाचार पद्धति, गैरसरकारी संरचना सदाचार पद्धति र अन्य पेसागत सदाचार पद्धति चाहिन्छ र त्यसअनुसार आचरण भएको नागरिक विवेचना हुने अवस्था चाहिन्छ । राष्ट्रिय सदाचार पद्धतिले सार्वजनिक जीवनलाई शुद्ध, स्वच्छ र सकारात्मक बनाउने आधार दिन्छ र प्रत्येकलाई प्रत्येकप्रति जिम्मेवार बनाउँछ । आत्मिक शुद्धता र सकारात्मक सोच नै सदाचारका ऊर्जा हुन्, यो तथ्य कसैले पनि भुल्नुहुन्न । प्रायः शक्तिमा रहनेहरू सदाचारी चरित्र अरूबाट मात्र खोज्छन् र आफू अरूबाट विवेचित हुन चाहँदैनन्, सबैभन्दा ठुलो प्रश्न नै यही हो ।
यसर्थ, नीति आउनु मात्र उपलब्धि होइन, कार्यान्वयनमार्फत सदाचार पद्धति बसाउनु उपलब्धि हो । नीतिनिर्माण समय नै निकै लामो लागेकाले सदाचार संस्कृति निर्माण आफैँमा जटिल छ भन्ने संकेत गर्छ । लोकतन्त्र परिपक्व भइनसकेको र समाज तहसोपनायुक्त भएकाले पद, प्रतिष्ठा, शक्ति, ओहोदा, शिक्षा, सम्पत्ति र अन्य सामाजिक अवयवले सदाचार संस्कृति सहजै संस्थागत हुन सक्दैन भन्ने देखिन्छ । तहसोपान र शक्ति संरचनाका कारण जवाफदेहिता अरूबाट खोजिने र आफू र आफ्नालाई यसबाट पर राख्ने प्रवृत्तिले सदाचार संस्कृतिमा अवरोध ल्याएको छ । त्यसैले, प्रत्येकप्रति प्रत्येक जिम्मेवार बन्ने, असल काम आफूबाट सुरु गर्ने, उच्च ओहोदाले झन् उच्च नैतिक व्यवहार गर्ने विषय प्राथमिकतामा पर्नुपर्छ । आशा गरौँ, आउँदा दिनमा सदाचार र सकारात्मक सोचको संस्कृति बस्दै जानेछ ।
(मैनाली नेपाल सरकारका फूर्वसचिव हुन्)