- उनले फोनमार्फत आफू टावरको टुप्पोमा चढेको र माग पूरा नभए हाम फाल्ने चेतावनी दिएका थिए
लभ परेकी युवतीसँग विवाह हुनुपर्ने माग राखेर नेपाल टेलिकमको ८० मिटर अग्लाे टावरमाथि चढेका एक युवक सकुशल तल ओर्लिएका छन् । सुरक्षाकर्मी र परिवारको विनम्र आग्रहपछि उनी आफैँ तल ओर्लिएका हुन् ।
गएराति गोडैता नगरपालिका– ९, बकैनियाका २४ वर्षीय अफसर आलम लभ परेकी युवतीसँग विवाह हुनुपर्ने माग राखेर टावरको टुप्पोमा पुगेका थिए । सर्लाहीको मलंगवा नगरपालिका– ९, मा रहेको ८० मिटर उचाइको टावरमाथि चढेर उनले प्रेमिकासँग विवाह हुनुपर्ने माग राखेका थिए । सँगै क्याम्पस पढ्ने ठाकुर थर भएकी युवतीसँग प्रेम गर्दै आएका आलम ती युवतीसँग विवाह हुनुपर्ने माग राखेर टावरमाथि चढेका हुन् ।
उनले टावरको टुप्पोबाट साथीलाई फोन गरेपछि घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनले फोनमार्फत आफू टावरको टुप्पोमा चढेको र माग पुरा नभए हाम फाल्ने चेतावनी दिएका थिए । आलमलाई सकुशल उद्धार गर्नका लागि टेलिकम परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहारीले प्रयास गरेका थिए ।
सुरक्षाकर्मी र परिवारले उनलाई प्रेमपूर्वक तल आउनका लागि अनुरोध गरेपछि ती युवक अहिले टावरको टुप्पोबाट आफैँ तल ओर्लिएका छन् । युवतीलाई बोलाएर आफूसँग विवाहका लागि प्रतिबद्धता गराउन माग गरेका उनी अन्तत: प्रहरी र परिवारले सम्झाइबुझाई गरेपछि टावरबाट सकुसल तल झरेका छन् ।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार उनी सर्लाही क्याम्पसमा बिबिएस अध्यनरत विद्यार्थी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
आफ्नो प्रेमसम्बन्ध सफल बनाउन उनले परिवारलाई धम्क्याउने उद्देश्यसहित यस्तो हर्कत गरेको प्रहरीको आशंका छ। यसअघि उनले प्रेमिकासँग विवाहको ग्यारेन्टी नभएसम्म तल नझर्ने अडान राखेका थिए ।