नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आफ्नी पत्नी मीरा पोखरेल (ध्वजु) भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा क्यान्सर उपचाररत रहेकाले आफू पछिल्लो समय देशभित्रका विभिन्न राजनीतिक तथा सार्वजनिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै पोखरेलले श्रीमतीको उपचारका क्रममा आफू प्रत्यक्ष रूपमा संलग्न रहनुपरेकाले देशभित्रका गतिविधिमा नियमित रूपमा सहभागी हुन नसकेको स्पष्ट पारेका हुन्।
उनले मीरा पोखरेलको उपचार अझै जारी रहेकाले आगामी केही समयसम्म पनि आफ्नो उपस्थिति र सार्वजनिक गतिविधि प्रभावित रहने जानकारी दिएका छन्।
पोखरेलले उपचारका क्रममा मिरा पोखरेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने, शुभेच्छा व्यक्त गर्ने तथा प्रतिकूल परिस्थितिका बिच पनि प्रत्यक्ष भेट्न आउने साथीभाइ, शुभेच्छुक र आफन्तजनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले सबैको सद्भाव, शुभेच्छा र सहयोगी भावनाले कठिन समयमा आफूहरूलाई ठुलो हौसला र आत्मबल प्रदान गरिरहेको उल्लेख गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन्।