प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले देशमा संविधान र कानुनभन्दा माथि ‘श्री ८ बालेन्द्र शाह’ रहेको सन्देश आमनागरिकमा प्रवाह गर्न खोजिएको टिप्पणी गरे।
आफ्नो सम्बोधनका क्रममा उनले पौराणिक पात्र हिरण्यकश्यपुको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैली त्यसैसँग मिल्दोजुल्दो रहेको आरोप लगाए।
‘हिरण्यकश्यपुको शासनमा प्रश्न गर्नु नै सबैभन्दा ठुलो अपराध मानिन्थ्यो। सत्य बोल्ने आफ्नै छोरा प्रह्लादलाई समेत सजाय दिने प्रयास गरिएको थियो,’ उनले भने, ‘आज पनि सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको छ र प्रश्न उठाउने वातावरणलाई निषेध गर्न खोजिँदै छ।’
उनले १८२ सिटको बहुमतले संविधान उल्लंघन गर्ने वा नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अधिकार नपाउने स्पष्ट गर्दै संविधानभन्दा माथि कुनै पनि बहुमत हुन नसक्ने बताए।