आफैँलाई फाइदा गर्ने नेटो प्रणाली भत्काउँदै अमेरिका

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन नपराउने व्यक्तिसमेत उनलाई एउटा कुराका लागि श्रेय दिन्छन् : नेटोका युरोपेली सदस्यलाई बढी हिस्सा खर्च तिर्न बाध्य पार्नु । अमेरिकी राष्ट्रपतिहरूले लामो समयदेखि नेटोको खर्चको बोझ आफूले मात्र उठाउनुपरेको गुनासो गर्दै आएका छन् । ट्रम्पको शैली भद्दा, बढी नाटकीय र लेनदेनयुक्त थियो, तर पनि नेटोबारे उनले व्यक्त गरेको भावना अमेरिकाभित्र मौन रूपमा व्यक्त हुँदै आएको थियो । र, युरोपेलीले उनको कुरा बुझे । त्यसैले युरोपेली देशहरूले सामूहिक रूपमा सन् २०१४ मा आफ्नो कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत नेटोका लागि खर्च गरेकोमा गत वर्ष बढाएर २.३ प्रतिशतको नजिक पुर्याएका छन् ।

तथापि, कहिलेकाहीँ यथार्थ सरल तथ्यांकभन्दा फरक हुन्छ । आमधारणाअनुसार युरोपले खर्च बढाएमा अमेरिकाको खर्च घट्छ भन्ने छ । तर, यो बुझाइ तथ्यांकले नै सही देखाउँदैन । नेटोमा युरोपले गर्ने खर्च अहिले दशकौँयताकै उच्चतमस्तरमा पुगेको छ । तर, पनि सन् २०२७ का लागि ट्रम्प आफैँले १.५ ट्रिलियन डलरको रक्षा बजेट प्रस्ताव गरेका छन् ।

खासमा, अमेरिकी रक्षा खर्च कहिल्यै पनि नेटोको आवश्यकताले मात्र निर्धारण गरेको छैन । अमेरिकाले विश्व महाशक्तिका रूपमा विश्वभर विस्तार गरेका आफ्ना सैन्य आधार, फौज र विभिन्न सैन्य प्रतिबद्धता कायम राख्नुपर्ने हुन्छ । यसका लागि उच्च खर्च आवश्यक पर्छ । वासिङटनले रुसलाई रोक्न, सम्भावित रूपमा चीनको सामना गर्न, मध्यपूर्वमा शक्ति प्रदर्शन गर्न र विश्वव्यापी समुद्री मार्गको खुला आवागमन कायम राख्नेदेखि देशको रक्षा गर्न ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै, उसलाई आणविक श्रेष्ठता कायम राख्न, अन्तरिक्षमा प्रभुत्व जमाउन, ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा शीर्ष स्थानमा रहन र आफ्नो देशबाट टाढा लड्ने क्षमता जोगाउनुपर्ने चुनौती छ । यी सबैमा ठुलो रकम खर्च हुन्छ ।

सन् २०१८ मा ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिज’ले गरेको एक गणनाअनुसार सो वर्ष युरोपले रक्षामा गरेको प्रत्यक्ष खर्च अमेरिकाले गरेको कुल रक्षा खर्चको लगभग ५ प्रतिशत मात्र थियो । पछिल्लो समय युरोपको रक्षा खर्च बढ्दै जाँदा अमेरिकामाथिको उसको निर्भरता कम हुँदै गएको छ । ७५ वर्षभन्दा बढी समयदेखि, नेटोभित्र अमेरिकाको प्रभुत्वले वासिङटनलाई ठुलो फाइदा दिएको छ । अमेरिकाको युरोपभर ३० भन्दा बढी सैन्य आधार छन् । यी सैन्य आधारमार्फत अमेरिकाले युरोपमा मात्र नभई अफ्रिका, मध्यपूर्व र एसियासम्म शक्ति प्रदर्शन गर्न सक्षम भएको छ ।

इराक र अफगानिस्तानमा भएका युद्धदेखि अहिले पनि नरोकिएको इरानसँगको युद्धमा युरोपका अमेरिकी सैन्य आधार र ओभरफ्लाइटले धेरै सहयोग गरेको छ । प्रायः नेटो देशले अमेरिकाले चलाएका युद्धप्रति असहमत हुँदाहुँदै पनि अमेरिकालाई आफ्ना सुविधा प्रयोग गर्न अनुमति दिने गरेका छन् । 

अमेरिका प्रायः आफ्ना युरोपेली सहयोगीहरू सधैँ यसका आर्थिक अभियानसहित यसको व्यापक रणनीतिका पछाडि लामबद्ध हुनेछ भनेर ढुक्क हुन्छ । तर, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का पूर्वअधिकारी सेलेस्ट वाल्यान्डरले ‘फरेन अफेयर्स’ म्यागजिनको एक आलेखमा लेखेझैँ युरोपका पनि आफ्नै स्वार्थ र औजार छन् । रुसको अधिकांश रोक्का सम्पत्ति युरोपेली बैंकमै छन् । रुसी ढुवानी, वित्त र प्रविधिमा यसले अलग रूपमा प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा वासिङटनले युरोपलाई ‘बाइपास’ गरेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता गरेमा युरोपले अस्वीकार गर्न सक्छ । वासिङटनले इरान वा चीनमाथि आफ्ना स्वार्थका लागि मात्र एकतर्फी दबाब दिँदा युरोप हिचकिचाउन सक्छ ।

अर्को हतियारको विषय पनि छ । अमेरिकाका लागि नेटोमा एउटा लुकेको फाइदा भनेको युरोपेलीहरूले अमेरिकी हतियार किन्नु हो । युरोपेलीहरूले एफ–३५ एस, हिमार्स, प्याट्रियट्स, पी–८ विमान र अन्य धेरै प्रणाली किन्छन् किनभने यी प्रभावकारी छन् । साथै, यी हतियार खरिदका कारण युरोप संयुक्त राज्य अमेरिकासँग बाँधिन्छन् । साझा सैन्य उपकरणहरूले संयुक्त सञ्चालन सजिलो बनाउँछ । साथै, अत्याधुनिक अमेरिकी हतियार किन्ने देश भविष्यमा हुने युद्धमा अमेरिकी सेना संलग्न रहने कुराले थप विश्वस्त हुन्छन् ।

तर, युरोपेली अधिकारीहरू अब अमेरिकी सैन्य सामग्रीमाथिको निर्भरता कम गर्ने आवश्यकताका बारेमा खुलेर बोल्न थालेका छन् । उनीहरूलाई डर छ कि ट्रम्प प्रशासनले भविष्यमा सफ्टवेयर अपग्रेड, पार्टपुर्जा वा सञ्चालन क्षमता रोक्न सक्छ । युरोपले हतियार खरिद घटाएमा अमेरिकी रक्षा कम्पनीहरूले ठुलो घाटा व्यहोर्नुपर्नेछ । अमेरिकी रणनीतिमाथि यसले थप ठुलो असर पार्न सक्छ । हतियार बिक्री केवल व्यावसायिक लेनदेनको विषय मात्र होइन, यसले सहयोगको बानी र साझा रणनीति सिर्जना गर्न सघाउँछ ।

अर्को अन्तिम खतरा पनि छँदै छ । हामी ‘युरोप’ले खर्च बढाउने कुरा सजिलै गर्छौँ, तर रक्षा बजेट अझै पनि राष्ट्रिय विषय बनेको छ । अर्थात् रक्षा बजेट युरोपभित्रका राष्ट्रिय सरकारको क्षेत्राधिकार हो, जसमध्ये धेरै अहिले आर्थिक संकटबाट गुज्रिरहेका छन् । विदेश मामिलामा विश्लेषक लियाना फिक्सले टिप्पणी गरेझैँ खर्च गर्ने सबैभन्दा ठुलो क्षमता भएको देश जर्मनी हो । र, पछिल्लो समय उसले रक्षा बजेट बढाउन थालेको छ । यो आवश्यक पनि छ । किनकि, जर्मनी धेरै लामो समयसम्म निष्क्रिय रह्यो । यो बाँकी युरोपसँग गहिरो रूपमा जोडिएको एक उदार लोकतान्त्रिक देश हो । यसको राजनीतिक डिएनएमा लुकेको कुनै आक्रामक आवेगबाट डराउनुपर्ने कुनै कारण छैन । 

तर, अन्तर्राष्ट्रिय राजनीतिमा आकार र शक्तिको आफ्नै महत्व हुन्छ । बाँकी छिमेकीको तुलनामा धेरै खर्च गर्न थालेका जर्मनीका ठुला छिमेकीहरू फ्रान्स, पोल्यान्डजस्ता देशहरूलाई चिन्तित बनाउनेछ ।

अमेरिकाको सन् १९४५ पछि यही चिन्ता आउने अवस्था नै नदिए आफ्नो रणनीतिक प्रतिभा प्रदर्शन गर्यो । यसले युरोपेली देशहरूलाई परम्परागत महाशक्तिजस्तै सोच्न र कार्य गर्न आवश्यक नै नपर्ने बनाइदियो । अमेरिकी सुरक्षा छातामुनि, फ्रान्स र जर्मनीले एक–अर्कालाई सन्तुलनमा राख्नुपरेन । अमेरिकाले शताब्दियौँदेखि एक–अर्काविरुद्ध लडेर बिताएका युरोपेली देशहरूबिच शान्ति कायम गरिदियो । यसले स्थिर, शान्तिपूर्ण र अमेरिकी समर्थक प्रणाली सिर्जना गर्यो । अहिले अमेरिकाले त्यही प्रक्रिया टुटाउन खोज्दै छ । भोलिका दिनमा अमेरिकीहरूले यही पुरानो नेटोलाई गुमाएको महसुस गर्नेछन् । त्यसको कारण यो निष्पक्ष भएकाले होइन, बरु यो संसारले अहिलेसम्म थाहा पाएको सबैभन्दा सफल सुरक्षा प्रणाली थियो । र, यसको केन्द्रमा अमेरिका थियो । 

फरेन पलिसीबाट

(जकारिया फरेन अफेयर्सका स्तम्भकार हुन् )

सुझावित समाचार