कांग्रेसमा मेलमिलापको नीति, विभाजनको अभ्यास

बिपी स्मृति दिवसकै दिन संस्थापन पक्ष जरा अभियान समापन गर्दै, इतर पक्ष राष्ट्रिय कार्यकर्ता भेलाको मिति तोक्ने तयारीमा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

कांग्रेसका संस्थापक बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर दुई पक्षले समानान्तर कार्यक्रम आयोजना गरेका छन् । संस्थापन पक्षले जरा अभियान समापन कार्यक्रम र इतर (शेरबहादुर देउवा र शेखर कोइराला) पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

बिपीको ६ साउन ०३९ मा निधन भएको थियो । कांग्रेसले हरेक वर्ष ६ साउनमा बिपी स्मृति दिवस मनाउँदै आएको छ । आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका बिपी ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए । बिपीले अपनाएको मेलमिलाप नीतिको आज पनि चर्चा हुन्छ । तर, बिपी स्मृति दिवसकै अवसरमा दुवै समूहले समानान्तर कार्यक्रम गरेर विभाजनको संकेत गरेका छन् ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिसहितको विस्तारित बैठकले बिपी स्मृति दिवसमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । सोही कार्यक्रममार्फत राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी रहेको नेताहरूले बताएका छन् । ‘बिपी स्मृति दिवस मनाउने तयारी भइरहेको छ । सोही दिन राष्ट्रिय भेलाको मिति तोक्ने तयारी छ,’ नेता प्रकाशशरण महतले भने । इतर पक्षको कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने र जिल्लाहरूमा अनुकूल स्थानमा हुनेछ । चुनदेवी बैठकले वार्ताका लागि लचिलो बन्ने निर्णय गरे पनि संस्थापन पक्षबाट पहल नभएको इतर पक्षको गुनासो छ । 

पार्टी विभाजनउन्मुख रहेको पनि इतर पक्षका नेताहरू बताउँछन् । ‘हामीहरू एकताको पक्षमा रहेकाले लचिलो बनिराखेका छौँ । बैठकबाटै वार्तामा जोड दियौँ, तर उहाँहरू गम्भीर बनेको देखिएन । संस्थापन पक्षका कोहीसँग पनि यसबिचमा छलफल भएको छैन,’ इतर पक्षका नेता मीन विश्वकर्माले भने ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निकट नेताहरूसँग आफू पार्टी विभाजनको पक्षमा नरहेको र मिलाउन कोसिस गर्ने बताएका छन् । तर, संस्थापनले चासो नदेखाउँदा मिल्ने छाँट नदेखिएको उनको दाबी छ । ‘विभाजन गरेर पार्टी बनाउदिनँ । सक्दो मिलाउने प्रयास गर्छु, तर मिल्ने छाँट देखिएको छैन,’ खड्काको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने । 

संस्थापन पक्षले बिपी स्मृति दिवसकै अवसरमा संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ र सदस्यता अद्यावधिक अभियान समापन गर्ने भएको छ । जिल्ला कार्यसमितिहरूको आयोजनामा कार्यक्रम गर्न महामन्त्री प्रदीप पौडेलले ७७ वटै जिल्लामा परिपत्र गरेका छन् ।

‘साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जरा अभियान’को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्नुहुन अनुरोध गरिन्छ,’ पौडेलले भनेका छन् । 

‘१५औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता फाराम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार साउन ३ गतेसम्म समयावधि थप गरिएको विदितै छ । यससँगै, युवाकेन्द्रित विशेष अभियानअन्तर्गत सदस्यता व्यवस्थापनको कामका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा पालिकामा खटिएका प्रतिनिधिहरूको कार्यावधि पनि साउन ३ गतेसम्म कायम रहनेछ । पालिकामा खटिनुभएका प्रतिनिधिहरूले साउन ४ गते जिल्लामा खटिनुभएका केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउनुपर्नेछ,’ सर्कुलरमा भनिएको छ ।

गत १६ जेठमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मिलेर अघि बढ्न भन्दै इतर पक्षलाई प्रस्ताव पठाएका थिए । त्यसपछि पूर्वकार्यवाहक सभापति खड्काले आठबुँदे र नेता कोइरालाले पाँचबुँदे प्रस्ताव पठाएका थिए । त्यसपछि संस्थापन पक्षले कुनै प्रतिक्रिया दिएको छैन । इतर पक्षले मुख्यतः क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमिति समायोजन गर्नुपर्ने माग अघि सारेको छ । उक्त मागप्रति संस्थापन पक्ष तयार देखिएको छैन ।

 सभापति गगन थापाले १ वैशाखमा क्रियाशील सदस्यता अद्यावधिक गरेसँगै अभियान सुरु भएको थियो । वैशाखभर अभियान सञ्चालन गर्ने निर्णय भए पनि पटक–पटक थपेर ३ साउनसम्म पुर्याइएको छ । अभियानको देउवा र कोइराला पक्षले विरोध गरिरहेका छन् । उनीहरूले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्मै क्रियाशील सदस्यता नवीकरण भइसकेकाले दोहोर्याएर अद्यावधिक गर्न नपर्ने अडान राख्दै आएका छन् ।

देउवा र कोइरालासहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू डा. प्रकाशशरण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्यायसहितका नेता तथा कार्यकर्ताले अद्यावधिक गरेका छैनन् । आगामी रणनीति तय गर्ने जिम्मा इतर पक्षको विस्तारित बैठकले शीर्ष नेताहरूलाई दिएको छ । शीर्ष नेताहरूले छलफल गरेर रणनीति तय गर्ने इतर पक्षका नेताहरू बताउँछन् ।

 इतर पक्षका नेता मीन विश्वकर्मा भन्छन् – एकताको पक्षमा रहेकाले लचिलो बनिराखेका छौँ । बैठकबाटै वार्तामा जोड दियौँ, तर उहाँहरू गम्भीर बनेको देखिएन । संस्थापन पक्षका कोहीसँग पनि यसबिचमा छलफल भएको छैन ।

सुझावित समाचार