विमानस्थलबाट सुनचाँदीका गहना अवैध तरिकाले विदेश पठाउन खोज्ने दुई कार्गोका सञ्चालक २४ घण्टामै रिहा

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

नेपालबाट गैरकानुनी ढंगले सुनचाँदीका गहना विदेश लैजान खोज्ने कार्गोका दुई सञ्चालक पक्राउ परेका २४ घण्टा नबित्दै छुटेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट धरौटी रकम बुझाएर उनीहरू छुटेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरी टोलीले १६ असारमा पक्राउ गरेको थियो । उनीहरूले कपडाजन्य सामग्रीको अवरणमा सुन र चाँदीको गहना पैठारी गर्ने कोसिस गरेका थिए । 

हवाई सुरक्षा प्रणालीमा यसलाई अत्यन्तै संवेदनशील मानिन्छ । तर, घटनामा संलग्न दुई अभियुक्तलाई भन्सार कार्यालयले सामान्य घटना मानी धरौटीमा छाडेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता धु्रवराज विश्वकर्माले सुन र चाँदीको गहना पैठारीमा संलग्न दुईजना पक्राउ परेको भोलिपल्ट धरौटी रकम तिरेर छुटेको बताए ।

वैध रूपमा खरिद गरिएका सुन र चाँदीका गहना विदेश पैठारी गर्न कानुनले कुनै अवरोध गरेको छैन । तर, झापास्थित युनिक कार्गो र गौचरनस्थित एपेक्स लजिस्टिकले अवैध बाटो प्रयोग गरी ६७ लाख ३४ हजार ३५० रुपैयाँ मूल्यको सुनका र १४ लाख ३८ हजार ४३ रुपैयाँ मूल्यको चाँदीका गहना पैठारी गर्ने कोसिस गरेका थिए । प्रहरीले युनिकका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल र एपेक्सका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदीलाई पक्राउ गरेको थियो । तर, उनीहरूलाई एकमुस्ट ८० लाख रुपैयाँ धरौटी लिएर भन्सारले छाडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेले वैध बाटो हुँदाहुँदै अवैध बाटो प्रयोग गरी सुन र चाँदीका गहना पैठारी गर्न खोज्नु रहस्यमय रहेको बताए । ‘बिल भएका जुनसुकै धातुका गहना विदेश लैजान कानुनले रोकेको छैन । तर, उनीहरूले अवैध बाटो प्रयोग गरी सुनचाँदीको गहना विदेश लैजान खोजेको देखियो,’ उनले भने ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरे भन्छन्– ‘बिल भएका जुनसुकै धातुका गहना विदेश लैजान कानुनले रोकेको छैन । तर, उनीहरूले अवैध बाटो प्रयोग गरी सुनचाँदीको गहना विदेश लैजान खोजेको देखियो । हवाई सुरक्षामा यसलाई अत्यन्तै गम्भीर रूपमा हेरिन्छ । 

सुझावित समाचार