- युक्रेनले ड्रोन प्रविधिको कुशल प्रयोगमार्फत युद्धमोर्चामा रुसी सैन्य अग्रगमनलाई रोकेको मात्र होइन, रुसभित्रैसम्म ठुलो प्रत्याक्रमण गरिरहेको छ । ड्रोनको प्रयोगमार्फत युक्रेनले युद्धमोर्चालाई स्थिर बनाउन र रुसी हमलालाई निस्तेज गर्न सफल भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि गत केही महिना निकै कठिन देखिए । उसो त युक्रेन युद्ध पुटिनको योजनाअनुसार कहिल्यै पनि अघि बढेन, तैपनि पछिल्लो समयसम्म युद्ध उनकै पक्षमा रहेको पुटिनले विश्वास गरिरहे । रुस गत एक वर्षको अवधिमा नियन्त्रित युक्रेनी भूभागको हिस्सा बढाउन सफल भयो । तथापि, यो निकै कम थियो । अर्थात्, अघिल्लो वर्ष युक्रेनको १८.५ प्रतिशत भूमि कब्जा गरेको रुसले १९.३ प्रतिशत पुर्यायो । अझ महत्वपूर्ण कुरा, पुटिनले चाहेजसरी गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई ‘शान्ति सम्झौता’ गर्न दबाब दिन तयार देखिए, जसले रुसलाई अझ बढी युक्रेनी भूभाग हस्तान्तरण गराउने थियो ।
तर, सन् २०२६ को आगमनसँगै तस्बिर धेरै बदलिएको छ । ट्रम्प मध्यपूर्वको संकटमा यति धेरै व्यस्त छन् कि युक्रेन उनको रडारबाट धेरै हदसम्म बाहिरिएको छ । ट्रम्पले यही महिना फ्रान्समा सम्पन्न भएको जी–७ शिखर सम्मेलनमा बोल्ने क्रममा ‘हजारौँ माइल टाढा’को युद्धसँग अमेरिकालाई ‘कुनै सरोकार नभएको ’ बताए । उनको संकेत खासमा युक्रेन युद्धप्रति नै थियो । आगामी नोभेम्बरमा अमेरिकाको संसद्को मध्यावधि चुनाव हुँदै छ (राष्ट्रपतिको कार्यकालको बिचमा हुने भएकाले मध्यावधि भनिन्छ । ) सो चुनावमा ट्रम्पको पार्टीले बहुमत गुमाउने सम्भावनाबिच उनको प्रशासनले बाँकी कार्यकालमा पुटिनलाई अनुकूल परिणाम सुरक्षित गर्ने गरी सघाउन कठिन हुनेछ ।
पछिल्लो समय रुसी सेनाले युद्धभूमिमा कुनै प्रगति हासिल गर्न सकिरहेको छैन । बरु उल्टो युक्रेनी सेनासँग जमिन गुमाउँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । जुन २०२६ सम्म रुसले युक्रेनको कुल भूभागको १९.४ प्रतिशत ओगटेको छ । यो वर्षको सुरुवात अर्थात् जनवरीको तुलनामा नगण्य बढोत्तरी हो । युक्रेनले यो सफलता ड्रोन प्रविधिको कुशल प्रयोगमार्फत हासिल गरेको हो । युक्रेन पछिल्लो समय ड्रोन उत्पादनमा उल्लेख्य वृद्धि गरेको छ, जुन हतियारले युद्धमोर्चालाई स्थिर बनाउन र रुसको जनशक्तीय लाभलाई बेअसर गर्न मद्दत गरेको छ ।
युक्रेनले पछिल्लो समय हासिल गरेको ड्रोन श्रेष्ठताले सो मुलुकलाई रुसको वायु प्रतिरक्षालाई प्रतिरोध गर्न मस्कोदेखि सेन्ट पिटर्सबर्गसम्म पुगेर प्रहार गर्न सक्षम बनाएको छ । विशेषगरी, युक्रेनी ड्रोनले रुसी ऊर्जा पूर्वाधारमा गरेका ठुल्ठुला हमलाले क्रेमलिनलाई बलियो सन्देश दिन सफल भएको छ । यो युद्धबाट अब रुसीहरू पनि टाढाको भूमिमा भएको युद्ध मानेर अप्रभावित रहिरहन सक्दैनन् । अब युद्धको भौतिक असर रुसमै पनि महसुस हुन थालेको छ ।
यी परिवर्तनबाट क्रेमलिन पनि तरंगित भएको छ । यो कुरा गत महिना मस्कोमा सम्पन्न ‘विजय दिवस परेड’मा पनि स्पष्ट थियो, जुन सामान्यभन्दा धेरै सानो थियो । अझ विगतमा जस्तो यसपटक परेडकमा भारी सैन्य उपकरण पनि देखाइएन । रुसी नेताहरू पक्कै पनि परेडमाथि पनि आक्रमण हुन सक्ने ठानेर डराएका हुन सक्छन् । विशेषगरी, संयुक्त राज्य अमेरिका र इजरायलको नेतृत्वमा इरानभित्रै शीर्ष नेतृत्व मारिएको परिप्रेक्ष्यमा त्यस्तै नेता लक्षित आक्रमण हुन सक्ने उसको चिन्ता हुन सक्छ ।
युक्रेनको बढ्दो ड्रोन क्षमतालाई निस्तेज बनाउने विभिन्न उपायमाथि विचार गरे पनि सफल हुन नसकेका कारण हतास पुटिनले मस्कोसहित रुसभरि मोबाइल इन्टरनेटको पहुँच अवरुद्ध गरेर जवाफ दिएका छन् । यसले आम रुसीमाझ युद्धको सहायक असर देखिन थालेको छ र यसले आमनिराशा बढाएको छ । तर, मोबाइल नेटवर्क अवरुद्ध गर्दा पनि युक्रेनी आक्रमण रोकिएको छैन । पछिल्लो समय युक्रेनले रुसी सेनाले क्रिमिया क्षेत्रमा गर्ने आपूर्ति शृंखलालाई पनि निसाना बनाउन थालेका छन् ।
उसो त आगामी केही साता र महिनामा रुसले युक्रेनकै बराबरी स्तरको ड्रोन क्षमता विकास गर्न वा आफ्नो वायु रक्षालाई बलियो बनाउन सक्ने सम्भावना छ, तर पनि समय अब पुटिनको पक्षमा देखिँदैन । विशेष युद्धको आर्थिक असर पनि देखिन थालेका छन् । निश्चित रूपमा, इरान युद्धले तेलको भाउ बढाएकाले तेलको प्रमुख उत्पादक रुसको वित्तीय अवस्थामा केही समयका लागि सुधार भयो । पुटिन सरकारका अनुसार खरिददारहरूले अप्रिलमा रुसी तेलका लागि औसतमा प्रतिब्यारेल ९५ डलर र मेमा ८६ डलर तिरेका थिए । यो रकम वर्षको पहिलो दुई महिनाको औसत ४३ अमेरिकी डलरभन्दा दोब्बर हो । तेलको मूल्यमा भएको वृद्धिपछि नै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अप्रिलमा रुसको यो वर्ष रुसको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिका लागि आफ्नो पूर्वानुमान ०.३ प्रतिशतले बढाएर १.१ प्रतिशतमा पुर्याएको छ । तथापि, इरान युद्धपछि देखिएको तेल मूल्यवृद्धिको असर केवल अस्थायी थियो । यसले रुसको ढुकुटीमा युद्धको ठुलो मात्रामा भएको पतनलाई क्षतिपूर्ति गर्न सक्ने सम्भावना छैन । पुटिन युद्धका लागि पहिले नै कर बढाउन बाध्य भएका छन्, जसले रुसको बिरामी अर्थतन्त्रमा दबाब बढाएको छ । यही कारण सन् २०२६ को पहिलो त्रैमासिकमा रुसको जिडिपी अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले घट्यो । रुसले मितव्ययिताका उपाय पनि अघि सारेको छ । तर, मस्कोको आर्थिक अवस्था थप बिग्रिने निश्चित छ । रुसको आफ्नै सरकारले यस वर्ष जिडिपी केवल ०.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यस्तो दाबीका बाबजुद अर्थतन्त्रको मनोबल बढ्ने सम्भावना छैन ।
यस पृष्ठभूमिमा द्वन्द्वलाई अहिलेकै अवस्थामा स्थिर गरेर वार्ताको टेबलमा फर्कनु पुटिनको सर्वोत्तम विकल्प हुनेछ । तर, उनले त्यस्तो कदम चाल्ने कुनै ग्यारेन्टी छैन । मुख्यतः उनी रुसी अर्थतन्त्रको वास्तविक चित्रबारे अनभिज्ञ हुन सक्छन् । स्वतन्त्र प्रेसले राम्ररी काम नगर्ने र सल्लाहकारले पनि सही समाचार नदिँदा पुटिन देशको निराश अवस्थाबारे राम्ररी जानकार नहुन सक्छन् । उनी अझै युक्रेन हारको संघारमा रहेकोमा जोड दिइरहेका छन्, जुन दाबी उनले युद्ध सुरु भएदेखि धेरैपटक दोहोर्याइसकेका छन् । सम्भवतः यस्तो भनेर उनी जनतालाई विश्वस्त पार्ने प्रयास गरिरहेका पनि हुन सक्छन्, तर उनी कम्तीमा आंशिक रूपमा आफ्नो यो दाबीप्रति विश्वस्त हुन सक्छन् ।
यसलाई विज्ञहरू ‘निरंकुशहरूको पासो’ भन्छन् । जब शक्ति एकजना व्यक्तिमा अत्यधिक केन्द्रीकृत हुन्छ, तब तल्लो तहले नेतृत्वलाई खराब समाचार सुनाउन चाहँदैन वा डराउँछ । यथार्थ मूल्यांकन नपाउँदा तानासाह वास्तविकताको सही चित्रण गर्न असफल हुन्छ । यसले अप्रत्याशित र प्रायः विनाशकारी निर्णय निम्त्याउँछ । अहिले रुस–युक्रेन युद्ध न निरन्तरता दिन सक्ने, न जित्न सक्ने अवस्थामा पुगेको छ ।
(‘लन्डन बिजनेस स्कुल’मा अर्थशास्त्रका डिन तथा प्राध्यापक सर्गेई गुरिएभ युरोपेली बैंकका पूर्वप्रमुख अर्थशास्त्री पनि हुन् )
प्रोजेक्ट सिन्डिकेटबाट