- आर्थिक लोकतन्त्रको विषयलाई अगाडि नबढाएसम्म रास्वपाले भनेजस्तो आर्थिक दृष्टिकोणबाट सामाजिक न्याय हासिल हुन सक्दैन
भर्खरै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले एउटा प्रस्ट राजनीतिक विचार सर्वसम्मत पारित गरेको छ । करिब दुईतिहाइ जनमत प्राप्त राजनीतिक दलले लिएको सामाजिक लोकतन्त्रको नयाँ वैचारिक लाइनले राजनीतिक वृत्तमा नयाँ बहस र आशा सिर्जना गरेको देखिन्छ । सभापति रवि लामिछानेद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले यसअघि नेपालमा लोकप्रिय मानिएको न परम्परागत वामपन्थी मार्गलाई अँगालेको छ, न त यो दक्षिणपन्थी धारकै नजिक छ । नेपालमा समृद्धिको बाटो पहिचान गर्दा ख्याल गरिनुपर्ने पक्ष नेपाली विशेषता र उपलब्ध प्राकृतिक स्रोत नै हो । सांस्कृतिक विविधतासहित भौगोलिक विशेषताभित्र अर्थतन्त्र, सामाजिक सम्बन्ध, उत्पादन, स्थानीय ज्ञान, सिप र प्रविधि पर्छन् । यो हाम्रो देसको सबैभन्दा सबल पक्ष हो । प्राकृतिक स्रोतको विविधताले हामीलाई ठुलो अवसर दिएको छ । यिनै सबल पक्ष हाम्रा उन्नतिका आधार हुन् ।
यही उन्नतिलाई लोकतान्त्रिक ढाँचाभित्र अगाडि बढाउनु अहिलेको हाम्रो मुख्य दायित्व हो । औपचारिक लोकतन्त्रलाई सामाजिक न्यायमा आधारित बनाई स्थानीय तहमा लोकतन्त्रको जराको फैलावट गर्ने मुख्य अभिभारा इतिहासले रास्वपालाई सुम्पेको छ । लोकतन्त्रलाई लामो समयसम्म सीमान्तकरणमा परेको समुदायको घरआँगनमा पुर्याउन स्थानीयस्तरमा प्रत्यक्ष लोकतन्त्रको दिशामा अगाडि बढ्नुपर्छ । प्रत्यक्ष लोकतन्त्रले मात्रै स्थानीय जनतालाई स्वनिर्णय गर्ने ठाउँमा पुर्याउँछ, जनताको सक्रियता र हस्तक्षेप बढाउँछ र नागरिकस्तरमा लोकतन्त्रको अनुभूति हुन सक्छ, नजिकको वन, पानी, जंगल, विद्यालय, स्वास्थ्य चौकीजस्ता विषयमा आफ्नो नेतृत्व र स्वामित्व स्थापित गर्छन् ।
आज हामी रोजगारीको ठुलो संकटमा छौँ । यो संकट लामो समयदेखि अर्थराजनीतिले जेलिएको मुद्दा हो । बसाइँसराइले यो मुद्दालाई थप बढाएको छ । हिमाल र पहाडमा भएको जैविक विविधता र प्राकृतिक स्रोत प्रयोगविहीन भएका छन् । यस्तोमा नेपालको जस्तो सामाजिक संरचना भएको देसमा उदारवादी अर्थतन्त्र भनिरहँदा हामी कसरी समृद्धिको बाटोमा हिँड्न सक्छौँ त ? उत्पादन र रोजगारी दिने सबै पक्ष उत्पादनमा भन्दा सेवा र व्यापारमा केन्द्रित भएको अवस्था छ । उत्पादन, स्थानीय अर्थतन्त्र र उद्यमशीलताविना न रोजगारी सिर्जना हुन सक्छ, न स्थानीय अर्थतन्त्र सबलीकरण नै । नेपालको संघीयताका धेरै आयाममध्ये अर्थतन्त्र एउटा आयाम हो । बसाइँसराइ रोक्न र प्राकृतिक स्रोतको उत्पादनमुखी प्रयोगका लागि स्थानीय सरकारले स्थानीय अर्थतन्त्र, साना उद्यमशीलतामार्फत रोजगारी सिर्जनामा काम गर्नुपर्ने हुन्छ । हाम्रा प्रदेशले प्रादेशिक अर्थतन्त्रका आधार पहिचान गरी प्रादेशिक अर्थतन्त्रको विकास, रोजगारीको सिर्जना र उत्पादन बिक्री गरी आत्मनिर्भरताको बाटो पहिचान गर्न सकेनन् । संघीयता अलमलमा पर्यो । संघीयतालाई सबलीकरण गर्न जरुरी छ । स्थानीय विशेषता र स्थानीय संस्कृतिमा आधारित उत्पादन र रोजगारीको बाटो पहिचान गरी जगैदेखि अर्थतन्त्रको विकास गर्नुपर्छ । आर्थिक लोकतन्त्रको विषयलाई अगाडि नबढाएसम्म रास्वपाले भनेजस्तो आर्थिक दृष्टिकोणबाट सामाजिक न्याय हासिल हुन सक्दैन । नेपाली मौलिकतामा आधारित सांस्कृतिक विविधता र भौगोलिक विशिष्टतामा आधारित उत्पादन प्रणाली, विविधतामा आधारित अर्थतन्त्र र उपलब्ध प्राकृतिक स्रोत हाम्रा समृद्धिका आधार हुन् । यिनैको समुचित प्रयोगमार्फत हामी सामाजिक लोकतन्त्रको यात्रा तयार गर्न सक्छौँ । अहिलेको सन्दर्भमा सबै पक्षमा सूचना तथा प्रविधिको प्रयोग गर्दै सिर्जनात्मक रूपमा यसको प्रयोग, विस्तार र अर्थतन्त्रको सबलीकरणमा यसको व्यवस्थित प्रयोगको बाटो लिनुपर्छ ।
स्थानीय उत्पादनशीलतालाई उद्यमशीलता र रोजगारी राज्य संरक्षणको प्रकृयामा अगाडि बढाइनुपर्छ । शिक्षालाई नेपाली धर्ती सुहाउँदो उत्पादनमुखी, हाम्रा भाषा, गौरव र विशेषता समेटिएको पाठ्यक्रमसँगै कमजोर वर्गका लागि गुणस्तरीय र सर्वसुलभ बनाउने दिशातर्फ अघि बढ्नुपर्छ । सांस्कृतिक र भौगोलिक विविधतालाई सम्बोधन गर्ने गरी लामो समयदेखि सीमान्तकरणमा परेका समुदायका हकमा यसलाई अधिकारका रूपमा स्थापित गर्नुपर्छ । स्वास्थ्य क्षेत्रलाई अझ विकेन्द्रित गरी स्वास्थ सेवालाई नागरिकस्तरसम्म विस्तार गरिनुपर्छ । नागरिकका शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारका विषयलाई राज्य वा पार्टीले खेलाची ठान्नुहुँदैन ।
पछिल्लो समय सुशासनलाई नीतिगत पारदर्शिता र खुलापनसँग जोडेर विश्वव्यापी बहस हुने गरेको छ । हामीले स्थानीय तहदेखि संघसम्म नीति–निर्माणका सवालमा खुलापन र रचनात्मक बहसलाई अगाडि नबढाइ हुँदैन । विडम्बनापूर्वक भन्नैपर्छ, नीति–निर्माण प्रक्रिया दक्षिण एसियाली देशमा थोरै व्यक्ति स्वार्थ समूहहरूको कब्जामा छ । यो जालोलाई तोडेर आमनागरिक नीति–निर्माणमा सहभागी हुने वातावरण बनाउने काम गर्नुपर्छ । रास्वपाको निलो क्रान्तिको मुख्य बाटो नीतिगत पारदर्शिताको हुनैपर्छ । जुन बाटोले सामान्य नागरिकको नीति–निर्माणमा पहुँच पुग्छ र सामाजिक न्याय प्रवर्द्धन गर्छ ।
हामी यतिवेला नेपाली राज्य व्यवस्थालाई सहभागितामूलक राज्य व्यवस्थामा रूपान्तरण गर्ने निलो क्रान्तिको अभियानमा छौँ । हामीले अवस्था बदल्ने भनेका थियौँ । राज्य व्यवस्थालाई रूपान्तरित गर्नुअघि हाम्रो पार्टी जीवन लोकतान्त्रिक, पारदर्शी, उत्तरदायी र सामाजिक न्यायको आन्तरिक परिस्थितिभित्र हुनुपर्छ । पार्टीको जीवन र पद्धति नै लोकतान्त्रिक हुनुपर्छ । यसको एउटा उदाहरणीय अभ्यास हामीले महाधिवेशनमा गरिसकेका छौँ । लामो समयदेखि राज्य व्यवस्थाको व्यवस्थित सीमान्तकरणमा परेका व्यक्ति र समुदायलाई हाम्रो पार्टीका सबै तहका संरचनामा ठाउँ हुनुपर्छ । यसका लागि सामाजिक न्यायमा आधारित समावेशिताको अभ्यासलाई दरोसँग थालनी गर्नुपर्छ । पार्टीका संरचनामा र जननिर्वाचित स्थानमा सीमान्तकृत समुदायको उपस्थितका लागि विशेष नीति जरुरी छ ।
नेपाली राजनीतिमा नेतृत्व र जनताबिचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । केही आशा नयाँ नेतृत्वमा देखिए पनि अझै एक ढंगको अविश्वास कायमै छ । राजनीतिको एउटा महत्वपूर्ण काम भनेको भरोसा र विश्वासयोग्य नेतृत्व स्थापित गर्नु पनि हो । अहिले रास्वपालाई नेपाली जनताले भरोसायोग्य नेतृत्व निर्माणको मौका दिएका छन् । दूरदर्शी र पारदर्शी नेपाली विविधतायुक्त समाजले स्वीकार गर्ने मुख्य नेतृत्व निर्माण गर्ने अभिभारा पनि रास्वपाको काँधमा आइपुगेको छ । यो अभिभाराबाट हामी चुक्यौँ भने नेपाली समाजलाई धोका हुनेछ । राष्ट्रिय हित र समृद्धिलाई अगाडि बढाउन भरोसायोग्य पार्टी बनाउनबाट हामी चुक्यौँ भने नेपाली समाज द्रुत गतिमा अगाडि बढ्न सक्दैन । सामूहिक संस्कृति, छलफल र बहसका माध्यमबाट ज्ञान निर्माणको पद्धति अँगालेर अगाडि बढ्ने नेतृत्व हामीलाई चाहिएको हो । यतिवेला हाम्रो आवश्यकता, हाम्रा विविध समुदायसँग प्रत्यक्ष संवादमा रहने, समुदायका दुःखसुखसँग एकाकार हुने ज्ञान निर्माणलाई नेफाली धर्ती विशेषता र समुदायको अन्तर्त्रियाको प्रक्रियामा जोडिने नेतृत्व चाहिएको हो । बनीबनाउ ज्ञानको वितरण गनु आवश्यक नभई ज्ञान निर्माणको प्रकृयामै जनतासँग एकाकार भई सिक्ने नेतृत्व चाहिएको हो ।
पार्टी र जनताको सम्बन्ध हार्दिकतापूर्ण हुनुपर्छ । अहिले हाम्रो राजनीतिक सन्दर्भमा पार्टी सर्वोच्चता कायम छ । जुनसुकै तहको पार्टी नेता भए पनि उसको उत्तरदायित्व र जवाफदेहिता जनतातिरै फर्किएको हुनुपर्छ । पार्टीको जग सामुदायिकस्तरबाट बुन्नुपर्छ । पार्टीको सामुदायिकीकरण हाम्रो देशका लागि ठुलो विषय हो । पार्टीका एजेन्डा सामुदायिकस्तरबाट बुनिँदै र हुर्किंदै आउनुपर्छ । सिंगो पार्टीलाई वैचारिक रूपमा अगाडि बढाउन देशैभर तल्लो तहदेखि क्षमता अभिवृद्धि अभियान अगाडि बढाउनुपर्छ । हाम्रो पार्टीले सामाजिक लोकतन्त्रको विचार लिएको छ । पार्टी भनेको विचारसहितको अभिव्यक्ति हो । विचारका हकमा तलदेखि माथिसम्म निरन्तर बहस, सहमति, असहमतिको जटिल प्रक्रियाबाट अगाडि बढ्नुपर्छ । ज्ञान र विचार निर्माण प्रक्रिया कुनै सरल रेखा होइन । विगतलाई हेर्ने हो भने बहसलाई स्वस्थ र रचनात्मक बनाउने चुनौती नेपालमा जटिल देखिएको छ । रास्वपासामु पनि यो चुनौती छ । हामीले फरक विचारलाई निषेध नगरी, गालीगलोज नगरी स्वस्थ रूपमा अगाडि बढाउन तलदेखि माथिसम्म बहसको संस्कृति निर्माण गर्नु छ । तल्ला कमिटीलाई माथिल्ला कमिटीको आज्ञा पालना गर्नेमा सीमित राख्नुहुँदैन । तल्ला कमिटीले आआफ्नो परिस्थिति, आफ्ना एजेन्डा आफ्ना समस्याको विश्लेषण गर्ने मौका पाउनुपर्छ । हरेक कमिटीका सार्वभौमिकतालाई स्वीकार गरिनुपर्छ । पार्टी सदस्यको जीवन पद्धति खुला हुनुपर्छ । अहिलेको राजनीतिमा पार्टी सदस्यको आर्थिक जीवन कसरी चलेको छ ? नागरिकका मनमा प्रश्न छन् । त्यो प्रश्नको उत्तर व्यवहारबाट दिनुपर्ने परिस्थितिमा रास्वपा उभिएको छ । किनभने, समाज नकारात्मक बोझले थिचिएको छ । यस अर्थमा पार्टी कार्यकर्ताहरू राष्ट्रिय संकटलाई पनि मध्यनजर राखी उत्पादन कार्यमा जोडिएको हुनुपर्नेछ ।
पार्टीका लागि आवश्यक अर्थ व्यस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न पनि जिउँदो छ । पार्टीले खर्च गर्नैपर्ने क्षेत्र पनि छन् । तर, खर्च कसरी जुटेको छ ? यसको व्यापक पारदर्शिता भने जरुरी छ । हाम्रो पार्टीमा व्यावहारिक रूपमा एक तहमा आर्थिक व्यवस्थापन भएकाहरूको सक्रियता बढी छ । यो आफैँमा सकारात्मक हो । तर, आर्थिक रूपमा सीमान्तकरणका पारिएका समुदायबाट कसरी नेतृत्व जन्मने र हुर्कने भन्ने मुख्य चुनौती छ । यो चुनौतीलाई समाधान गर्न कमजोर वर्गबाट नेतृत्वको विकास गर्न सामाजिक न्यायमा आधारित वर्गीकरण गरी आर्थिक व्यवस्थापन गर्न जरुरी छ ।
यतिवेला नेपाली समाज विचारको अन्योलमा छ भन्ने मान्यता स्थापित हुँदै छ । हाम्रो पार्टीले यो प्रश्नको सही उत्तर दिएको छ । हाम्रो सन्दर्भमा अहिले नेपाली समाजलाई अगाडि बढाउन हाम्रो वैचारिकी सामाजिक लोकतन्त्र भनेका छौँ । अब हामी यो विचारलाई कसरी अगाडि बढाउँछौँ भन्ने मूल प्रश्न हो । मूल रूपमा हाम्रा मान्यता राज्यको लोकतान्त्रीकरणमार्फत सुशासन, उत्पादनमुखी अर्थतन्त्रका माध्यमबाट रोजगारी र समृद्धिको बाटो अंगीकार गरी आत्मनिर्भरताको मार्गलाई फराकिलो बनाउनु हो । राजनीतिक रूपमा उपेक्षित समुदायमा यो राज्य मेरो हो भन्ने भावनाको विकास गर्नु हो । विकासको सन्तुलन सामाजिक न्यायको अवधारणालाई अगाडि बढाउन व्यापक बहस गरी निष्कर्ष निकाल्न जरुरी छ । जुन बहसबाट आएको विचारले आमनागरिकलाई हाम्रो पार्टीको वैचारिक धरातल बुझ्न कुनै कठिनाइ नहोस् । पार्टी सदस्यले विचारलाई समाजमा लैजाने बहस गर्ने वातावरण तयार होस् । पार्टी सदस्य नै विचारमा अलमलिए भने समाजमा यो विचार उम्रिन र हुर्किन पाउँदैन ।
निलो क्रान्ति विचारले सुसज्जित क्रान्ति हो भन्ने कुरा यो महाधिवेशनले स्थापित गरिसकेको छ । भक्तिगान गाउने भजन मण्डली होइन, आवश्यक पर्दा नेतृत्वलाई खबरदारी गर्ने आलोचनात्मक चेत भएका नेता र कार्यकर्ता भएको संगठन निर्माण गर्नु रास्वपाको अबको मुख्य चुनौती हो ।
मुलुकको भरोसा र विश्वासयोग्य नेतृत्व निर्माणमा यो महाधिवेशनले महत्वपूर्ण योगदान गरिसकेको छ । गत निर्वाचनमा जनताले रास्वपालाई गरेको विश्वास भरोसायोग्य नेतृत्वको खोजी पनि थियो । त्यसैले, जनतालाई अब म नेतृत्वविहीन छैन, रवि लामिछानेजस्तो कुशल, त्यागी र सुजबुझपूर्ण नेतृत्वमा सामाजिक लोकतन्त्रको विचार बोकेको टिम मेरो दुःखसुखमा साथै छ भन्ने अनुभूति ब्यावहारिक रूपमै गराउन चुनिएको नयाँ टिमले कत्तिको भूमिका खेल्न सक्छ, त्यसैले परिवर्तित नेपालको अवस्था परिवर्तन गर्छ कि गर्दैन भन्ने निर्धारण गर्नेछ ।
(न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको कृषि विभागका निवर्तमान प्रमुख हुन् ।)