शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।
काठमाडौं विश्वविद्यालय (केयू) को धुलिखेलस्थित ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
‘सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ। यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ,’ उनले भने।
नयाँ पुस्ताले परिकल्पना गरेको समुन्नत समाज निर्माणका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले युवालाई राष्ट्र निर्माणमा सक्रिय सहभागी बन्न आग्रह गरे। काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै उनले उनीहरूको ज्ञान, सिप र अनुभव देशको विकासमा उपयोग हुने विश्वास व्यक्त गरे।