आफ्नै भवनमा सर्‍यो ढकारी गाउँपालिका, प्रदेश मन्त्री रावलले गरे उद्घाटन

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

अछामको ढकारी गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ। नवनिर्मित भवनको उद्घाटनसँगै गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै भवनबाट काम थालेको हो।

बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर रावलले गाउँपालिका भवनको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै मन्त्री रावलले सुविधासम्पन्न भवनजस्तै सेवा पनि सुविधामुखी बनाउनुपर्नेमा जोड दिए। 

सभामा जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवरले अब सबै सेवा एउटै छानामुनि प्राप्त हुने हुँदा त्यसलाई थप प्रभावकारी बनाउने कार्यमा लाग्न जनप्रतिनिधि र कर्मचारीहरूलाई आग्रह गरे। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले अब अझै प्रभावकारी सेवा प्रवाह हुने विश्वास दिलाए। आफ्नो कार्यकालमा पालिकाको भवन मात्र नभएर धेरै कुराको विकास भएको उनले दाबी गरे।

तीनतले भवनमा एक हलसहित ३१ वटा कोठा छन्। भवनमा अध्यक्ष र उपाध्याक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुख र लेखासहित सबै विषयगत शाखाका फरक–फरक कार्यकक्ष छन्। गाउँपालिकाका इन्जिनियर गौतम विष्टका अनुसार नवनिर्मित भवनको भुइँतलामा दर्ता चलानीसहितका १२ कोठा र दुई शौचालय छन्। अपांगमैत्री भुइँतलामा उपाध्यक्षको कार्यकक्ष र सेवाग्राही बस्ने ठुलो बरन्डासहितको प्रतीक्षालय पनि छ। 

त्यस्तै, पहिलो तलामा अध्यक्षको कार्यकक्षसहित ११ कोठा र तीन शौचालय छन् भने दोस्रो तलामा बैठक हलसहित अन्य आठ कोठा र दुई शौचालय छन्। २४ चैत ०७८ सालमा पहिलोपटक निर्माण सम्झौता भएको भवन पटकपटक म्याद थप गरेर पाँच वर्षपछि सम्पन्न गरिएको हो।

रविना जुगल कौशिक जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको गाउँपालिका भवन स्थानीय पूर्वाधार विकास विभाग पुल्चोक र ढकारी गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा बनेको हो । भवनको कुल लागत सात करोड २८ लाख १४ हजार ६७० रुपैयाँ १८ रहेको प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले जानकारी दिए। 

सुझावित समाचार