गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरणअन्तर्गत सोमबार सिराहाको लहान नगरपालिका– ११, लक्ष्मीनिया र पिडरबोनी गाउँका ५० महिलालाई पोषण सामग्री वितरण गरिएको छ।
गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधार र गर्भमा रहेका शिशुलाई कुपोषण हुनबाट जोगाउन पोषणयुक्त खानेकुरा खानुपर्ने भए पनि विपन्न र गरिब परिवारका महिलाले दुई छाक पेटभर खानसमेत नपाइरहेका वेला नगरपालिकाले खाद्य सामग्री वितरण गरेको जनाएको छ।
नगर प्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष सूर्यनारायण चौधरीले सोमबार लक्ष्मीनियास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रपरिसरमा ५० जना गर्भवती तथा सुत्केरीलाई १० किलो चामल, एक-एक किलो दाल, चना, मटर, नुन र एक लिटरका दरले खानेतेल वितरण गरेका हुन्।
स्थानीय तहको दोस्रो निर्वाचनपछि नगर प्रमुख चौधरीले नगरको वार्षिक बजेट तथा कार्यक्रमार्फत हरेक महिनाको २२ गते वडाहरूमा ‘सुत्केरी तथा गर्भवती महिलाका लागि पोषण प्याकेज’अन्तर्गत स्थानीय वडा कार्यालय र स्वास्थ्य चौकीको रेकर्डको आधारमा खाद्य सामग्री वितरण गर्दै आएका छन्।
‘महिलाका लागि विशेष मानिने गर्भावस्थामा गर्भवती स्वयंको स्वास्थ्य र गर्भमा रहेका शिशुका लागि पोषणयुक्त खानेकुरा खानुपर्ने जानकारी भए पनि मजदुरी गरेर हातमुख जोड्ने परिवारका महिलाले पेटभरि खानसमेत पाउँदैनन्,’ खाद्य सामग्री बाँड्दै उनले भने, ‘नगरले दिएको खाद्य सामग्रीले केही दिन भए पनि भेटभर त खान पाउँछन्, त्यो अवधिमा थप खानेकुराको जोहो गर्ने समय पाउँछन्।’
सम्बन्धित वडाअन्तर्गत पर्ने स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्रका रेकर्डको आधारमा गरिब विपन्न परिवारका सुनौला हजार दिनअन्तर्गत पर्ने गर्भवती तथा सुत्केरीहरूलाई वडा र स्वास्थ्यको समन्वयमा हरेक महिना पोषण प्याकेजअन्तर्गत खाद्य सामग्री वितरण गर्दै आएको उनले बताए। नगर प्रमुख चौधरीले आफू निर्वाचित भएपछि नगरको वार्षिक बजेटमै व्यवस्था गरी हरेक महिनाको २२ गते गरिब विपन्न परिवारका गर्भवती तथा सुत्केरीलाई राहतस्वरूप खाद्य सामग्री वितरण गर्दै आएका छन्।
‘नगरपालिकाअन्तर्गत २४ वटा वडा क्षेत्रका कुनै पनि गरिब, विपन्न बस्तीका गरिब, असहायसहित गर्भवती सुत्केरीले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले खाद्य सामग्री वितरणलाई निरन्तरता दिइएको हो,’ उनले भने, ‘म निर्वाचित भएपछि २४ वटै वडा क्षेत्रमा हरेक महिनाको २२ गते वितरण गर्दै आएको खाद्य सामग्री अहिलेसम्म करिब पाँच हजार बढीलाई वितरण गरिएको छ।’