जिल्लास्तरीय विज्ञान प्रविधि प्रदर्शनीमा माउन्ट एभरेस्टका विद्यार्थी प्रथम

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

सिराहा जिल्लास्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा माउन्ट एभरेस्ट विद्यालयका विद्यार्थी प्रथम भएका छन्। मोहन माध्यमिक विद्यालय मिर्चैयाको आयोजना एवं मिर्चैया नगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रदर्शनीमा ३३ विद्यालयका विद्यार्थी सहभागी थिए। प्रदर्शनीमा माउन्ट एभरेस्ट स्कुलमा विद्यार्थीले तयार गरेको स्मार्ट ड्रिम म्युनिसिपालिटी परियोजना प्रथम भएको हो।

विद्यार्थीले स्थानीय तहको सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै स्मार्ट नगरपालिकाको अवधारणामा उक्त योजना तयार पारेको आयोजक मोहन माध्यमिक विद्यालयका प्राचार्य आशोक यादवले जानकारी दिए। विद्यार्थीले एआई क्रस बोर्डर आइडेन्टिफिकेसन सिस्टम, एआई बेस्ड सेग्रिगेसन सिस्टम, एआई ड्रेनेज सिस्टम, एआई वाटर फ्लो मोनिटरिङ सिस्टम, एआई वाटर इरिगेसन सिस्टम, अर्थक्वेक डिटेक्सन र टु–वे ट्राफिक लाइट विथ बेरियरलगायतका प्रविधि समावेश रहेको विद्यालयका समन्वयकर्ता शशिशेखर लाल कर्णले जानकारी दिए।

नवीन प्रविधिको प्रयोग, सिर्जनशीलता र व्यावहारिक समाधानलाई आधार मान्दै परियोजना उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ। 

प्रदर्शनीमा सहभागी जनता वनवाली मावि वर्छवाका विद्यार्थी दोस्रो र स्वस्तिक पाठशालाका विद्यार्थी तेस्रो भएका प्राचार्य यादवले बताए। यस्तै नवप्रर्वतनतर्फ आयोजक मोहन मावि र प्रस्तुतितर्फ सगरमाथा मावि मिर्चैयाका विद्यार्थीलाई पुरस्कृत गरिएको छ।

प्रथम स्थान हासिल गरेका विद्यार्थीलाई नगद ३१ हजार, दोस्रो स्थान हासिल गरेका विद्यार्थीलाई २५ हजार, तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ।

प्रदर्शनीको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

सुझावित समाचार