सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा एक दिन बिदा हुने भएको छ। अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिएको हो।
नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै असोज ९ गते नगर क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द रहने जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित निकायबाट प्राप्त मौसमसम्बन्धी प्रारम्भिक अनुमानका आधारमा अत्यधिक वर्षा हुने र त्यसबाट जोखिम बढ्न सक्ने सम्भावना देखिएकाले बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि असोज ९ गते शुक्रबार जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक विदाको निर्णय गरेको छ।