मकवानपुरगढीका ६ भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति गठनपछि मकवानपुरमा पहिलोपटक बुधबार कानुनी प्रक्रिया पूरा गरी भूमिहीन परिवारलाई पुर्जा वितरण गरिएको हो।

जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन र समितिका सदस्यसचिव एवं नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत महेश्वर कार्कीले पुर्जा हस्तान्तरण गरेका हुन्।

जग्गाधनी पुर्जा पाउनेमा रामबहादुर योञ्जन, उद्धवप्रसाद लम्साल, रुद्रप्रसाद सिम्खडा, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी र जयराम पुडासैनी रहेका छन्। पाँच परिवारलाई जनही तीन सय ४.७२ वर्गमिटर तथा एक परिवारलाई ३४० वर्गमिटर जग्गा उपलब्ध गराइएको छ। एउटा कित्तामा करिब दुई धुर जग्गा बढी भएपछि लाभग्राहीले गोलाप्रथाबाट आआफ्नो कित्ता छनोट गरेका थिए। वडा र गाउँपालिकाको सिफारिसअनुसार जग्गा बाँडफाँट गरिएको समितिले जनाएको छ।

समितिका सदस्यसचिव कार्कीले संख्या थोरै भए पनि यसले जिल्लामा भूमिहीनलाई पुर्जा वितरण गर्ने काम सुरु भएको सन्देश दिएको बताए। नयाँ व्यवस्थाबमोजिम जिल्ला समितिले गत जेठ ३० गतेदेखि काम प्रारम्भ गरेको उनले जानकारी दिए।

भूमिहीनलाई पुर्जा दिन निवेदन संकलन, वडास्तरीय सूचना, वडा सहजीकरण समितिको सिफारिस, गाउँ कार्यपालिकाको निर्णय, जिल्ला समितिबाट प्रमाणीकरण, जग्गा पहिचान, नापजाँच र दाबी–विरोधसम्बन्धी सूचना प्रकाशनलगायत प्रक्रिया पूरा गरेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार जिल्लामा २५ हजार ५८० अव्यवस्थित बसोबासी, चार हजार ९०१ भूमिहीन सुकुमवासी र ५२३ भूमिहीन दलितले फाराम भरेका छन्। कैलाशका गाउँपालिकाका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५९ लाभग्राहीलाई पनि पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले  जानकारी दिए।

सुझावित समाचार