जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा सम्पन्न वडास्तरीय रनिङ सिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम भएको छ। १७ स्वर्ण पदकसहित चन्दननाथ मावि पहिलो हुँदा कनिका निशा बोर्डिङ स्कुल ९ र जिएमडी स्कुल ६ स्वर्ण ल्याएर क्रमशः दोस्रो र तेस्रो भए।
त्यसैगरी, जेआर कर्णाली बोर्डिङ स्कुल चौथो, अशोक नमुना विद्यालय पाँचौँ र ब्राइट फ्युचर छैटौँ भएका कर्णाली स्पोर्ट क्लबले जनाएको छ। प्रतियोगिताको उपाधि जितेसँगै चन्दननाथ माविले ट्रफी, मेडलसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। दोस्रो र तेस्रो भएका टोलीले क्रमशः १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष नवराज देवकोटाले असोज १ गतेदेखि ६ गतेसम्म विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताए। प्रतियोगितामा वडा नम्बर ४ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए।
चन्दननाथ नगरपालिका–४ को आयोजना, सिद्धिविनायक बाल क्लबको सहआयोजना तथा कर्णाली खेल क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।