मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा ४१ लाख ८७ हजार

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाका बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकाेप उद्धारमा झन्डै ४२ लाख रुपैयाँ रकम जम्मा गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन गाउँपालिकाले ४१ लाख ८७ हजार २६३ रुपैयाँ दैवीप्रकाेप उद्धारमा पठाएको हो।

​गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय वन उपभोक्ता समितिसमेतको सहयोगमा सो रकम संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोषमा जम्मा गरिएको हो।

​जसमा गाउँपालिका विपत् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, शिक्षकहरूबाट १५ लाख ३२ हजार १२९ रुपैयाँ, कर्मचारीहरूबाट नाै लाख ४२ हजार ७०३ रुपैयाँ र जनप्रतिनिधिहरूबाट अध्यक्षको तीन महिनाको पारिश्रमिक र अन्यको एक महिनाको पारिश्रमिक गरी ६ लाख १३ हजार ३०५ रुपैयाँ जम्मा गरिएको थियो। त्यस्तै, मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट ५१ हजार रुपैयाँ र विद्यालय सहजकर्ता तथा कर्मचारीहरूबाट ४८ हजार १२६ रुपैयाँ जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय उपाध्यायले बताए।

​सरकारले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा राहतका लागि गरेको आह्वानअनुसार गाउँपालिकाले संस्थागत तथा व्यक्तिगत तवरबाट रकम जुटाएर कोषमा दाखिल गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए।

कालाखेतीका अनुसार गाउँपालिकामा भदौ १४ गते बसेको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपत् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

​बाढीपीडितको सहयोगार्थ गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तीन महिनाबराबरको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिहरूले एक महिनाबराबरको सेवा सुविधाबापतको रकमसमेत सोही कोषमा जम्मा गर्ने घोषणा सो बैठकमा भएको थियो।

सुझावित समाचार