नुनथलाबाहेक खोटाङका सबै वडामा कांग्रेसको नेतृत्व चयन

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत खोटाङका ७९ मध्ये ७८ वडमा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन तालिकाअनुसार असोज ३ गते पहिलो दिन ३४ वडामा अधिवेशन सम्पन्न गरेको खोटाङ कांग्रेसले असोज ४ र ५ गते ४४ वडामा अधिवेशन सम्पन्न गरेको हो।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १३, नुनथलाबाहेक सबै वडामा सर्वसम्मत् नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको कांग्रेस खोटाङका सचिव समीर राईले जानकारी दिए। ‘नुनथलामा क्रियाशील सदस्य अद्यावधिक गर्न छुटेको रहेछ। त्यो विषय नगर कार्यसमितिले टुंग्याएपछि पुनः मिति तय गरेर वडा अधिवेशन गर्छौँ,’ उनले भने, ‘अन्य वडामा तोकिएकै मितिमा वडा अधिवेशन सम्पन्न गरेका छौँ। सबै वडामा सर्वसम्मत् नेतृत्व चयन भएको छ।’

कांग्रेस खोटाङमा पनि संस्थापन (सभापति गगनकुमार थापा) र इतर (निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा) समूह गरी दुई धार देखिएको छ। कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री एवं प्रदेश सभा (ख)का सदस्य भूपेन्द्रकुमार राई देउवा समूह र जिल्ला सभापति विष्णकुमार राई गगन समूहमा देखिएका हुन्।

संस्थापन समूहले १५औँ महाधिवेशनका लागि धमाधम वडा अधिवेशन गरिरहँदा इतर समूह कार्यकर्ता छेक्न कसरत गर्दै फोन सम्पर्क गरिरहेका थिए। यद्यपि, नुनथलाबाहेक जिल्लाका दशवटै स्थानीय तहको सबै वडाका नेता तथा कार्यकर्ताहरू स्वस्फूर्त सहभागी भएर वडा अधिवेशन सम्पन्न भएको संस्थापन समूहले जनाएको छ।

कांग्रेस संस्थापन पक्षको केन्द्रीय निर्वाचन समितिले खोटाङको निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी अधिवक्ता मुक्तिनाथ आचार्यलाई तोकेको थियो। इतर समूहले जिल्ला प्रवक्ता रोजन राईलाई संयोजक तोकेको छ।

सुझावित समाचार