सुदूरपश्चिम सरकारले विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै चारजना युवा वैज्ञानिकलाई सम्मान गरेको छ। प्रदेश युवा परिषद्ले धनगढीमा आइतबार गरेको युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई कदरपत्रसहित सम्मान गरेका हुन्।
कैलालीको टीकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउद, कैलालीको धनगढीका इन्द्र ओझा र गोदावरीकी विन्दु पन्त रहेका छन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सूचना–प्रविधि क्षेत्रलाई युवासँग जोड्नुपर्ने धारणा राखे। समाजमा रुपान्तरण, सकारात्मक परिवर्तन र समाजलाई सही दिशातर्फ अघि बढ्न युवाको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायतका वक्ताहरूले पनि युवाको क्षमता अभिवृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।